११ बैशाख २०८१, मंगलवार
Follow Us

कपिलवस्तुमा निर्माण गरिने बृद्धाश्रम शिलान्यास

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार २०:१२

लन्डन– बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोग तथा बुद्ध फ़ाउन्डेशन नेपाल को संयुक्त आयोजनामा भगवान बुद्धको जन्मस्थल कपिलवस्तुमा निर्माण गरिने बृद्धाश्रम शिलान्यास गरिएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा आयोजित एक कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बृद्धाश्रम भवन शिलान्यास गरे । धार्मिक विधिअनुसार पूजापाठसहित भवन शिलान्यास गरिएको बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मेयर थारुले बृद्धाश्रमका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा बुद्धभूमि बाटिका नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, नमस्ते टेलिभिजनका अध्यक्ष विष्णुबाबु थापा, बाणगंगा माविका निवर्तमान प्रधानाध्यापक नन्दकिशोर शुक्ललगायतको उपस्थिति थियो ।

फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठका अनुसार एक करोड रुपैयाँ भन्दा बढीको लगानीमा बन्न लागेको उक्त बृद्धाश्रममा १४ वटा बेड रहनेछन् । उक्त वृद्धाश्रम निर्माणका लागि बेलायतस्थित कयौं समाजसेवीहरुले आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मेयर थारुले बुद्ध फाउण्डेसन यूके, कपिलवस्तु समाज यूके, एनआरएनए यूके तथा धार्मिक बनलाई सम्मानपत्र वितरण गरे । सोही अवसरमा दुर्गेश्वरी फाउण्डेसनका तर्फबाट बृद्धाश्रमका लागि ५ लाख रुपैयाँको चेक फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।

बुद्ध फाउण्डेसन नेपालका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठको संयोजन एबं बुद्ध फाउण्डेसन नेपालका अध्यक्ष रविराज शर्मा ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ, कपिलवस्तु समाज यूकेका अध्यक्ष महेन्द्रविक्रम कुंवर, बेलायतबाट पत्रकार फडिन्द्र भट्टराई, हरि आचार्य, विष्णु खरेल लगायत सहभागी थिए ।

कार्यक्रममा स्थानीय प्रशासनका अधिकारीहरु, प्रहरी अधिकृतहरु, व्यवसायी, बुद्धिजिवी, समाजसेवी लगायतको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।