गोविन्द बेल्वासे ।

बेलायतमा हरेक वर्ष मार्च महिनाको अन्तिम आइतबारका दिन घडीलाई एक घण्टा अगाडि बढाउने र अक्टोबर महिनाको अन्तिम आइतबारका दिन घडीको सूई फर्काएर पुरानो ठाउँमा पुर्याउने प्रचलनले गर्दा यस्तो अवस्था आएको हो । अर्थात मार्च महिनाको अन्तिम आइतबार २३ घण्टाको दिन हुन्छ र अक्टोबरको अन्तिम आइतबार २५ घण्टाको दिन हुन्छ । यस वर्ष बेलायतको २५ घण्टे दिन अक्टोबर २९का दिन परेको छ । अब आउने आइतबार नै त्यो दिन हो । त्यसैले तपाईले आफ्नो घडीमा समय मिलाउनु भएन भने काममा एक घण्टा चाडै पुग्ने सम्भावना रहन्छ ।

सन् २०१७ अक्टोबर २८ तारिखको विहान ०१:५:३० बजे पहिलो बच्चा जन्मिएको अवस्था कल्पना गरौँ ।

उनै आमाको कोखबाट सोही दिनको ०१:१७:०० बजे अर्को बच्चा जन्मिएको अवस्था भयो भने कागजी रुपले (जन्म दर्ता प्रमाणपत्रमा– बर्थ सर्टिफिकेट) पहिले जन्मिएको बच्चा कान्छो हुन जान्छ । तर, यो नेपाली समयको अवस्था होइन बेलायती समयको गणनाको अवस्था हो ।

मार्च महिनामा समय फेरिँदा कर्मचारीले समय परिवर्तनको थाहा नपाएर काममा ढीलो पुग्लान भनेर म्यानेजरहरु खुब चनाखो हुँदै सवै कर्मचारीलाई समय(घडी घुम्ने विषय) सम्झाउने गर्दछन् । यो आउँदै गरेको घडी घुमाउने आइतबारका दिन घडी घुमेर रोजगारदातालाई खासै फरक पर्दैन त्यसैले म्यानेजर तथा सुपरभाइजरहरुले कर्मचारीहरुलाई समय परिवर्तनको बारेमा त्यती चासो दिएर खबर गर्दैनन् ।

भूमध्य रेखाको नगिच रहेका देशमा घडी घुमाउने प्रचलन बसाउन आवस्यक पर्दैन । त्यसैले नेपालमा हरेक वर्ष घडी घुमाउन नै पर्दैन । नयाँ घडी किनेको अवस्थामा वा अरु देशको समय फेर्न र घडी विग्रिएर गलत समय बतायो भने मात्र घडीको सूई घुमाएर समय मिउनु पर्ने हुन्छ नत्र पर्दैन । भूमध्यरेखाबाट जति टाढा रहेको देश छ त्यहाँको दिन र रातको लम्बाई पनि सूर्य उत्तरायण र दक्षीणायन हुँदा फेरिन्छ र घडी घुमाएर समय मिलाउने तथा दिनको उज्यालोसंग काम गर्ने समयको तालमेल मिलाउन जरुरी पर्दछ । नर्बे जस्ता देशका कुनै स्थानमा त कहिले घाम नै अस्ताउँदैन त कहिले उदाउँदै उदाउँदैन । घाम डुबेपछि सुतौला भनेर बसे सुत्नै नपाउने त घाम उदाउँला र नुहाइ धुवाई गरौला भन्दा मुखै नधोइ दिनै वित्ने अवस्था पर्ने हुनसक्छ । त्यतातिर जानपर्यो भने ख्याल गर्नुस है ।

घडी घुमाउने चलन कहिले सुरु भयो ?

बेलायत तथा यूरोप भुमध्य रेखा भन्दा धेरै उत्तर तिर रहेकाले यहाँको दिनको लम्बाइ कहिले ज्यादै धरै त कहिले निकै कम हुन जान्छ । त्यसैले यहाँ सूर्यको प्रकाश अनुसारको समय तालिका मिलाउन आवस्यक हुन्छ । पानी घडीको प्रचलन यूरोपतिर रोमन साम्राज्य फैलिएका समयमा पनि रहेछ । त्यसैले त्यो पानी घडीले सूर्यको प्रकाश बचाउने समय स्वतहः मिलान गथ्र्यो ।

पहिले–पहिले नेपालका ज्योतिषहरुले पानी–घडी थापेर समयको गणना गर्थे । उनीहरुले सूर्य उदयको समय र अस्ताउने समयका आधारमा घडी–पला जोखना गर्थे । त्यसैलेगर्दा दिनको प्रकाश स्तहः मिलान हुन्थ्यो । म जान्ने हुँदा त्यो पानि–घडीलाई दम दिने (चाबी भर्ने) घडीले बिस्थापित गरिसकेको थियो । आफैले पानी घडी थापेर घडीपला जोखना गरेको गफ गर्ने काका नाता पर्नेहरुका कुरा सुन्दा मेरो दिमागले काम गर्न थाल्दा भरखर जस्तो पानी–घडीको चलन विस्थापित भएको ठान्छु म ।

जसै जसै आधुनिक घडीको प्रचलन बढ्यो घडीको सूईले काम सुरु गर्ने र काम छाड्ने समय तालिका निर्धारण गर्न थाल्यो । कहिले लामा दिन त कहिले लामा रात हुनाले सूर्यको उज्यालो पच्छ्याएर काम गर्न असहज भएको महसुस गर्न थालियो । त्यो असहजता हटाउने परिकल्पना सहित घडीको सूई घुमाउने सोच सर्वप्रथम बेन्जामिन फ्रङ्ककलिनले सन् १७८४मा उजागर गरेका हुन् । तर, त्यो सोच एक सय वर्षसम्म पनि प्रचलनमा आएन ।

