७ बैशाख २०८१, शुक्रबार
Follow Us

व्यवसायसँगै सामाजिक क्षेत्रमा लाग्न सकूँ

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार १३:२१

सावित्री पौडेल, व्यवसायी, चितवन
सावित्री पौडेलले रेडियो नेपालमा समाचार वाचकमा नाम निकालेकी थिइन् । आफ्नो मन पर्ने पेसालाई चटक्कै छाडेर चितवन नारायणगढकी पौडेल व्यवसायमा आबद्ध भइन् । समाजशास्त्रमा स्नातकोत्तर पौडेललाई व्यवसायले बाँच्न र रम्न मात्र सिकाएन, जीवन के हो भन्नेसमेत बुझ्न सिकायो । नारायणगढमा रहेको पूजा सहेली सुट हाउसकी प्रोपाइटर पौडेल व्यवसायमा मात्र सीमित छैनन्, पुल्चोक बचत तथा ऋण सहकारीकी अध्यक्ष, नारायणगढ चौतारी लाइन्स क्लबकी तृतीय उपाध्यक्षलगायत दर्जनौं सामाजिक संघ–संस्थामा आवद्ध छिन् । यिनै विषयमा पौडेलसँग सिर्जना अर्याल गरेको कुराकानी ः

० दशंै तिहारमा व्यापार खुबै चल्यो होला नि ?
– चाडवाडमा व्यापार चल्नु स्वाभाविक नै हो । तर अब जाडोको सिजन सुरु भयो, नयाँ डिजाइन बजारमा आइरहन्छन् । त्यसैले चाडवाडमा मात्र व्यापार चल्छ भन्ने हुँदैन ।

० कहिलेदेखि व्यवसायमा संलग्न हुुनुभयो ?
– २१ वर्ष लाग्यो ।

० व्यवसायमा लाग्ने सोच कसरी आयो ?
– मलाई केही नगरी बस्न मन लाग्दैनथ्यो । विवाहपछि म नारायणगढ आएँ । विवाहपछि नै मैले मास्टर्स गरेकी हुँ । पढाइ सकेपछि काम गर्नै प¥यो । त्यसपछि पोखराका विभिन्न विद्यालयमा पढाउन थालें । शिक्षण पेसा रुचिको थिएन । मलाई रेडियो र टेलिभिजनमा समचारवाचक बन्न रहर लाग्थ्यो । भारतमा पढेको हुनाले मेरो हिन्दी लवज राम्रो थियो । रेडियो नेपालमा हिन्दी समचारवाचकका लागि अन्तर्वार्ता दिन गएँ, नाम पनि निक्लियो । तर पछि काठमाडौंमा बस्नुपर्ने भयो । श्रीमान् हेमराज पौडेलले पोखरामै नवद्वीप बोर्डिङ स्कुल चलाउनु हुन्थ्योे । श्रीमान् र स्कुल छाडेर काठमाडौ आउन नसक्ने, म उहाँलाई छाडेर काठमाडौं जान नपाउने भएपछि त्यो रुचि रहरमै सीमित भयो । हाम्रो घर टाँडीबकुलरमा छ । पोखरामा स्वास्थ्यको दृष्टिले मलाई समस्या भइरहेको थियो । शिक्षण पेसामा मलाई खासै रुचि पनि बढेन । चितवन आएपछि श्रीमान्का साथीले यो पसल (जुन पहिला कञ्चन शृंगार तथा सुट हाउसका रूपमा थियो) बेच्न खोज्नुभएको रहेछ । केही त गर्नै प¥यो भनेर त्यो पसल किनें । मात्र सुट हाउसका रूपमा आजसम्म चलाइरहेका छौं ।

