१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्व सम्मेलनमा एनआरएनए युकेको सकृयता

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७४, आईतवार २२:३७

– रमेश सराङकोटी ।

हरेक दुई वर्षमा प्रवासी नेपालीहरु नेपालमा भेला हुन्छन् । नेपालको सम्बृद्धि र विकासका लागि बहस छलफल गर्छन र आफूलाई सुहाउँदो नेतृत्वको चयन गर्छन् । यिनै विषयमा केन्द्रीत हुँदै यसवर्ष पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा सम्पन्न भयो । एनआरएनए अभियानको एक थालनीकर्ता मुलुकको नाताले युकेमा भएका नेपालीहरु पनि एनआरएनए युकेमा आवद्ध हुँदै विश्व सम्मेलनमा भाग लिए । त्यतिमात्र होइन अरु देशका प्रतिनिधिले भन्दा पृथक रुपमा नेपालका विभिन्न नीति निर्माताहरुसित भेट गरी आफ्ना समस्या र अवस्था राख्न भ्याए ।
युके प्रतिनिधि भेला
यसवर्ष एनआरएनए विश्व सम्मेलनमा भाग लिनका लागि युकेवाट १४३ जना प्रतिनिधी तथा ६ जना एनआरएनए आइसीसी सदस्य गरि कुल १४९ जनको सहभागीता भएको थियो । सहभागीहरुको टुंगो लगाउनका लागि अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य जयप्रकाश गुरुङलाई संयोजक तोकिएको थियो । यसरी काठमाडौँ पुगेका प्रतिनिधिहरुलाई विश्व सम्मेलन शुरु हुनुअघि १३ अक्टोबरका दिन विशालबजारस्थित बाँक्वेटमा एक कार्यक्रम राखिएको थियो । अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको सो कार्यक्रममा युकेबाट अन्तर्राष्ट्रिय समितिका विभिन्न पदहरुमा उम्मेदवारी दिएका प्रतिनिधिहरुलाई आफ्ना भनाइ राख्न मञ्च दिइएको थियो । यसैगरी कार्यक्रममा आइपुगेका अन्य उम्मेदवारहरुलाई औपचारिक कार्यक्रमपश्चात आफ्ना भनाइ राख्ने अवसर दिइएको थियो । यो कार्यक्रमको उद्देश्य युकेबाट गएका प्रतिनिधिहरुलाई युकेका उम्मेदवारहरुलाई जिताउन पहल गर्नु रहेको थियो ।
उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुुखसित भेट
एनआरएन युकेले विश्व सम्मेलनको अवसर पारेर नेपाल पुगेको बखतलाई राज्यका विभिन्न महत्वपूर्ण ओहोदाका व्यक्तिहरुलाई युकेमा बस्ने नेपालीहरुको अवस्था र समस्यका बारेमा अगवत गरायो । यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीलाई भेटी ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा प्रवासी नेपालीहरुलाई सहज नागरिकता, गोरखाहरुको समस्यालगायतलाई उठाइएको थियो । उहाँहरु तीनै जनाले ज्ञापन पत्रका उठाइएका विषयलाई सम्बन्धित निकायसम्म पु¥याउने वचन दिएका थिए ।
ज्ञापन पत्रमा उठाइएको विषय यसप्रकार छन्ः
१.‘एकपटकको नेपाली सधैँको नेपाली’ हुने मूल मान्यतालाई आत्मसात गर्दै नेपाली नागरिकताबाहक नेपालीहरुको नागरिकताको निरन्तरता तथा उनीहरुको सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिक रहिरहने व्यवस्था गर्न सुनिश्चित गर्न माग गर्दछौँ ।
२.नेपाल बेलायतको सम्बन्ध सेतुका रुपमा रहेका गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन, घाइते, बेपत्ता, नामकटुवा र परिवारबाट विच्छेद गरिएका गोरखा र उनीहरुका परिवारलाई क्षतिपूर्तिका लागि सशक्त पहल गरिदिन ध्यानाकर्षण गराउँदछौँ ।
३. सेवा निवृत्त भएका बयोवृद्ध गोरखा सैनिकहरुले २८ दिनभन्दा बढी बेलायतबाहिर बसे उनीहरुले पाउँदै आएको भत्ता तथा सुविधाहरु रोकिने गरेको छ । नेपालको भौगोलिक स्थिति, यातायातको सीमित उपलब्धता, सामाजिक बनावट आदिका कारण सो समयावधि अपुग देखिन्छ तसर्थ सो समयावधि बढाउनको लागि बेलायत सरकारलाई अनुरोध गरिदिन हुन हार्दिक आग्रह गर्दछौँ ।
४. काठमाडौँ–लण्डन सीधा हवाई सम्पर्क नभएको हुँदा लण्डनबाट काठमाडौँ आउने नेपाली मात्र नभई धेरै पर्यटकहरु अन्य मार्गबाट आउनु परिरहेको छ । यसबाट यात्रुहरुलाई सास्ती हुनुका साथै विदेशी मुद्रा पनि अन्यत्र गइरहेको छ । त्यसैले नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सीधा काठमाडौँ–लण्डन सेवा भए नेपाललाई आर्थिक रुपमा फाइदा मात्र होइन हामी बेलायतबासी नेपालीको गौरव पनि बढ्ने थियो ।
