१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अब तरुण दलको नेतृत्व लिन्छु

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १४:२४

बिनु रायमाझी, कोषाध्यक्ष, तरुण दल चितवन
चार वर्षअघि चितवन जेलभित्रै तत्कालीन तरुण दल अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । उनै शिव पौडेलकी श्रीमती बिनु पौडेलले तरुण दल चितवनको नेतृत्व लिने तयारी गरिरहेकी छन् । अधिवेशनको मिति नतोकिए पनि पूर्वतयारीका लागि उनको सक्रियता सम्झनलायक छ । महाधिवेशनको तयारी र भावी योजनाबारे बिनुसँग कुमार राउतले गरेको कुराकानी :
० तरुण दललाई महाधिवेशनको चटारोले कत्तिको छोएको छ ?
– पार्टीको निर्देशनअनुसार समयसीमाभित्रै भ्रातृसंस्थाहरूले अधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसभित्र नेपाल तरुण दल पनि पर्छ । केन्द्रीय अधिवेशनभन्दा अगाडि जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्छ । हामी त्यही जिल्ला अधिवेशनको दौडधूपमा छौं ।
० तपाईको जिल्लामा कहिले अधिवेशन हुन्छ ?
– मिति तोकिएको छैन, क्रियाशील सदस्यता नवीकरणको काम सकिएपछि अध्यक्षले छिट्टै मिति तोक्नु हुन्छ भन्ने मलाई विश्वास छ ।
० कुन पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?
– अध्यक्ष पदको प्रत्यासी हुँ, कोषाध्यक्ष पदमा बसेर सफलतापूर्वक काम गरें भन्ने मेरो दाबी छ ।
० कोषाध्यक्षबाट एकैपटक अध्यक्ष ?
– मेरा श्रीमान् तत्कालीन तरुण दल अध्यक्ष शिव पौडेलको षड्यन्त्रपूर्वक हत्या भएपछि गठन गरिएको कमिटी हो यो । त्यसबेलै मलाई दलको नेतृत्व दिने तयारी भएको थियो । राजनीतिमा खासै अनुभव हासिल नगरेकाले म आफैंले उक्त पद लिएकी थिइनँ । अब म नेतृत्व लिन सक्षम भइसकेकी छु ।
० अध्यक्षको प्रत्यासी काठमाडौंमै डुलिरहनुभएको छ नि ?
– नेताहरूको आशीर्वाद लिन आएकी हुँ । सभापति शेरबहादुर देउवा, तरुण दल पूर्वअध्यक्ष बालकृष्ण खाँण, वर्तमान अध्यक्ष उदयशमशेर राणालगायतका नेताहरूसँग भेट गरिसकेकी छु । उहाँहरूबाट अध्यक्षको तयारी गर्दै गर्नुहोस् भन्ने आश्वासन पनि पाएकी छु । अब जिल्ला गएर युद्धस्तरमा तयार गर्नुछ ।
० तपाईंलाई किन अध्यक्ष बनाउनुपर्ने कारण के हो ?
– नेपाली कांगे्रसको सशक्त भ्रातृसंस्था हो तरुण दल । पार्टीलाई ऊर्जाशील बनाउन भ्रातृसंस्थालाई चलायमान बनाउन आवश्यक छ । अहिले तरुण दल चितवन त्यति सक्रिय भएको पाइँदैन । यसलाई सशक्त र चलायमान बनाएर पार्टीलाई सहयोग गर्न मेरो नेतृत्व आवश्यक रहेको जिल्लाका नेताहरूले महसुस गरेका छन् ।
० को छ प्रतिस्पर्धी ?
– अधिवेशनको मिति नतोकिएकाले अर्को प्रतिस्पर्धी खुलेका छैनन् । सर्वसम्मत भए राम्रो, नभए प्रजातान्त्रिक ढंगले नेतृत्व छनोट गर्नुपर्छ ।
० चितवन तरुण दल भ्रष्टीकरणतर्फ ढल्केको आरोप छ नि ?
