८ बैशाख २०८१, शनिबार
Follow Us

मतपत्र छपाईको प्रगतिबारे आयोगले आज सर्बोच्च अदालतलाई जवाफ दिने

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०६:५९

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइका विषयमा भएको प्रगतिका विषयमा आज सर्बोच्च अदालतलाई जवाफ पठाउदै छ । सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलग–अलग मतपत्र आवश्यक भएको भन्दै छपाईमा भएको प्रगतिवारे तीन दिनभित्र जवाफ पेश गर्न आयोगलाई पत्राचार गरेको थियो ।
आइतबार कानुनविद तथा सरोकारवालासंगको छलफलपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र फरक–फरक छाप्ने निर्णय गरेको आयोगले आज जवाफ पठाउन लागेको हो । आइतवारको निर्णय अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्र्तगत प्रत्यक्ष तर्फ अलग–अलग मतपत्र छपाईमा भएको प्रगति विवरण खुलाई सर्वोच्च अदालतमा आयोगले विवरण पठाउन लागेको हो । सर्वोच्चको आदेश अनुकुलको परिमार्जित बिषय समेट्दै सर्बोच्चलाई जवाफ पठाएर मतपत्र छपाईको काम सुरु गर्ने आयोगको तयारी छ ।
यसअघि आयोगले प्रत्यक्षतर्फ एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि मतदान गर्नु पर्ने गरी मतपत्र छाप्ने तयारी गरेको थियो । सर्बोच्चको आदेशपछि भने आयोगले त्यसमा परिवर्तन गर्दै छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको निर्णयपछि अब मतदाता शिक्षाका नयाँ सामाग्री तयार गर्नुपर्ने भएको छ । त्यसको लागि थप पचास करोड ब्ययभार पर्ने बताइएको छ ।