८ बैशाख २०८१, शनिबार
Follow Us

ठूला माछाले कार्कीलाई निल्नेभो

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार ०५:३५

काठमाडौं । ठूला माछालाई छाड्दिन भनेर फिसिङ गर्दागर्दै अख्तियार प्रमुख लोकमान सिंह कार्की आफै माछा पोखरीमा चिप्लिएर फस्न पुगेका छन् । कार्की माओवादी सिफारिसमा अख्तियार प्रमुख बनेका हुन् र अहिले माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड भ्रष्टाचारी ठूला माछाका पक्षमा उभिन्छन् कि कार्कीको हात मजबुत पार्ने छन् ? सबैको प्रतिक्षाको विषय बनेको छ ।
कनकमणि दीक्षित, कोषराज वन्त, संसदभित्रका मानव तस्कर, रातो पासपोर्ट बिक्रेता, डनका पक्षधरहरु लोकमान सिंहलाई जसरी पनि महाभियोग लगाउनै पर्छ भनेर ज्यान छाडेर लागेका छन् । तर, सरकार निर्माता प्रचण्ड र देउवा भ्रष्टमाथि कारवाही हुनैपर्छ, भ्रष्टलाई खुला छाड्न हुन्न भन्ने पक्षमा उभिएका देखिन्छ । यसको अर्थ लोकमान सिंहमाथि महाभियोग होइन, भ्रष्टहरु कसरी उम्ज्ञिकन सकेका रहेछन् भनेर विश्लेषण हुनथालेको छ ।
हुन पनि नक्कली डाक्टर, पाइलट, माष्टर, विश्वविद्यालयका भ्रष्ट प्रशासकहरुसमेत धमाधम छुट्न थालेका छन् । लोकमानले गल्ती गरे होलान्, भ्रष्टाचार नै गर्नेलाई खुला छुट किन भइरहेको छ ? यो प्रश्न झन गम्भीर हुनपुगेको छ ।
निश्चय नै लोकमान सिंह कार्की भ्रष्टहरुविरुद्ध आक्रामक रुपमा देखिन थालेका थिए । ठूला माछा खोई समातेको भनेर प्रश्न गर्दागर्दै लोकमान ठूलामाछामाथि ठोकमान बन्न सुरुमात्र गरेका थिए, उनलाई असफल पार्ने, अख्तियारबाट निकाल्ने प्रपञ्च सुरु भएको छ । सुरेन्द्र पाण्डे, उमेश श्रेष्ठ, गीता राणा, वावुराम पोखरेल, नारायण गोपाल मलेगो, जनार्दन ढकाल, विक्रम पाण्डे, राजेन्द्र पाण्डे, कृष्णबहादुर महरालगायतका केही सांसदसमेत छानबिनको दायरामा आएपछि र कनकमणि दीक्षितविरुद्ध कार्की खनिएपछि देशी विदेशी शक्ति र आइएनजीओसमेत कार्की विरुद्ध खनिन पुगेको देखिन्छ ।
अव विदेशमा पैसा राख्ने, विदेशबाट पठाएको भनेर कालोधन थुपार्ने, विदेशी मुद्राको अपचलन गर्ने, राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने, हदबन्दीभन्दा बढी जग्गा राख्ने, नक्कली प्रमाणपत्रका आधारमा योग्यहरुको मौका खोस्ने, यता भ्रष्टाचार गरेको पैसा विदेश पठाएर रेमिटान्समार्फत भित्र्याउने दीक्षित, कोषराज वन्त, वासुदेव ओली, सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ, सुशील घिमिरे, श्रीधर गौतम, रामेश्वर यादवलगायतका १८५८ भ्रष्टहरुले कार्कीलाई बाकी नराख्ने भनेर मोर्चावन्दी कसेका छन् । कार्की अख्तियारमा छन्, नहुन पनि सक्छन् । प्रश्न छ– भ्रष्टाचारले कसरी उन्मुक्ति पाउला ?
३ वर्षमा ५ अर्व असुल गरेका, २१ सय रोपनी र २०० बिगाह जग्गा सरकारका नाममा आएको छ, तिनै अख्तियार प्रमुख कार्कीमाथि विभिन्न निकायमा हस्तक्षेप गरेको आरोप लगाइएको छ । खेताला माष्टरी, झोले स्कूलहरुको ठगी खानेकाम बन्द भएका छन् । अख्तियार भनेपछि एयरपोर्टदेखि मालपोतसम्म र जहा सेवाग्राहीको भीड लाग्छ, त्यहा त्यहा घुस्याहरुको सातो जाने गरेको छ । अनुसन्धानको क्रममा जादा हस्तक्षेप भयो भनेर अख्तियारलाई पक्षाघात बनाउने हो भने यो देशमा राजनीतिक भ्रष्टाचार बाहेक केही पनि बाकी नरहन सक्छ ।
के हामीले खोजेको भ्रष्ट शासन, प्रशासन नै हो त ? सुशासन खोजेको हो र लोकमानबाट हुन्न भने अर्को काविल व्यक्तिको छनौट गर्ने हिम्मत सरकारले गरोस् ।