८ बैशाख २०८१, शनिबार
Follow Us

आरजु देउवा कैलाली–५ बाट चुनाव लड्ने

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार १४:४४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा कैलाली–५ बाट चुनाव लड्ने हुनुभएको छ । उनी बर्दियाबाट उठ्ने चर्चा चले पनि अन्नतः उनले कैलाली–५ लाई रोजेकी छन् ।
संविधानसभाको निर्वाचन २०७० मा उक्त क्षेत्रमा नेपाली कांगे्रसका दीर्घसिंह भाटले १६ हजार ३ सय ४६ मत ल्याएर विजयी भएका थिए । उक्त क्षेत्रमा माओवादीका सुदूरपश्चिमेली नेता लेखराज भट्टले ९ हजार ३ सय ३४ मत ल्याएका थिए । त्यस्तै एमालेका पदमसिंह सिघालले पनि ९ हजार १ सय ३९ मत ल्याएर तेस्रो भएका थिए ।
अहिले यो क्षेत्रमा धनगढी उपमहानगरपालिका र कलौरी गाउँपालिका पर्छ । स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वड विजयी भएका थिए । कांगे्रसको बागी उम्मेदवार हुँदाहुँदै पनि वडले १४ हजार ३ सय ३४ मत ल्याएर विजयी भएका हुन् । माओवादीका रामसमझ रानाले ८ हजार ७ सय ४९ मत ल्याएर दोस्रो भएका थिए भने नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ७ हजार १ सय ७४ मत ल्याएर तेस्रो भए ।
यस्तै कलौरी गाउँपालिकामा लाजुराज चौधरी विजयी भए । उनले ६ हजार २ सय ४ मत ल्याएका थिए । कांगे्रसका राजसमझ चौधरी ५८७८ मत ल्याएर दोस्रो भए, उक्त गाउँपालिकामा एमाले तेस्रो भयो । थारु समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा कांगे्रसको तर्फबाट आरजुले चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने जानकारहरु बताउँछन् ।