गत २८ जुलाई २०१७ दिउँसैदेखि जर्मनीको फ्रेङ्कफोर्टस्थित होटल हुफ्स्टारमा विश्वभरिका गैरआवासीय नेपाली भेला हुँदै थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप क्षेत्रको बैठकस्थल रहेको सो होटलमा एक दिन अगाडिदेखि नै नेपालीको चहलपहल देखिन थालिसकेको थियो।

‘तपाईंको होटलको सबैभन्दा सुविधा सम्पन्न स्वीट रुम खाली छ ?’ सो दिन साँझ एक जना अधवैँशे नेपालीले होटल रिसेप्सनमा सोधे।

‘माफ गर्नु होला हामीसँग भएको स्वीट रुम पहिलै बुक छ’, रिसेप्सनमा रहेका नेपाली कामदारले जवाफ दिए।

दुई पक्षबीच कुराकानी हुँदै जाँदा रमाइलो तथ्य खुल्यो। ती व्यक्तिले एनआरएनए उपाध्यक्ष भवन भट्टका लागि कोठाको सोधिखोजी गरेका रहेछन्। तर भट्टका नाउँमा सो होटलको स्वीट रुम पहिलै बुकिङ रहेछ। अर्थात् उनी यूरोप क्षेत्रीय बैठकमा सहभागी हुन आउने निश्चित थियो।

२९ जुलाईको बिहान यूरोप, अमेरिका, एशियाबाट भेला भएका झन्डै पाँच सय गैरआवासीय नेपालीहरू सो होटलमा ब्रेक फास्टका लागि तल ओर्लिए। भीडमा एउटा गाइँगुइँ हल्ला चल्यो। भवन भट्ट सम्मेलनमा सहभागी नहुने रे।

‘किन ?’ कसैले प्रश्न गर्‍यो।

‘ट्रान्जिटमा मोज गर्न निस्केका उनको पासपोर्ट हराएछ। त्यसैले यात्रा रद्द गरेका रे’, कसैले ठट्टा गर्दै जवाफ दियो।

केही मिनेटमै भट्टले आफूले मनैदेखि चाहेर पनि संवेदनशील र परिस्थितिजन्य कारणले बैठकमा सहभागी हुन असमर्थ रहेको सन्देश फेसबुकमा पोष्ट गरे। भट्टको जर्मनी भ्रमण त्यतिबेला स्थगित भएको थियो, जतिबेला एनआरएनएका अर्का उपाध्यक्ष कुमार पन्त त्यहीँ फ्रेंङ्कफोर्ट बैठकमै अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै थिए।

जर्मनी आधारित होटल व्यवसायी पन्तको पक्षमा यूरोप बैठक पूर्वसन्ध्यामा राम्रो माहोल देखियो। पूर्व अध्यक्षहरू डा.उपेन्द्र महतो, जीवा लामिछानेको समर्थन पाएका कारण उनको पक्षमा माहोल देखिनु स्वभाविक थियो।

भट्टले यही थाहा पाएर बैठक बङ्क गर्ने अवस्था आएको चर्चा चल्यो। तर जुलाई २९ र ३० का परिदृश्य नितान्त फरक देखिए। उपाध्यक्ष पन्त लो–प्रोफायलमा बसे। पाहुनालाई स्वागत गर्न खटिए। आफू संयोजक रहेको समितिका सत्रहरूमा दफावार छलफलमा सहभागी भए। सामूहिक फोटो सेसन गरे र सेल्फी दिए। अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने धेरैले अपेक्षा गरेका थिए, तर गरेनन्।

पन्तको रोकिएको अध्यक्षको घोषणा र यूरोप बैठकमा भट्टको अनुपस्थिति यी दुई परिघटना संयोग मात्र थिएनन्। एनआरएनए निर्वाचनका लागि समीकरण परिवर्तनको स्पष्ट संकेत थियो।

क्षेत्रीय सम्मेलनमा अध्यक्ष शेष घलेद्वारा प्रस्तुत भिजन २०–२० एण्ड वियोडको प्रस्तावले संघका अधिकांश पदाधिकारी संशकित थिए। प्रमुख संरक्षक जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसमेतले सो प्रस्तावको सशक्त प्रतिवाद गरेका थिए। सो प्रस्तावलाई घले समूहले प्रतिष्ठाको विषय बनाएका थिए भने अर्को समूहले भिजन २०–२० को नाममा आफ्नी श्रीमतीलाई नेतृत्वमा स्थापित गर्न खोजेको संकेत पाएका थिए।