– जुझारु र युवाहरूको संगठन हो तरुण दल । चार वर्षअघि शिव पौडेलको हत्या भयो । उहाँको हत्यापछि संगठन भ्रष्टीकरण होइन, चलायामान चाहिँ नभएको पक्कै हो ।
० चितवनमा झैझगडा बढी भएको समाचार आउँछन् नि ?
– मेची महाकालीको सेन्टर हो चितवन । विविधता छ, कहिलेकाहीँ झैझगडाको समाचार आउनु सामान्य हो । चितवनमा मात्र होइन, अन्य जिल्लामा पनि त्यस्ता सामान्य घटना भइरहन्छन् ।
० तपाईंको जित्ने आधार ?
– तरुण दलको संगठन नै मेरो जित्ने आधार हो । त्यसमाथि पनि म सहिद पत्नी हुँ । यो संगठन निर्माणमा मेरो पनि रगत पसिना बगेको छ । सुरुका दिनमा मेरा श्रीमान्ले यही संगठनमा योगदान दिनुभएको थियो ।
० पार्टीभित्रको गुट उपगुट कस्तो छ ?
– प्रजातान्त्रिक संगठनमा गुट उपगुटको प्रभाव नपर्ने कुरै हुँदैन । तर तरुण दलमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिँदा त्यो प्रभाव देखिँदैन भन्ने मलाई विश्वास छ । किनभने म सहिद पत्नी भएकाले सबै अग्रजहरू एक कार्यकाल मलाई नै नेतृत्व दिने कुरामा सकारात्मक हुनुहुन्छ ।
० तपाई कुन पक्षको ?
– म नेपाली कांगे्रसको इमान्दार कार्यकर्ता हुँ । मलाई पक्ष विपक्षबारे केही थाहा छैन । व्यक्ति होइन, नेपाली कांगे्रस जहाँ छ, म त्यहीँ हुन्छु ।
० नेताको फेरो नसमाते अघि बढ्न सकिँदैन भनिन्छ नि ?
– त्यस्तो नहोला, किनभने अग्रज नेताहरूले पार्टीको हितमा काम गर्ने व्यक्तिलाई नै जिम्मेवारी दिनुहुन्छ होला भन्ने मलाई लाग्छ ।
० कति भो राजनीतिमा संलग्न हुनुभएको ?
– श्रीमान्को हत्यापछि उहाँले छोड्नुभएको अधुरा काम पूरा गर्न म राजनीतिमा खुलेर लागेकी हुँ । श्रीमान् राजनीतिमा हुँदा मैले घर सम्हालेकी थिएँ, उहाँलाई सहयोग गरेकी थिएँ । दुवैजना राजनीतिमा संलग्न भएर घर चल्दैन थियो ।
० राजनीति गर्न सक्छु भनेर आँट आयो ?
– मैले आफूलाई कहिल्यै पनि महिला भएर हेरिनँ । म पनि एउटा समाजको हिस्सा हुँ, अरुले गर्न सक्ने काम म पनि गर्न सक्छु भनेर आँट गरें । सुरुका दिनमा केही अप्ठ्यारो भयो, तर अहिले त्यस्तो केही छैन ।
० कस्ता अप्ठ्यारा आइलाग्दो रहेछ ?
– हाम्रो समाजमा नकारात्मक कुरो गर्नेको कमी छैन, त्यस्तैको पछि लागेर हिँड्न थालियो भने परिवर्तन सम्भव छैन । त्यसैले झिनामसिना कुरालाई बेवास्ता गरेर अघि बढेकी छु ।
० एकल महिलालाई के भन्दो रहेछ समाजले ?
– अहिलेसम्म अगाडि आएर कसैले केही भनेको छैन, भन्दा होलान् बाहिर । भन्नेको मुख टाल्न सकिँदैन । बसउठ पुरुष साथीभाइसँगै हुन्छ, भाइहरू लिएर हिँड्छु । अरुले के भन्छन्, त्यो मेरो सरोकारको विषय होइन, समाज परिवर्तनको अभियानमा लागेको मान्छेलाई झिनामसिना कुराले खासै फरक पार्दैन ।