१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसको घोषणापत्र भोलि, माओवादी ‘अवसरवादी’, एमाले ‘एकता र समृद्धिको बाधक’

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १४:३२

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले केन्द्रीय तहमा घोषणापत्र तयार गरेको र मंगलबार (भोलि) सार्वजनिक गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
घोषणापत्रमा वर्तमान राजनीतिक परिदृष्य, त्यसले आगामी दिनमा पार्ने प्रभाव, आसन्न निर्वाचनपछि मुलुकलाई स्थिरता र विकासका मार्गमा लैजान कांग्रेसले अपनाउने नीति तथा कार्यक्रम समेटिएको छ ।
कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई ‘सत्तास्वार्थको संज्ञा’ दिँदै माओवादी केन्द्र अस्थीर राजनीतिक लाभ खोज्ने अवसरवादी भएको आरोप लगाएको छ । नेकपा एमाले ‘राष्ट्रिय एकता र समृद्धिको बाधक’ भएको किटानी कांग्रेसको छ ।
मधेस आन्दोलनलाई ‘विखन्डनको आन्दोलन’ भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको घोषणापत्रमा उल्लेख छ ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी एक दशकदेखि अस्थीर राजनीतिक समीकरण, सत्तास्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै गएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता एजेन्डा समेटेर घोषणापत्र तयार पारेको हो । मुलुकका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै चुनावी गठबन्धन बनाएपछि रक्षात्मक बनेको कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ल्याएको हो । ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने नाराका साथ कांग्रेस निर्वाचनमा होमिएको छ ।