क्षेत्रीय सम्मेलनको अन्तिम दिनसम्म संस्थापक अध्यक्ष डा. महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले भट्ट र पन्तबीच मिलन बिन्दु भेटाइसकेका थिए। संस्थापक अध्यक्ष डा. महतोले एक पटकको नेतृत्व भट्टलाई दिन सहमति भए बाँकी सहमतिको प्याकेजन आफूले बनाउन सक्ने प्रस्ताव गोथे होटलमा भएको एक अनौपाचारिक भेटघाटमा गरेका थिए। सो प्रस्तावलाई पूर्वअध्यक्ष लामिछानेले सहमति दिँदै अगष्टको दोस्रो साता पन्त र भट्टबीच काठमाडौंमा गोप्य बैठक बसेर सहमतिको खाका तयार पारेका थिए। सहमतिको खाका तयार पार्न सक्रिय थिए– पूर्वप्रवक्ता डा. हेमराज शर्मा।

काठमाडौंस्थित एनआरएनए संस्थापक मध्ये एकको घरमा भएको ८ घन्टा लामो गोप्य बैठकले संघको आगामी वर्षको रणनीति तय गरेको थियो। डा. शर्मा गैरआवासीय नेपाली संघको जापानको महासचिव हुँदा भवन भट्ट कार्यसमितिको सदस्य थिए। तत्कालीन राजाले लोकतन्त्रलाई निमोठेर सत्ता आफ्नो हातमा लिएपछि गणतन्त्र स्थापनामा सक्रिय शर्मा र गणतन्त्रविरोधी भट्टबीच ठूलै टकराव देखिएको थियो। भट्टलाई नेतृत्व हस्तान्त्रणको खाका तयार पार्न डा. शर्मालाई कम चुनौतीपूर्ण थिएनन्। तर, गैरआवासीय नेपाली संघको अभियानको भित्री पाटोलाई राम्रैसँग बुझेका शर्मासमेत नयाँ सहमतिमा जान सहमत भए। उनलाई पूर्वअध्यक्ष लामिछानेले विश्वासमा लिई सकेका थिए।

गैरआवासीय नेपाली संघको सन् २००७ मा सम्पन्न पहिलो यूरोप क्षेत्रीय बैठकदेखि शर्माले संघभित्र आफ्नो स्थान बनाउँदै गए। सुरूकै दिनदेखि पूर्वअध्यक्ष जीवा लामिछानेको विश्वास जितेर संघको अभियानमा भित्रिया बन्न सफल भएका थिए।

अध्ययनशील र संघको विधिविधानको ज्ञान राख्ने शर्माले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग समेत सम्बन्ध दरिलो पार्दै गए।

१९ अक्टोबर २०१३ मा काठमाडौंको होटल सोल्टीमा एनआरएनएको नेतृत्व चयन हुँदै थियो। त्यहाँ अध्यक्षमा आकांक्षी थिए शेष घले, राम थापा, रामेश्वर साह, हितमान गुरुङ एवम् तेन्जी शेर्पा।

घले एनआरएन अभियानका लागि नयाँ अनुहार थिए। र, उनलाई पूर्वअध्यक्ष जीवा लामिछानेले अघि सारेका थिए। उनलाई नेतृत्वमा लानुपर्छ भन्ने लामिछानेको अडान थियो। घलेलाई नेतृत्वमा ल्याउन उनले सबैभन्दा पहिले आफ्नो कार्यसमिति भित्र छलफल गरे। लामिछानेको कार्यकालको प्रवक्ता समेत रहेका डा. शर्मालगायतले घलेलाई नेतृत्वमा सिधै ल्याउन नहुने सुझाव लामिछानेलाई दिएका थिए। तर, संघको गरिमा आँच आउन नदिन संघको अध्यक्षले गरेको निर्णयप्रति समर्थन गर्ने निर्णय गर्दै शर्मा घलेकै पक्षमा उभिए।

संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो भने घलेलाई नेतृत्व दिन हुँदैन भन्ने पक्षमा थिए। दशकौँ देखि संस्थापक अध्यक्ष डा. महतोसँग स्थापित व्यक्तिगत सम्वन्धलाई समेत बेवास्था गर्दै लामिछानेले घलेलाई नेतृत्वमा पुर्‍याए। संस्थापक अध्यक्ष डा. महतो संघको विद्यान सदस्यतासम्वन्धी व्यवस्थालाई संशोधन गरेर संघ दर्ता गर्नुहुँदैन भन्दै संघलाई नेपाल सरकारसँग दर्ता गर्न नहुने पक्षमा उभिए।

संस्थापक अध्यक्ष महतोको समेत सर्मथन नरहेको यो प्रतिकुलतामा लामिछानेको समूहले घलेलाई जिताउन ठूलै चुनौतीको सामना गर्नुपर्‍यो।

