१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनमा आइतवार मनाइँदै छठ पर्व

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार २२:२२

लन्डन– तराईमा मनाइने छठ पर्व प्रवासमा रहेका नेपालीले पनि मनाउन थालेका छन् । बेलायतमा एसोसिएसन अफ नेप्लिज मधेसी इन यूके र यूरोपियन मधेसी सोसाइटीले संयुक्तरुपमा छठ पर्व आयोजना गरिएको भाग्यनारायण रायले जानकारी दिए । आगामी २९ अक्टोबर आइतबारका दिन फेल्थम कम्युनिटी कलेजमा छठ विशेष कार्यक्रम आयोजना गरिएको छ । दिउँसो २ देखि ६ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन आयोजकले विशेष अपिल गरेको छ । बेलायतको बिदा मिलाउनुपर्ने भएकाले कार्यक्रम केही दिन ढिला भएको बताइएको छ ।

छठ पर्व नेपाल र भारतमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई मधेस क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गर्ने कार्यक्रम छ ।विगत तीन वर्षदेखि बेलायतमा छठ पर्वमा कार्यक्रम हुँदै आएको छ ।कार्यक्रममा तराई मधेसको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि हुने रायले बताए ।

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।