५.बेलायतबाट वर्षेनी हजारौँको संख्यामा पर्यटकहरु नेपाल आउने गरेकोमा अझै धेरै पर्यटक नेपाल भित्र्याउन थप शसक्त बजार प्रबद्र्धन गर्न प्रचार सामग्री, टूर प्याकेजलगायतका बारेमा बेलायतका नेपालीलाई प्रशिक्षित गरी उनीहरुलाई पर्यटन प्रवद्र्धनका लागि प्रयोग गरियोस् ।
६. नेपाल सरकारबाट पहिचान गरिएका राष्ट्रिय गौरवका आयोजनाहरुमा बेलायतबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा रहेका नेपालीसरह लगानी गर्नसक्ने व्यवस्था गरिदिन र त्यस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउन अनुरोध गर्दछौँ ।
७. बेलायतमा रहेका नेपालीहरुले विभिन्न क्षेत्रमा आफ्नो दक्षता र विशेषज्ञता पनि हासिल गरेका छन् । त्यस्ता नेपालीहरुबाट सामूहिक र व्यक्तिगत रुपमा राज्यले लाभ उठाउन हामी ध्यानाकर्षण गराउँछौँ ।
कुलमान घिसिङलाई सम्मान
नेपालमा लामो समयसम्म लोडसेडिङ रह्यो जसका कारण आममानिस र उद्योगधन्दा, कलकारखानामा असाध्यै असर प¥यो । देशको अर्थतन्त्रमा धेरै असर पा-यो । मानिसहरुमा आँट, साहस नै हराउन लागेको थियो । अत्यावश्यक सेवाहरु प्रभावित बनिसकेको थियो । परिवारका आफन्तहरुबीचमा सम्पर्क गर्न नै असजिलो भइसकेको थियो । यस्तो अवस्थामा गत वर्षदेखि लोडसेडिङ हटेर आश्चर्यजनक रुपमा नेपालमा असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने सन्देश व्यापक भएर गएको छ । नेपालीहरु व्यवस्थापन गर्न सक्षम छन् भन्ने सकारात्मक सन्देश विश्वभरका नेपालीहरुमा गएको छ । यस कार्यका हिरो हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनलाई बेलायतबासी नेपालीका तर्फबाट एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले सम्मान गरेका थिए । यसका साथै उनको योजनामा एनआरएनए युके र युकेमा बस्ने नेपालीले कसरी सघाउन सक्छन् भन्ने बारेमा घिसिङसित छलफल भएको थियो ।
एनआरएन पत्रकारिता पुरस्कार वितरण
एनआरएनए युके र नेपाल पत्रकार महासंघ युकेले संयुक्तरुपमा स्थापना गरेको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई दुई वर्षमा हस्तान्तरण गर्ने गरिएको छ । यसवर्ष पनि विश्व सम्मेलनको अवसर पारेर समापनको दिन १७ अक्टोबरमा पत्रकारद्वय होम कार्की र नविन पोखरेललाई प्रदान गरियो । एनआरएन अध्यक्ष शेष घले र एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले पुरस्कृत पत्रकारहरुलाई पुरस्कार र खादा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले पुरस्कारका बारेमा जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्ष भवन भट्ट पनि सो अवसरमा उपस्थित थिए । कार्यक्रम सन्चालन कोषाध्यक्ष हिक्मत थापाले गरेका थिए ।
निस्कर्ष:
एनआरएनए युकेले यसपटकको सहभागितालाई विश्व सम्मेलनमा भाग लिने मतदान दिनेमा मात्र सीमित राखेन । सकेसम्म विभिन्न तप्का र तहलाई भेटी बेलायतका नेपालीहरुको अवस्था र समस्याका बारेमा जानकारी गरायो । साथै नेपालका विभिन्न क्षेत्रमा भइरहेका प्रगति र परिवर्तनका बारेमा जानकारी लिनसमेत भ्यायो । नेपाल ब्रिटेन चेम्बर अफ कमर्श तथा ईण्डष्ट्रीका अध्यक्ष श्री राजेन्द्र कुमार खेतान तथा विभिन्न निकायका वरिष्ठ ब्यक्तित्वहरुसंग अत्यन्तै उपलब्धीमुलक अनौपचारिक छलफल समेत भएको थियो । उता, एनआरएनको सचिवालयमा विभिन्न पदमा आकांक्षा देखाएका युकेका प्रतिनिधिहरु सबैको सपना साकार हुन नसके पनि युके खाली हात भने फर्कनु परेन । यसरी समग्रमा हेर्दा एनआरएनए युकेको विश्व सम्मेलनमा सहभागिता सफल मान्नुपर्दछ तथापि लाखौँ रुपियाँ खर्चिएर सहभागिता जनाइने यस्ता सम्मेलनका सहभागितालाई भविष्यमा अझ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा भने छलफल गर्नुपर्ने देखिन्छ ।