१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस संसदीय बोर्डको बैठक जारी, फोरम र राजपासँग सिट बाँडफाँड आज टुंगिने

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार ०७:४१

काठमाडौं । कांग्रेस संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँगको सिट बाँडफाँटको टुंगो आज बेलुकासम्म लगाउने गरी छलफल अघि बढाएको छ । कांग्रेस र राजपा–फोरम कार्यदल तहमा प्रदेश नम्बर २ मा एक क्षेत्र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा पचास/पचास प्रतिशत भागबण्डा गर्ने गरी सहमतिको प्रयास भइरहेको बुझिएको छ ।
प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ पचास–पचास प्रतिशतमा सहमति गर्न कांग्रेस लचक बने पनि राजपा–फोरमले अझै त्यसमा चित्त बुझाएका छैनन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भोलिसम्म सबै क्षेत्रको कुरा टुंगिने बताउनुभयो । केही कुरा मिलिसकेको र केही बाँकी रहेको भन्दै उनले सबै विषयमा सहमति भइसकेपछि एकै पटक निर्णय सार्वजनिक गरिने जानकारी दिए । कार्यदल तहमा छलफल जारी रहँदा कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार चयन गर्ने कामसमेत गरिरहेको छ ।
कांग्रेसले राजपा–फोरमसँगको क्षेत्र बाँडफाँड सकिना साथ बाँकी उम्मेदवारको चयन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको नेताहरुले बताएका छन् । प्रतिनिधिसभातर्फ राप्रपालाई पाँच सिट दिने सहमति भइसकेको छ । जसमा झापा, मकवानपुर र पर्साका एक-एक क्षेत्र, काठमाडौंको क्षेत्र नम्बर ९ वा ७ र बाँकेको एउटा क्षेत्र दिने सहमति बनेको छ । राप्रपा प्रजातान्त्रिकलाई चितवनको एउटा, धनकुटा, रुपन्देहीको एउटा र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ दिने सहमति भइसकेको छ ।