० भारतमा हुर्किनु भो नेपालमा कसरी विवाह सम्भव भयो ?
– जन्म, मृत्यु र विवाहका लागि लेखेर नै आउँछ भन्निछ, त्यस्तै नै होला मेरो माइती भारत बनारसको घाँसीटोलमा पर्छ । मेरो मामाघर भने दाङको मानपुर बजारमा पर्छ । हाम्रो विवाहका लागि मेरी आमा सरस्वती त्रिवेदी नै प्रमुख हो । उहाँले कान्छी छोरी नेपालीलाई नै विवाह गरिदिन्छु भन्नु भाको थियो । संयोगले त्यो सम्भव पनि भयो । बनारसको हाम्रो घरमा ट्युसन सेन्टर थियो । मेरो श्रीमान् त्यहीँ पढ्न आउनु हुन्थ्यो । माइतीगाउँको नेपाली भनेपछि आमाले सोधिखोजी गर्नुभयो । उहाँसँग विवाह गरिदिने निष्कर्षमा हाम्रो परिवार पुग्यो । उहाँले त्यसबेला पोखरामा बोर्डिङ स्कुल चलाउन थालिसक्नु भाको रहेछ । हामीलाई उहाँले पोखरा घुम्न बोलाउनुभयो । उहाँबारेमा थप बुझ्न सकिन्छ भनी दिदीभिनाजुसँगै हामी १० जनाको टोली पोखरा आयौं । तालबराहीमै नेपाली परम्पराअनुसार हाम्रो विवाह भयो । पछि फेरि आमाले नेपालमा त दुइटा तीनटा पनि विवाह गर्छन् भन्दै कोट म्यारिज गर्न लगाउनुभयो ।

० नेपालमा एडजस्ट हुन कत्तिको कठिन भयो ?
– घर खान त मलाई अप्ठरो परेन, किनभने सबै पढेलेखेका र बुझ्ने हुनुहुन्थ्यो । श्रीमान्को सपोर्ट अति नै थियो, आज पनि छ । हामी दुवै यस व्यवसायमै आवद्ध छौं । उहाँको प्रेरणाले सामाजिक क्षेत्रमा पनि अग्रसर हुन सकेकी हँुु । तर व्यवसाय चलाउन भाषाले मलाई समस्या प¥यो । मैले भनेको ग्राहकले नबुझ्ने, उनीहरूले भनेको मैले नबुझ्ने हुन्थ्यो । सुरुमा व्यवसायको ज्ञान नहुनाले पनि कठिन भयो । तर आजकल त्यस्तो कुनै समस्या छैन ।

० व्यवसायी महिलाको दैनिकी बोझिलो हुन्छ र ?
– व्यवसायमा महिला वा पुरुष जो भए पनि अति खट्नुपर्छ । चाडवाड आएपछि कलेज, विद्यालय, बैंकलगायतका जागिरेले छुट्टी पाउँछन्, तर हामी भने झन् खटिनुपर्छ । यसो भेटघाटमा जाउँ भने पनि पसल बन्द गरेर जानु भएन । सोमबार एकदिन बन्द हुन्छ । सामान लिन मिलाउन भन्यो त्यहीँ व्यस्त भइन्छ । रह्यो कुरा महिलाको । घरपरिवार व्यवसाय हाम्रो सामाजिक संरचनाले गर्दा अन्य महिलालाई जस्तै हामीलाई पनि समस्या आइपर्छ ।

० व्यवसायमा महिलाको कत्तिको आकर्षण देखिन्छ ?
– महिलाहरू हिजोआज व्यवासायमा आकर्षित भएको पाइन्छ । सामान लिन आफैं जाने, पार्टीसँग डिल पनि गर्नसक्छन् । तर व्यावसायिक संघसंगठनमा भने नेतृत्व गर्न थोरैले मात्र अवसर पाउँछन् । महिलाले पनि नेतृत्व गर्न सक्छन्, कार्यक्रममा उभिएर बोल्न जान्दछन् भन्ने पुरुषवादी हाम्रो समाजको सोचमा परिवर्तन आएको छैन । महिला भनेका घरमा खाना पकाउने, बालबच्चा हुर्काउन हुन् भन्ने मात्र ठानिन्छ । वास्तवमा यिनै समस्याले महिला नेतृत्व गर्ने क्षमतावान् बन्न पाएका नै हँुदैनन् । जन्मँदै कसैले जानेर आएका हँुदैनन्, अनुभवले नै सिक्ने हो । महिलाले अवसर पाए भन्ने हरेक क्षेत्रमा कुशलतापूर्वक भूमिका निर्वाह गर्न सक्छन् ।

