१३ बैशाख २०८१, बिहीबार
Follow Us

उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिँदै

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार ०८:०४

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ ।
उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो । उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।