१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला’

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०४:५१

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् । उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ ।

मोरङ क्षेत्र नम्बर ६ को (क) बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ । अध्यक्ष दाहालले मोरङको ६ (क) बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीहाई दिइसकेका छन् । ‘मोरङका ६ (क) बाट चाहना नराख्नु, यसपालि चुप लागेर बस्नुस्,’ आफ्नै पार्टीका आकांक्षीलाई दाहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो ।

माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामीले प्रदेश सभाको ६ (क) बाट आचार्यले नै टिकट पाउने दाबी गरे । एमालेसँगको गठबन्धनपछि मोरङमा प्राप्त सिटमध्ये प्रदेशसभाका सबै उम्मेदवार माओवादी (केन्द्र) ले टुंगो लगाइसकेको अछामीले जानकारी दिए । ‘प्रदेशमा मोरङमा ६ वटा र केन्द्रका लागि ३ वटा सिट दिनुपर्ने हाम्रो अडान हो,’ अछामीले भने, ‘एमालेका साथीहरुले केन्द्रमा २ र प्रदेशमा ४ वटा भनिरहनुभएको छ, कुरा मिलिसकेको छैन ।’

मोरङ प्रदेश ६ (क) बाट एकल सिफारिस भएका आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै मोरङका माओवादी नेताकार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाका लागि त्यही क्षेत्र दाबी गरिरहेका माओवादी नेता अमन मोदीले आचार्यको सिफारिसविरुद्ध पार्टीमा असन्तुष्टि जाहेर गरेका छन् । मोदी दोस्रो संविधानसभामा समानुपातिकतर्फका सभासद् हुन् ।

प्रदेश ६ (क) बाट उम्मेदवारी दाबी गरिरहेका मोदीलाई माओवादी अध्यक्ष दाहालले ‘यसपालि चुप लागेर बस्न’ आग्रह गरेको स्रोतको भनाइ छ । मोदीले भने आफूले टिकट पाउनुपर्ने दाबी गर्दै पार्टीप्रति असन्तुष्टि देखाइरहेका छन् । ‘आचार्यले टिकट पाएकोमा मेरो असन्तुष्टि होइन,’ मोदीले नागरिकसँग भने, ‘पार्टीले गरेको निर्णय हो, म मान्छु । तर मजस्तो मानिसले पनि टिकट पाउनुपर्छ भन्ने मेरो भनाइ हो । मैले केन्द्रका लागि टिकट दाबी गरेको छु, जहाँबाट दिए पनि लड्न तयार छु ।’

माओवादी केन्द्र मोरङका इन्चार्ज अछामीले आचार्य सबैको आग्रहपछि मात्र मोरङको प्रदेश ६ (क) बाट चुनाव लड्न राजी भएको बताए । ‘आचार्यको सिफारिसमा अमनजीले असन्तुष्टि देखाउनुभएको छ,’ अछामीले भने, ‘केन्द्रमा नभए प्रदेशमा दिनुपर्‍यो भने उहाँको भनाइ छ । सबै जनाले आग्रह गरेर जीवनजी आउनुभएको हो । अमनजीले विरोध गर्नु राम्रो होइन ।’

अछामीका अनुसार प्रदेशमा ६ वटा सिट पाए निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट उनी आफंै, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट गणेश उप्रेती, निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट गीता तिमल्सिना, निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट विजय थारू, निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट देवानन्द यादव र निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट जीवन आचार्यको मात्रै नाम सिफारिस गरिएको छ।

मोरङ माओवादीबाट टिकटका लागि सिफारिसमा परेका आचार्यबाहेकका अधिकांश नेता पुराना हुन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर १ पाए माओवादीबाट कुशल लिम्बु, निर्वाचन क्षेत्र नम्बर ३ पाए सावित्रीकुमार काफ्ले, निर्वाचन क्षेत्र नम्बर ४ पाए विजय विश्वास थारू र निर्वाचन क्षेत्र नम्बर ५ पाए शिवकुमार मण्डल उम्मेदवार हुने अछामीले बताए । दाहालका ज्वाइँ आचार्यको सिफारिसविरुद्ध भने मोरङ माओवादीमा असन्तुष्टि चुलिएको छ । सामाजिक सञ्जालमा मोरङ माओवादीका नेताकार्यकर्ताले असन्तुष्टि पोखिरहेका छन्।

माओवादी केन्द्रका सल्लाहकार विनोद घिमिरेले पार्टी राजनीतिमा कहिल्यै नलागेको र भूगोल बुझेको व्यक्तिलाई टिकट दिएर पार्टीले अन्याय गरेको बताए । ‘मोरङको राजनीतिमा आचार्यको कुनै भूमिका छैन । राजनीति हैसियत पनि छैन,’ घिमिरेले भने, ‘उनले टिकट पाएको भूगोलमा पनि उनको कुनै भूमिका छैन।’

मोरङ ६ (क) थारू बाहुल्य क्षेत्र भएकाले मोदीले नै टिकट पाउनुपर्ने घिमिरेको दाबी छ । ‘मोदीलाई टिकट नदिए म आचार्यको क्षेत्रमा बागी उम्मेदवार बन्छु,’ उनले भने, ‘पार्टीले गलतको विरोध गर्न सिकाएको छ, दाहालको ज्वाइँ हुँदैमा आचार्यसँग टिकट पाउने राजनीतिक हैसियत छैन।

नागरिक न्युजबाट।