१२ बैशाख २०८१, बुधबार
Follow Us

एमाले र माओवादीका तीन दर्जन नेता कांग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार १४:३३

ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरी करिव तीन दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन। बुधबार अर्थराज्य मन्त्री उदयशम्शेर राणाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। मन्त्री निवास कुपण्डोलमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता कार्यकर्तालाई अर्थराज्य मन्त्री एवम् कांग्रेसका युवा नेता राणाले टीका लगाएर पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश गर्नेमा सुवास लोप्चन, बुद्ध लोप्चन, रोशन स्याङताङ, विरमान लोप्चन लगायत करिव तीन दर्जन स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले ललितपुरले जनाएको छ। उनीहरु बस रिजर्भ गरेर कांग्रेस प्रवेश गर्न मन्त्री निवास पुगेका थिए।
यस्तै कात्तिक १ गते बागमति गाउँपालिका वडा नं ६ आश्राममा आयोजित कार्यक्रममा पनि एमाले, माओवादी र नयाँ शक्ति छाडेर दुर्इ दर्जन भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए। नयाँ शक्तिका जिल्ला सदसय राजु गौतम, नेकपा एमालेका राजु रुम्बा, प्रकाश रुम्बा, एमाले निकट अखिल क्रान्तिकारीका जिल्ला सदस्य नगरमान लामा पनि कांग्रेस प्रवेश गरेका थिए। उनीहरुलाई पनि अर्थराज्य मन्त्री राणाले पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्ने सबै जना ललितपुर क्षेत्र नं. १ का स्थानीय हुन्। उक्त क्षेत्र अर्थराज्य मन्त्री राणाको चुनावी क्षेत्र पनि हो।
कांग्रेस प्रवेश गर्ने नेताहरुले क्षेत्र नं १ मा अर्थराज्य मन्त्री राणाको पहलमा विकासमा भएकोले उनको विकल्प सोच्न नसकिने बताए। उनीहरुले एमाले र माओवादीले सधैं जनतालाई आश्वासन मात्र दिने गरेको तर कांग्रेसले नबोलेर विकासका धेरै कामहरु गरेकाले आफूहरुले कांग्रेस रोजेको बताए।
अर्थराज्य मन्त्री राणाले आफू विकासका लागि प्रतिवद्ध भएर लागेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित हुने बताएका थिए। उनले भने, “म राजनीतिमा लागेको पैसा कमाउन होइन, राजनीतिबाट देश र जनताको सेवा गर्न हो र म त्यसमा सधैं इमान्दार भएर लागेको छु।” उनले आगामी निर्वाचनमा पनि जनताले आफूलाई मतदान गरेर जिताउने विश्वास व्यक्त गरे।