१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिटौलाविरुद्ध लिङदेन उठ्ने, बाम गठबन्धनलाई सजिलो

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार १४:५०

झापा । लोकतान्त्रिक गठबन्धनको झापा क्षेत्र नं. ३ मा उम्मेदवार चयन समस्यामा परेको छ । कांग्रेसले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उठाउने निर्णय गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री राजेन्द्र लिङ्देनको उम्मेदवारी कायम रहेको जनाएको छ । राप्रपा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग समेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो । नेपाली काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि काँग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ ।
उपाध्यक्ष तामाङका अनुसार काँग्रेसले उक्त स्थानमा राप्रपालाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चुनावी प्रचारप्रसार भइसकेको अवस्थामा पार्टीले उम्मेदवार फिर्ता नगर्ने निर्णय गरेको हो । गठबन्धनमा सहभागी भई अन्य स्थानमा पूर्ववर्ती सहमतिअनुसार अगाडि बढ्ने र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरिएको छ । काँगे्रसले सो स्थानमा पार्टी नेता तथा कार्यकर्ताबाट पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाउन दबाब आएपछि उहाँको समानुपातिक सूचीमा रहेको नाम अघिल्लो दिन हटाएको थियो ।
लोकतान्त्रिक गठबन्धनबाट दुईजना उम्मेदवार बने बाम गठबन्धनको उम्मेदवारलाई चुनाव जित्न सजिलो हुने विश्लेषण गरिएको छ ।