१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेसबाट पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार ०८:२७

बागलुङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका दागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् । बाम गठबन्धन विरुद्ध काँग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । काँग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।

उहाँ २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो । यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं ३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं २ बाट सांसद बन्नुभएका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी मैदानमा हुनुहुन्छ ।

बाम गठबन्धनसँग तीव्र प्रतिस्पर्धा हुने देखेर काँग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताउनुभयो । जिल्लाको विकासमा तीनै पूर्व सांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने काँग्रेसको दाबी छ ।
पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइए पनि पार्टीभित्र असन्तुष्टी रहेको कतिपय नेता बताउछन् । असन्तुष्टिका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने काँग्रेस र बाम गठबन्धनका दलले निर्णय गरेका छन् ।

अघिल्ला चुनावमा एकल रुपमा चुनाव लड्दै आएका मुख्य बाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन् । बामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली काँग्रेस र बाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ ।

प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ ।

एमालले एक प्रतिनिधि सभा र एक प्रदेश सभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधि सभा र एक प्रदेश सभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेश सभामा उम्मेदवारी दिएको छ । बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेको छ । नेपाली काँग्रेस पनि चुनावी तयारीमा लागेको छ ।

२०७० सालकोे संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली काँग्रेस विजयी बनेको थियो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए ।