११ बैशाख २०८१, मंगलवार
Follow Us

मतदाता रोक्नै मुस्किल

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०४:१८

कार्तिक १०, २०७४-जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन् । अन्य जिल्ला र भारतसम्मै पुग्छन् । घरहरूमा ताला मारिन्छ, एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरू अन्यत्र जान्छन् । चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासी बाहिर जान रोकिएका छन् । बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार–जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन् ।

सबै दलले आफ्ना निकटका कार्यकर्ता र मतदातालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्ने उँधौली परम्परामा केही फेरबदल भएको छ । जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ । तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्ला बाहिर जान एक महिना ढिलो हुने भएको छ ।

सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीं नजान उर्दी गरेको स्थानीयले बताए । उम्मेदवार र दलहरूको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन् । गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले गत महिनादेखि नै चुनाव प्रचार थालेका थिए ।

जाडो छल्न मुस्ताङ बाहिर जाने र यही बेलामा सानोतिनो व्यापार गर्नेहरू अहिले चुनावमा भोट माग्न र आफ्ना उम्मेदवारलाई जिताउन प्रचारमा जुटेका छन् ।

उपल्लो मुस्ताङ छोन्हुप गाउँका टासी हाल्मो गुरुङ बहिनी पेमालाई लिएर कात्तिकमा भारतको बनारस पुग्थे । जाडो छल्ने र फागुनसम्म अस्थायी व्यापार गरेर ४/५ लाख कमाइ गरेर फर्कन्थे । अहिले उनी गाउँमै छन् । उनी कुनै पार्टीका कार्यकर्ता होइनन् । जुन उम्मेदवार मनपर्छ त्यसैलाई भोट दिने सोच रहेको बताए ।

‘गाउँभरिको कोही पनि बाहिर गएको छैन, म मात्र किन जाने ? भोट दिएपछि जाने विचार गरेको छु,’ उनले भने, ‘एक महिना ढिलो हुने हो, सधैं फागुनमा गाउँ फर्कन्थ्यौं । यो पाला चैततिर फर्कनुपर्ला ।’ भोट कसलाई दिने थाहा छैन तर, गाउँमा सल्लाह गरेर जुन उम्मेदवारले राम्रो काम गर्छ त्यसैलाई दिने योजना उनले सुनाए । ‘असोजमै व्यापार गर्ने लत्ताकपडा र केही खानेकुराका सामान किनिसकेको छु । बहिनी र म गएर बेच्ने हो,’ उनले भने, ‘उतै बनारसमै सामान किनेर त्यहीं बेचेर आउने गर्छौं ।’ फोनबाटै सामान अर्डर गरेर किनेको र अब चुनावपछि गएर बिक्री गर्ने उनले बताए ।

तालमेल गरेका र उम्मेदवार भएका दलहरूका नेताहरूले हरेक गाउँका अगुवालाई फोन गरेर भोट नदिई कसैलाई पनि बाहिर जान नदिनु भनिसकेका छन् । गाउँका अगुवा वा मुखियाले भनेको सबैले मान्ने यहाँको पुरानो चलन हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक र राप्रपाका जिल्ला नेताले आफ्ना मातहतका गाउँले अगुवालाई चुनाव प्रचारमा जुट्न र जिल्ला छाडेर नजान आग्रह गरेपछि अहिले मुस्ताङलाई चुनावले छोपेको छ ।

सदरमुकाम जोमसोममा प्रचार गर्न नेताहरू दैनिक बैठक गर्दै आएका छन् । कांग्रेसले प्रचारप्रसार समिति बनाएर गाउँगाउँमा कार्यकर्ता परिचालन गरेको छ । ‘हामीले हाम्रो प्रचारलाई तीव्रताका साथ अघि बढाएका छौं,’ कांग्रेसका पूर्वजिल्ला सभापति सुवर्णकुमार विष्टले भने, ‘जाडो छल्न जानेहरूलाई एक महिना धैर्य गर्न आग्रह गरेका छौं ।’

समर्थकदेखि कार्यकर्ताहरू प्रचारमा जुटिसकेको उनले बताए । कांग्रेसले प्रतिनिधिसभाका लागि रोमी गौचन थकाली र प्रदेशसभाका लागि मिक्यु गुरुङ र छिरिङधारा गुरुङलाई मैदानमा उतारेको छ ।

एमालेले पनि आफ्नो प्रचारलाई तीव्रता दिन थालेको छ । प्रचार कमिटी र उम्मेदवार सहयोगी टिम बनाएर घरदैलोमा जुटेका छन् । चुनाव प्रचारलाई कुन रूपमा अघि बढाउनेबारेमा जिल्ला कमिटीमा छलफल चलेको अध्यक्ष चन्द्रमोहन गौचनले बताए । ‘प्रचार त महिना दिन अघिबाटै गरिसकेका छौं,’ उनले भने, ‘अझै प्रभावकारी प्रचारमा जोड दिने योजनामा छौं ।’ एमालेले प्रतिनिधिसभाका लागि प्रेमप्रसाद तुलाचन र प्रदेशसभाका लागि महेन्द्र थकाली र इन्द्रधारा विष्टलाइ उठाएको छ ।

मंसिर १० सम्म अत्यधिक जाडो भएमा उपल्लो मुस्ताङका बासिन्दालाई जोमसोममै राख्ने तयारी आ–आफ्नो ढंगले गर्ने बारेमा पार्टीहरूबीच छलफल चलेको छ । बरु जोमसोम, मार्फा वा तल्लो गाउँहरूमा राख्ने प्रबन्ध गर्ने तर, जिल्ला बाहिर जानबाट चुनावसम्म रोक्नुपर्ने पार्टी नेताहरूको सल्लाह छ । थोरै मतदाता, त्यही पनि केही बाहिर जानेबित्तिकै भोट निकै कम खस्ने भएकाले दलहरूले सबैलाई सचेत गराइरहेका हुन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । वैशाख ३१ को स्थानीय तह चुनावमा ८ हजार ४ सय ६१ जना मतदाता थिए । थप मतदाता नामावली संकलन कार्य अघि बढाएपछि ९ सय ६६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले बताए ।

कान्तिपुरबाट