बेलायतमा घडी घुमाउने चलन बसाउने श्रेय विलियम विल्लेटलाई दिने गरिन्छ । बेलायती घडीको सूई एक घण्टा घटाउने र बढाउने यो प्रचलन ब्यवस्थित हुने क्रममा हप्ताको बीस मिनेटका दरले मिलाउने प्रयाश भएको पनि पाइन्छ । १९०९मा मस्यौदा गरिएको विधेयकमा अप्रिल महिनाको हरेक आइतबार २० मिनेटका दरले अगाडि सार्ने र सेप्टेम्बर महिनाका हरेक आइतबार २० मिनेटका दरले पछाडि सार्ने प्रस्ताव गरिएको थियो ।

बेलायती संसदले सन् १९१६ मा “दी समर टाइम एक्ट” पारित गरेपछि अहिलेको प्रचलित घडी घुमाउने चलन ब्यवस्थित भएको हो । सन् १९०९मा प्रस्तावित गरिएको विधेयकले ऐनको रुप धारण गर्न निकै उतार चढाव बेहोर्नु पर्यो ।

तर, दोस्रो विश्वयूद्धको समय १९४० देखि १९४५ सम्म भने यो क्रमलाई भङ्ग गरिएको थियो । त्यस समयमा बेलायतमा समर समयलाई ग्रिनविच समय भन्दा एक घण्टा नभएर दुई घण्टा अगाडि दगुर्ने बनाइएको थियो । सन् १९४०को अक्टोबरमा घडीको सुईलाई फिर्ता नलगिएका कारण अर्को बर्षको समर समय दुई घण्टा अगाडि हुन गएको थियो । सन् १९४७मा पुनः घडीको तालिका मिलान भयो । अक्टोबर २७, १९६८ देखि ३१ अक्टोबर १९७१ सम्म फेरि समय मिलान गरिएपछि बेलायती समर समय ग्रिनविच समय भन्दा एक घण्टा अगाडि दगुर्न थालेको हो ।

घडी घुमाउने ब्यवहार

आजभोलिका घडी आधुनिक छन् । समर समय आफै मिलान गर भनेर घडीलाई आदेश दिनु भएको छ भने उसले आफै समय मिलान गर्छ । यो आइतबारका दिन विहानको तपाईले सेट गरेको एलार्म ठीक समयमा बज्ने छ । तर, यदि समर समय स्वतहः मिलान गर्ने नियमलाई निस्कृय पार्नु भएको छ भने तपाईको घडीले आइतबारका दिन एक घण्टा चाडै एलार्म बजाउने छ । थाहा नपाई काममा चाडै पुगेको खण्डमा बेतलबी समय एक घण्टा बित्ने छ ।

म सानो छँदा अहिलेका जस्ता आधुनिक घडी सर्बसाधारण नागरिकलाई उपलब्ध थिएनन् । दिनमा एक पटक चाबी भरेर घडीलाई खुराक दिनु पथ्र्यो । नत्र घडी उर्जा विहिन अवस्थामा पुगेर बन्द हुन्थ्यो । हामीलाई नेपालमा यो घडी(समर टाइम) मिलान गर्ने झन्झट भने हुन्थेन । बेलायतका सर्वसाधरणसंग पनि त्यो समयमा आधुनिक घडी थिएनन् । अझ ती घडीहरुमा सुइ अगाडिमात्र घुमाउन मिल्ने तर पछाडि घुमाउन नमिल्ने हुनाले अक्टोबरको अन्तिम आइतबार घडीको सुइ पछाडि लगेर समय मिलान गर्न घडीको सुई पुरै एघार घण्टा घुमाएर मिलाउन पथ्र्यो । त्यस समयका पत्रिकाहरुले घडीमा समय कसरी मिलाउने भन्ने तरिका बताउने लेख तथा समाचारहरु प्रकाशित गरेको पाइन्छ ।

अहिलेका बच्चाहरुलाई ती हातले उर्जा भर्नु पर्ने घडीका बारेमा जति सुनेर जानकारी हुन्छ मलाई पनि त्यसैको तुलनामा पानी–घडी थापेर घडि–पलाको हिसाब गर्ने घडीको बारेमा जानकारी छ ।

मैले स्कुल पढ्दा पढेको पाउण्ड सिलिङ पेन्सको बेलायती मुद्रामध्ये म बेलायत आउँदा हराईसकेको सिलिङ जस्तै चाबी भर्ने घडीहरु हाम्रो समाजमा बेपत्ता भैसकेका छन् । अहिले प्रचलनमा रहेको पाउण्ड र पेन्सको बीच स्तरको पहिला बेलायतमा प्रचलित सिलिङका बारेमा जानकारी लिन इतिहासका पाना पल्टाउन परे जस्तै ती दम दिनु पर्ने घडीका बारेमा जानकारी लिन पनि संग्रहालय धाउनु पर्ने हुन्छ ।

जे होस आइतबारको घडी मिलाउन नविर्सिनुस है । सनिबार साँझ नै घडी मिलाए झन राम्रो । स्मार्टफोन चलाउनु हुन्छ होला, तै पनि समर टाइम एडजस्टमेन्ट ‘अन’ छ कि छैन हेरेर निधो गरे धोका हुने छैन ।