७ बैशाख २०८१, शुक्रबार
Follow Us

जटिल रोग निको पार्ने भन्दै नेटवर्किङ धन्दाः पाँच सय बढी सर्वसाधारण प्रभावित

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०३:३६

कार्तिक ११, २०७४-विगतमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी धन्दा भन्दै प्रतिबन्ध लगाइएपनि पछिल्लो समय उपचार गराउने नाममा यस्तै प्रकृतको धन्दा पूर्वका जिल्लामा मौलाएको छ । जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ ।

स्वदेसमा सम्पर्क कार्यालयसमेत नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट औषधी बिक्री गराउँदै आएको छ । अझ सदस्य बनाएवापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ । भारतको चेन्नईमा मुख्य कार्यालय रहेको भनिएको ओरियन्सले नेटवर्किङ शैलीमार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

विशेषगरी झापा, सुनसरी, धनकुटालगायतका जिल्लामा यसको बिस्तार हुनेक्रम बढेको छ । खासगरी औषधीजन्य वस्तु सम्बन्धित चिकित्सकको सिफारिसबिना बिक्री वितरणसमेत गैरकानुनी हुन्छ । तर स्वास्थ्यसँग सरोकार नभएका व्यक्तिहरु यसमा संलग्न रहेको स्रोतले जनाएको छ । धनकुटामा पछिल्लो समय पाँच सय बढी व्यक्तिलाई ओरियन्सका उत्पादन बिक्री गरिएको स्रोतले जनाएको छ ।

नेटवर्किङमा संलग्न व्यक्तिले आफूहरुले औषधी नभएर ‘फ्रुट सप्लिमेन्ट’ बिक्रि गरेको दाबी गर्छन् । खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका युद्धबहादुर खड्काले ३० हजारको औषधी प्रयोग गरेको बताए । मधुमेह पीडित उनले मासिक १० हजार रुपैयाँका दरले तीन महिनासम्म औषधी प्रयोग गर्ने बताए । हाल ५ हप्ता औषधी सेवन गरिसकेको उनले जानकारी दिए । ‘सुगर रोग चटक्कै निको हुने भनेकोले औषधी प्रयोग गरेको हु‘’, उनले भने, ‘यसको मात्रा पूरा गरेपछि हाल प्रयोग गर्दै आएको सुगरको औषधी कहिल्यै खान पर्दैन भनेकोले आशावादी छु ।’

नेटवर्किङ व्यापारबारे सदरमुकामस्थित एक होटलमा सर्वसाधारणलाई सहभागी गराई प्रशिक्षणसमेत दिइएको छ । उक्त कार्यमा नेता, जनप्रतिनिधिदेखि सञ्चारकर्मीसमेत संलग्न रहेको एक सहभागीले जनाए ।

साँगुरीगढी गाउँपालिकाका विशाल कार्कीले ब्लड क्यान्सरबाट पीडित पत्नीका लागि ओरियन्सले बिक्रि गरेको २२ हजारको औषधी प्रयोग गरिसकेको बताए । प्रारम्भिक चरणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइएपनि निको नहुँने अवस्था भएकोले ओरियन्सको उत्पादन प्रयोग गरेको उनले बताए । चारपटक किमो गर्दा कमजोर बनेकी पत्नीलाई आफूले ओरियन्सको उत्पादन प्रयोग गर्न लगाएको उनले बताए । ‘लाखौ खर्च भइसक्दा थोरै पैसाले रोग निको होला भन्ने आशाले प्रयोग गरेको हो’, उनले भने । पछिल्लो समय उनी स्वय ओरियन्सको प्रचार प्रसारमा जुटेका छन् ।

ओरियन्सको प्रचारमा जुटको व्यक्तिका अनुसार एकले सदस्य बनाएपछि त्यसपछिका व्यक्तिले सदस्यता बिस्तार गरेको आधारमा बोनस दिने गरिन्छ । ओरियन्सको प्रचारमा हिडेका बिशालले प्रत्यक्ष बिक्री गरिने हुनाले ठगी धन्दा नभएको दाबी गरे । ‘डाइरेक्ट सेलिङ हो तर नाफाबिना काम कसैले गर्दैन’, उनले भने, ‘हामी पनि काम गरेअनुसार नाफा त पाउछौं ।’

गत असोज ४ मा संसदले नेटवर्किङ व्यवसायबारे कानुन बनाउने निर्णय पारित गरेकोले आफूहरु सक्रिय भएर प्रचारमा जुटेको उनले बताए ।

ओरियन्सको अभियानमा जुटेका लक्ष्मी मगरले यसको उत्पादन स्वास्थ्यसँग सम्बन्धित सामाग्री भएको तर औषधी भन्न नमिल्ने तर्क राखे । ‘धेरै बिरामीलाई निको पारेको छु’ उनले भने, ‘अहिलेसम्म गुनासो कआएको छैन ।’

उक्त अभियानमा सक्रिय अर्का व्यक्ति सन्तोष केसीले खाद्यन्नको परिपूरक तत्व भएकोले औषधी भन्न नमिल्ने तर्क राखे । उनले रोग निको पार्ने भन्दै बिक्री गरिने वस्तु फूड सप्लिमेन्ट भएकोले अचुक हुने समेत दावी गरे । उनले चाँडै राजधानीमा कार्यालय खोल्ने तयारी गरिएको बताए । ‘डाक्टरले निको पार्न नसक्ने रोग हामीले निको पार्छौं’ उनले भने, ‘डाक्टरको औषधीलाई चुनौति दिनसक्ने उत्पादन हो ।’

अर्का अभियन्ता आरसी राईले ओरियन्सको उत्पादनले जटिल प्रकारका रोग निको पार्ने दाबी गरे । ओरियन्सको सदस्य बनाउन सर्वसाधारणलाई भेला पारी प्रशिक्षण दिने कार्य पछिल्लो समय सक्रिय पारिएकोले प्रभावित संख्या बढ्दै गएको छ ।

प्रकाशित: कार्तिक १२, २०७४

कान्तिपुर ›समाचार ›