८ बैशाख २०८१, शनिबार
Follow Us

संस्कृतिबारे जानकारी लिई विदेशी टोली फर्कियो

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०६:५४

कञ्चनपुर । भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् । टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् ।

विल्डवन नेपालको सहयोगमा बन्न लागेको तीनकोठे विद्यालय भवन निर्माणमा श्रमदान गर्न पुग्नुभएका दुबई केयरका सिइओ अब्दुल्लाहले नेपाली संस्कृतिमा समृद्ध हुनुका साथै नेपाली नागरिक मेहनतीसमेत रहेको बताउनुभयो ।

यहाँको सीप र ज्ञानबारे जानकारी लियौँ, उहाँले भन्नुभयो, “हामीले सिकेको सीप सिकाउन पाउँदा खुशी लागेको छ ।” श्रमदान गर्न आएको विदेशी टोलीका सदस्यलाई स्थानीय बासिन्दाले थारु समुदायको परम्परागत पहिरनमा छोक्रा, सखिया र पहाडी समुदायको देउडा नाच देखाएका थिए ।

विदेशी टोलीका सदस्यले समेत स्थानीय पहिरन लगाएर नाचमा साथ दिएका थिए । संस्कृतिमा समृद्ध नेपालले पर्यटकको मन लोभ्याउनसक्ने भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने टोलीका सहभागी मोना मक्सुदले बताउनुभयो ।

“प्राकृतिक सम्पदामा सम्पन्न देश भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ”– उहाँले भन्नुभयो । शुक्लाफाँटा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले विदेशी पाहुना टोलीले घरकै वातावरणमा अथक परिश्रम गरी विद्यालय निर्माणको कार्य गरेकामा प्रशंसा गर्नुभयो ।

“विदेशी टोलीको कार्यबाट पाठ सिक्दै नेपालीले पनि श्रम गरेर सार्वजनिक भौतिक निर्माणका कार्यमा योगदान दिन सक्नुपर्छ”– उहाँले भन्नुभयो । बिदाइ कार्यक्रममा विद्यालयका बालबालिकाका लागि विदेशी पाहुना टोलीका सदस्यले विभिन्न प्रकारका शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरे ।

चार दिनको अवधिमा विदेशी टोलीका सदस्यले भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गारो लगाउने, फलामका डन्डी काट्ने, बाँध्ने लगायतका कार्य गरेका थिए ।

टोलीमा विभिन्न देशका २२ जना विदेशी महिला पुरुषको सहभागिता रहेको थियो । भूकम्पप्रतिरोधी विद्यालय भवन रु २५ लाखको लागतमा निर्माण गरिनेछ । विद्यालय भवनमा तीन कोठा र दुईवटा शौचालय निर्माण गरिनेछन् । विद्यालय निर्माणको कार्य १०६ दिनमा सकिनेछ ।