८ बैशाख २०८१, शनिबार
Follow Us

बाम गठबन्धनले बाँडफाँड टुंग्यायो, भोलि सार्वजनिक गरिने

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार १५:१९

काठमाडौं । दोस्रो चरणमा मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा आ–आफ्ना उम्मेदवार चयन गर्न राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेकोले दलहरुलाई उम्मेदवार छान्न चटारो परेको हो ।
एमाले र माओवादी गठबन्धनको कार्यदलले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका उम्मेदवार टुंगो लगाइसकेको छ । कार्यदलले सिट बाँडफाँड सम्बन्धी सहमति आ–आफ्नो पार्टी नेतृत्वलाई दिएको छ । कार्यदलका संयोजक एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कार्यदलले क्षेत्र निर्धारण गरेर दुबै दलका अध्यक्षहरुलाई प्रतिबेदन बुझाईसकेको जानकारी दिनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले र नेकपा माओबादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बसेर कार्यदलको प्रतिबेदन अनुमोदन गरेपछि भोलिसम्ममा बाम गठबन्धनका उम्मेदवारहरुको टुंगो लाग्ने जानकारी दिनुभयो ।
स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले जानकारी लिए ।