तत्कालीन अध्यक्ष लामिछाने र डा. हेमराज शर्माको दरिलो गठबन्धन बन्यो। संघका संस्थापक प्रायः सबै घलेको विरुद्धमा थिए। संस्थापक अध्यक्षको चर्को विरोधका बाबजुत हेमजी (हेमराज+जीवा) गठबन्धनले संघको दर्तासँगै घलेलाई एनआरएनएको नेतृत्वमा ल्याउन सफल भयो।

एनआरएनको इतिहासमै पहिलो पटक भएको त्यो चुनावबाट घले विजयी भए। जितका लागि राजनीतिक समीकरण मिलाउनेदेखि अध्यक्ष प्रत्यासीलाई उम्मेदवारी फिर्ता गराउन श्रृंखलाबद्ध बैठकको नेतृत्व लामिछानेले गरेका थिए।

घलेको विजयका लागि यसरी मरिमेट्ने सारथिहरू यो वर्ष उनको पक्षमा देखिएनन्। लगातार दुई अध्यक्षको भूमिका रहँदा घलेका क्रियाकलापबाट उनीहरू टाढा पुगेका मात्र होइन विरोधी मोर्चामै उभिन पुगे।

संघको एक कार्यकालको मात्र नेतृत्व गरेका लामिछानेले जस्तै नेतृत्व लिन जति महत्वपूर्ण विषय थियो त्यस्तै नेतृत्व हस्तान्त्रण पनि उत्तैकै महत्वपूर्ण पाटो हो भन्ने कुरा घलेले चाल पाएनन्।

दुईपटक उपाध्यक्ष भइसकेका भवन भट्ट आफू शेष घलेको उत्तराधिकारीको रुपमा चिनिन चाहन्थे। दोस्रो कार्यकालका लागि शेष घले अध्यक्षमा निर्वाचित भएपछि अध्यक्षका सबै निर्णयमा भवन भट्टको समर्थन रहँदै आएको थियो। त्यही भएर उनलाई शेष घलेको निर्विकल्प उत्तरकारी ठान्ने जमात् गैरआवासीय नेपाली संघमा ठूलै थियो।

यही कारण संगठनमा बलियो पकड राख्ने जीवा लामिछाने निर्वाचनको ६ महिना अगाडिदेखि नै कुमार पन्तलाई अघि सारेर जानुपर्ने रणनीतिमा थिए।

अध्यक्ष घलेले भट्टलाई अष्टेलियामा भएको भेटघाटमा भने, ‘मेरो समर्थन तपाईलाई छ, अघि बढ्नोस्।’ सधैँ आश्वसन मात्र दिइरहे।’

अर्कोतर्फ अध्यक्षका अर्का प्रत्यासी पन्तसँग पनि घलेको राम्रो सम्बन्ध रह्यो। जर्मनीको एउटा होटलमा संयुक्त लगानी गरेका घलेको समर्थन आफूलाई रहनेमा उनी विश्वस्त थिए।

लाप्राक एकीकृत बस्ती र राहातका काममा घले खटिँदा सधैँजसो भट्ट अनुपस्थित हुन्थे। ती काममा सँगै साथै हिँड्दा पन्तलाई घलेको भनाइ हुन्थ्यो,

‘नेतृत्वमा जेन्युन र काम गर्ने व्यक्ति आउनुपर्छ। मेरो समर्थन तपाईलाई छ।’

जुलाई २४ मा एनआरएन हङकङको छैठौं अधिवेशनमा सहभागी भएर फर्किएका पन्तले त्यसको तीन दिनपछि फ्रेंकफर्टमा यो आश्वसन फेरि पाएका थिए।

चीनको विशेष शासकीय क्षेत्र हङकङ एनआरएनको अधिवेशनमा दुई उपाध्यक्ष प्रत्यक्ष आमनेसामने भएका थिए। उनीहरूले त्यहाँ सहभागीसँग दोहोरी गाउनेदेखि नाँचगान गर्नेसम्म गरे।

सोही क्रममा भएको अनौपचारिक सम्वादपछि एउटा विन्दूमा दुवै आश्चर्य मान्दै जिब्रो टोके। अध्यक्ष शेष घलेले दुवैलाई समर्थन दिएको रहस्य खोलाखोल भयो।

‘दुवै जनालाई अध्यक्षले समर्थन दिएर के गर्न खोजेका हुन् त ?’, दुवैको एउटै प्रश्न थियो। जवाफ उनीहरूसँग थिए। चुनाव लड्ने मुडमा रहेका उनीहरूबीच थप कुराकानी भएन। भोलिपल्ट भट्ट जापान उडे, पन्त जर्मनी।