० नेतृत्वमा ल्याउन महिलाले के गर्नुपर्ला ?
– हामीले पहल गरिरहेका छौं । पुल्चोक बचत तथा ऋण सहकारीमार्फत हामीले व्यावसायिक महिलाको नेतृत्व क्षमता बढाउने, उनीहरूका सुखदुःख साट्ने, विभिन्न कार्यक्रम पनि गरिरहेका छौं, यसै सहकारीका दिदीबहिनीले उद्योग वाणिज्य संघ, फेन्सी संघमा पनि नेतृत्व गरिरहनुभएको छ ।

० सहकारी खोल्नु भएको कति भयो ?
– हामीले सहकारीकै रूपमा दर्ता गरेको त २०७० सालमा हो । त्यस अगाडि हामीले भगवती मार्ग आमा समूह बनाई सुरुमा २५ रुपैयाँ मासिक उठाउँथ्यौं । पछि ५०, १००, हुँदै ५०० सम्म पुग्यो । पाँच सय उठाउन थालेपछि हामीसँग धेरै बचत जम्मा हुन थाल्यो । यसलाई सहकारीका माध्यमबाट चलाउँदा सजिलो हुने, ऋण लिने र दिने प्रक्रियामा पनि विश्वसनीयता हुने ठान्यौ । यही समूहलाई सहकारी बनायौं ।

० सहकारीमा कति छन् सदस्य ?
– हाल ४१० सेयर सदस्य छन् । सबै महिला नै हुनुहुन्छ । अधिकांश व्यवसायमै लागेका हुनुहुन्छ । सहकारीले लगानी गर्न, सामान किन्नेलगायत व्यवसाय चलाउन धेरै सहयोग पुगेको छ ।

० राजनीतिमा रुचि भएन ?
– बनारसको वसन्त कन्या महाविद्यालयमा मैले स्नातकसम्म अध्ययन गरेकी हुँ । हामीभन्दा एक ब्याज सिनियर चर्चित नायिका मनिषा कोइरालालगायतका धेरै अन्य नेपाल राजनीतिज्ञ परिवारले उक्त महाविद्यालयमा अध्ययन गर्नुभएको थियो । मामाघर नेपाल भएकाले घर पनि नेपालमै हुने भएकाले होला मैले पनि नेविसंघको समितिमा बसेर काम गरेकी थिएँ । पछि विवाह भयो । व्यवसायमा लागियो, राजनीतिलाई समय दिन सकिएन । यद्यपि चासो भने थियो । अहिले कांग्रेसको क्रियाशील सदस्य छु ।

० कस्तो छ व्यावसायिक प्रतिस्पर्धा ?
– व्यवसायमा प्रतिस्पर्धा त हुन्छ नै, तर आफूले ग्राहक बनाउन सक्नुपर्छ । जति नै धेरै पसल खुले पनि फरक पर्दैन । एक वर्षअघि भारतमा लागू भएको जीएसटी (गुड सेल ट्याक्स) ले हामी मर्कामा छौं । यो ट्याक्स पनि तिर्नुपर्छ, यता नेपालमा कर छलेर भित्रिएको सामानसँग प्रतिस्पर्धा गर्नुपर्दा हामी मर्कामा परेका छौं ।

० अन्तमा केही भन्नु छ ?
– आफूले जुन पेसा अंगाल्यो त्यसैमा दत्तचित्त भएर निरन्तरता दिइयो भने अवश्य सफल हुन सकिन्छ । भोलिका दिनमा पनि वर्तमानमा जस्तै व्यवसायसँगै सामाजिक क्षेत्रमा लागिरहन सकूँ । असहायलाई सहयोग गर्न सकूँ । सर्वे भवन्तु सुखिनः भन्दै बाँकी जीवन बाँकी सकूँ । यत्ति नै ।