१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित’

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार १४:२९

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँडमा मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित रहेको लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । प्रदेश नम्बर २ र ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरुले भने एक्लै चुनावी मैदानमा जाँदा पनि खासै घाटा नहुने भन्दै नेतृत्वलाई सुझाएका छन् । यद्यपि केही स्थानमा भद्र सहमति गरेर जान दुवै पक्ष तयार रहेको बताइएको छ ।
राजपा र फोरमले कांग्रेससँग प्रदेश २ मा प्रतिनिधिसभामा २४ र प्रदेश सभामा ५५ सहित १३१ सिट मागेको छ । २ नम्बर प्रदेशमा प्रतिनिधिसभामा ३३ सिट छ भने प्रदेश सभामा ६४ सिट छ । यस्तै प्रदेश ५ मा प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ५२ सिट छ । यसलाई कांग्रेसले आधारहिन भनेको छ ।
यतिवेला वाम गठबन्धनलाई देखाउँदै प्रदेश नम्बर २ र ५ मा बलियो उपस्थिति खोजेपछि कांग्रेसले सहकार्य गर्ने वा एक्लै अघि बढ्नेबारे कांग्रेस दुविधामा परेको छ । कांग्रेस बलियो रहेका कतिपय स्थानमासमेत आफ्नो भाग खोज्ने थालेपछि कांग्रेसको मधेशी दलसँगको सहकार्य अन्योलमा परेको छ ।
यद्धपि केही स्थानमा सहकार्य हुने राजपाका एक नेताले जानकारी दिए । सुनसरी–१ मा संघीय समाजवादीका सहअध्यक्ष अकोश राई सहयोग गर्ने र सुनसरी ४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग गर्ने सहमति बनिसकेको छ । सुनसरी–१ बाट उठ्ने कांग्रेस उम्मेदवार मीन विश्वकर्मा समानुपातिमा परिसकेको जानकारी कांग्रेस चुनाव प्रचार संयोजक बालकृष्ण खाणले नेपाल ब्रिटेन डट कमलाई जानकारी दिए ।
लोकतान्त्रिक मोर्चा बनाउने गरि सहमति भए पनि क्षेत्र बाँडफाँटमा सहमति जुट्न नसकेकाले निश्चित स्थानमा मात्र सहकार्य हुन सक्ने देखिएकोछ । अझै छलफल जारी रहेकाले सोमबारसम्ममा एउटा निष्कर्षमा पुग्ने दलहरुको तयारी रहेको छ ।