१४ बैशाख २०८१, शुक्रबार
Follow Us

छठ पर्वमा जातीय विभेद !

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७४, बिहीबार १३:५२

रौतहट । परापूर्वकालदेखि तराई मधेशमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाँै र पोखरामा मात्र नभई कतिपय ठाउँका मुस्लिम समुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् । तर तराई मेधशमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ । सरकारबाट छुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ ।

कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुरपुरटोल, टोलापुरका करिब पाँचसय परिवारका व्रतालु लालबकैया नदी छेउमा दशकौंदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुुसार लगानी सानो ठूुलो भए पनि पर्व भन्ने सबैले एउटै ढंगबाट मनाउँदै आएका छन् ।

वर्षैभर अथवा सधैं एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुटाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ । पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुट्टाछुट्टै मण्डप रहेको छ भने अल्पसंख्यक, पिछडा वर्ग र बहुुसंख्यकको छुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।

त्यसैगरी, बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुको एउटै मण्डप रहेको छ । संयुक्त मण्डपमा बजारका व्रतालु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसंख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।

कटहरिया–४ चमारटोलका भुटा महरा चमारका छोरा रामाशंकर आफ्ना जातिका व्रतालुहरू धेरै समयअघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।

दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुवाछूत हुने भएको कारण आफूहरू थोरै संख्यामा भए पनि छुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।

कटहरियामा तीन कार्यकाल गाविस अध्यक्ष रहिसकेका पूर्व गाविस अध्यक्ष जादोलाल महतोले छठपर्वमा जातीय विभेद प्रजातन्त्रपछि आएको बताउनुुहुुन्छ ।

उहाँका अनुसार पञ्चायतकालमा कटहरियाका सबै जातजातिका व्रतालु एकै मण्डपमा छठपर्व मनाउँथे तर, प्रजातन्त्रपछि छुवाछूतको कुरा चलेकाले सबै अलग अगल मण्डप बनाएर पूजा गर्ने चलन सुुरु भएको हो । लालबकैया नदी किनारमा अलग अलग जातिले १० वटा मण्डप बनाएर पर्व मनाइरहेका छन् ।

आठ-दश फिटको दूरीमा दलित सरभंग, चमार, धनखार, धोबी, तत्मा, डोम, कुम्हार जस्ता जातिले अलग अलग मण्डप बनाएका छन् भने कोइरी, नुनिया, सोनार, कलवार, तेली, यादव, बाहुुन, बनियालगायतका जातजाति एउटै मण्डपमा बसेर पूजा गरिरहेका छन् ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।

पूर्व शहरी विकासमन्त्री प्रभु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ । कटहरिया नगरपालिकामा मात्र यस्तो जातीय विभेद कायम रहेको नभै मधेशको रौतहट, बारा, पर्सालगायत प्रायः सबै जिल्लाका ग्रामीण भेगमा यो समस्या रहेको छ ।
– सञ्जय मिश्रा