अध्यक्षका उम्मेदवार बन्दै गरेकाले शेष घले रणनीतिको संकेत राम्रोसँग गर्न नसके पनि लामिछाने, डा. शर्मा र महतोले त्यो चालबाजीको आँकलन गरिसकेका थिए। लामिछानेले प्राप्त सूचनाको विश्वसनीयतामाथि धेरै एन्गलबाट भेरीफाइ गर्छन् र निष्कर्षमा पुग्ने उनको बानी छ।

‘भट्ट र पन्तलाई लडाउने र अध्यक्षमा श्रीमतीलाई अघि सार्ने प्रयास हुनुपर्छ’, उनीहरूको निष्कर्ष थियो।

यतिबेलासम्म बेल्जियम, अमेरिका र बेलायतका कतिपय एनआरएनलाई अध्यक्षमा जमुना घलेको उम्मेदवारी आउँदैछ भन्ने सर्कुलर भइसकेको थियो।

यो परिस्थिति बुझेका लामिछानेले डा.उपेन्द्र महतोलाई प्रमुख सुत्रको रुपमा प्रयोग गर्दै भवन भट्टसँग अलग्गै वार्ता गरे। उनीहरूको स्पष्ट सन्देश थियो, ‘दुई उपाध्यक्षबीच सहमति नबनेमा दुवै पराजित हुने अवस्था आउँदैछ। सहमति परिस्थितिले निम्त्याएको आवश्यकता हो।’

यही सन्देश उनीहरुले अध्यक्षका अर्का प्रत्यासी पन्तलाई पनि सुनाए। अन्ततः उनीहरुको प्रयासले सार्थकता पायो। दुई पक्षबीच सहमति बन्यो। पन्त उपाध्यक्षमा निरन्तरता दिन तयार देखिए, भट्ट अध्यक्षका प्रत्यासी हुने भए। भट्टको अन्तिम दिनसम्म घलेले क्याम्पमा पुग्ने खतरा मोलेर लामिछाने र डा. महतोले पन्त र उनीबीच सहमति गराइदिएका थिए।

बेलाबेलामा भट्टले सहमति तोडेर घले समूहमा जाने हुनकि भन्ने संशयका बीच ८ औं विश्व सम्मेलन सकिएको थियो। यसअघि घले समूहले भट्टलाई आफ्नो पक्षमा पार्न विभिन्न देशमा पटकपटक बैठक राख्ने प्रयास गरे पनि हेमजी गठबन्धनले भताभुङ्ग पारिदिन्थ्यो।

१३ अक्टोबरमा जमुना घलेले काठमाडौंको होटल -याडिसनबाट उम्मेदवारी घोषणा गर्दा धेरै एनआरएनहरू आश्चर्य मानिरहे पनि जीवा लामिछाने र डा.उपेन्द्र महतो स्वभाविक ठानिरहेका थिए। उनीहरूका लागि यो अपेक्षित थियो।

निर्वाचनको दिन १६ अक्टोवरका दिन आफ्नो मर्यादाभित्र रहेर संस्थापक अध्यक्ष डा. महतो र लामिछानेले निर्वाचनलाई नजिकबाट नियाली रहेका थिए।

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मतदानको दिन बिहानै घले दम्पतिलाई भेटेर लाप्राक, एनआरएन भवनलगायत घलेले सुरु गरेका परियोजनालाई बिग्रन नदिने ग्यारेन्टी गर्दै भट्टको नेतृत्वमा स्वीकार गरेर अगाडी बढ्न आग्रह गरेका थिए। सो आग्रहलाई घले दम्पतीले सिधैं अस्वीकार गरे। भट्ट समूहले जमुनाको समूहसँग निर्वाचनबाटै बदला लिने रणनीति लियो।

अघोषित रुपमा प्यानलनै निर्वाचनमा होमियो। आफ्नो प्यानल मतदाताले चिनियुन भनेर भट्ट समूहले रातो कार्ड वितरण गरेको थियो। त्यसमा अध्यक्षसहित एक सचिवसम्मको नाम राखेर बाडिएको थियो। रातो कार्डको नतिजा राति १ बज्न नपाउँदै आयो। जीवनका धेरै विन्दूमा भाग्यको साथ पाएका भट्टका पक्षमा फेरि पासा पल्टियो।

उनी दुई तिहाई मतले विजयी हुँदा अपहरणमा परेको हवाई जहाज सकुशल रोक्न सकिएको अनुभव गैरआवासीय नेपालीहरूले गरे। घलेलाई नेतृत्वमा ल्याउँदा लामिछाने र महतो बीचकोे तिक्तता उनकी श्रीमतीको उम्मेदवारी आएसँगै मेटाउन सफल भए। साथै उनीहरू एनआरएनमा किङमेकर मात्र सावित भएनन् हुकुमको एक्का आफ्नो ‘पकेट’मा राख्न सफल भए।
– रविन पौडेल, सेतोपाटी