१३ बैशाख २०८१, बिहीबार
Follow Us

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७४, शनिबार ०६:५३

धादिङ । पृथ्वी राजमार्गअन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो ।
प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले ३० जनाको शव निकालेका छन् । मृतकमध्ये पाँच महिला, दुई नाबालक र बाँकी पुरुष छन् । दुर्घटनालगत्तै १६ जना घाइतेको उद्दार गरिएको छ । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने एकीन हुन सकेको छैन । करिब ५० जना बसमा चढेको अनुमान गरिएको छ । बसमा रहेका २० जनाभन्दा बढी अझै बेपत्ता छन् । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको उद्धार टोली परिचालित छ । नदी गहिरो भएको र बस खोंचमा झरेका कारण उद्धार कार्य कठिन भएको छ ।
प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रुहरुले बताएका छन् । उनीहरुका अनुसार छत र बसभित्र गरेर ५० जनाभन्दा बढी यात्रु सवार थिए ।