७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजनीतिक दलहरु घोषणापत्रबिनै प्रचारमा

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार ०८:००

काठमाडौं । पार्टीले घोषणापत्र बनाउन ढिलाइ गरेपछि प्रमुख दलका उम्मेदवार घोषणापत्रबिनै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको प्रचारमा जुटेका छन् ।
१० मंसिरमा पहिलो चरणको निर्वाचन हुन लागेका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले प्रचारलाई तीव्र बनाएका छन् । उनीहरूले चुनावी घोषणपत्रविना नै निर्वाचनमा जनतासमक्ष मत माग्न पुगेका छन् ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी घोषणापत्रको तयारी गरिरहेका छन् । उनीहरूले गठबन्धन बनेपछि सबै राजनीतिक दलको सहमतिमा घोषणापत्र सार्वजनिक गर्ने बताउँदै आएका थिए ।
कांग्रेसले मंगलबार साँझ आफ्नो तर्फबाट घोषणापत्रलाई अन्तिम रूप दिए पनि उम्मेदवारसम्म पुग्न कम्तीमा पनि एक साता लाग्न सक्छ । लोकतान्त्रिक गठबन्धनको एउटै घोषणापत्र बनाउने बताउँदै आएका दलहरूले चुनावी गठबन्धन भए पनि आ–आफ्नो पार्टीका छुट्टाछुट्टै घोषणापत्र तयार पारेर जाने सहमति गरिएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिए ।
गत आइतबार मनोनयन दर्ता भएलगत्तै दलहरूले चुनावी घोषणापत्र निर्माणलाई तीव्रता दिएका हुन् । सत्तारूढ नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सभापति शेरबहादुर देउवासहित मस्यौदा निर्माण समिति र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यबीचको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो ।
६४ पृष्ठ लामो घोषणापत्र छपाइको काम बुधबारबाट नै हुने कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । नेता महेश आचार्य संयोजकत्वको मस्यौदा निर्माण समितिले विकास, स्थायित्व र समृद्धिको खाकासहितको प्रारम्भिक मस्यौदा छलफलका लागि बैठकमा प्रस्तुत गरेको थियो ।
घोषणापत्रमा कांग्रेसले ‘नेपाली कंग्रेसको सरकार, लोकतन्त्र राष्ट्रिय एकता र विकासको आधार’ भन्ने चुनावी नारा तय गरेको छ । यस्तै, वाम गठबन्धनबाट उम्मेदवार भएकाहरूले अझै एक साता घोषणापत्रबिना नै प्रचार गर्नुपर्ने भएको छ । एमाले नेता वामदेव गौतमको संयोजकत्वमा बनेको संयुक्त चुनावी घोषणापत्र तयारी समितिले मस्यौदा तयार पारिसकेको छ ।
माओवादी नेताहरूले त्यस घोषणापत्रमाथि छलफल गनुपर्ने भनेकाले केही ढिला भएको संयोजक गौतमले जानकारी दिए । उनका अनुसार तयार भएको मस्यौदालाई आइतबारसम्म अन्तिम रूप दिइनेछ । वाम गठबन्धनले संयुक्त घोषणापत्र तयार पार्नुपरेकाले केही ढिला हुन गएको गौतमको भनाइ छ ।
घोषणापत्र तयारी कमिटीले तयार परेको मस्यौदालाई शीर्ष नेतहरूले छलफल गरेर अन्तिम रूप दिएपछि घोषणापत्र सार्वजनिक गरिने छ । वाम गठबन्धनले आफ्नो घोषणापत्रलाई समृद्ध मुलुकको निर्माणका आधारहरूलाई प्राथमिकतामा राखेको नेता गौतमले जानकारी दिए ।