१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुपोषित बालकलाई पोर्चुगलबाट सहयोग

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार ०६:४४

रोल्पा । रोल्पाका कुपोषित एकै परिवारका दुई बालकलाई पोर्चुगलमा रहेका नेपालीको एक संस्थाले पोषणका लागि आर्थिक सहयोग गरेको छ । पोर्चुगल बस्ने नेपालीहरुको संस्था हिमालयन एशोसिएसन कल्चरल नेपालले रोल्पा नगरपालिका वडा नं ४ बस्ने श्यामलाल सुनारका दुई छोराको पोषण सहयोगका लागि सो सहयोग हस्तान्तरण गरेको हो ।

गत वैशाखमा भएको पोषण सप्ताहकै बेला राष्ट्रिय समाचार समितिबाट संप्रेषण गरिएको कुपोषणबाट पीडित बालकको समाचार विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन भएको थियो । अनलाइन र अन्य पत्रपत्रिकामा आएको समाचारका आधारमा पोर्चुगलमा रहेका नेपालीले ती बालकलाई सहयोग गर्ने निर्णय गरेको हिमालय एशोसिएसन कल्चरल नेपालका अध्यक्ष रमेशराज बाँस्तोलाले जानकारी दिनुभयो ।

पोर्चुगलका नागरिक र पोर्चुगलमा बस्ने नेपालीबाट पहिलो चरणमा ५०० युरो जम्मा भएकाले पीडित परिवारको घरको स्थलगत अवलोकन गरी सहयोग हस्तान्तरण गरिएको बाँस्तोलाले बताउनुभयो ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी र रोल्पा नगरपालिका वडा नं ४ का वडा सदस्य दिलमाया विकलाई सो सहयोग रकम संयुक्तरुपमा हस्तान्तरण गरिएको थियो ।

हाल पोषण सुधारका लागि दिएको सहयोग राशि रु ६१ हजार ५० रहेको छ । बालकको पोषण सुधारका लागि हरेक महिना रु पाँच हजारका दरले सो रकम खर्च गरिने बताइएको छ । पहिलो चरणमा उपलब्ध गराइएको सो रकम सदुपयोग गरे दोस्रो चरणमा थप सहयोग गरिने हिमालयन एशोसिएसन कल्चरल नेपालका अध्यक्ष बाँस्तोलाले जानकारी दिनुभयो ।

रोल्पा सदरमुकाम लिवाङका श्यामलाल विकका दुई वर्षे छोरा विवेक विक र तीन वर्षे छोरा विकास विक कुपोषित भएको लामो समय भइसकेको छ । बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर सुतिरहन्छन् । ओछ्यानमै दिसापिसाब गर्छन् । भोक प्यास लागे पनि उनलाई खान दिने न कोही हुन्छ, न त खाने कुरा नै ।

चालीस वर्ष उमेर पुगिसकेका श्यामलालले चार वर्षअघि मिझिङ रोल्पाकी अप्सरा कामीसँग विवाह गरेका थिए । सुनार दम्पतीबाट दुई छोरा विवेक र विकासको जन्म भएको हो ।

वर्षौंटे दुई छोरा जन्माए पनि आर्थिक समस्याका कारण उनीहरुले राम्रोसँग स्याहार गर्न सकेनन् । जसका कारण दुवै छोरालाई कुपोषण भयो । विभिन्न निकायको सहयोगमा कुपोषित छोराहरुलाई शिशु स्याहार केन्द्र दाङमा भर्ना गरिएको थियो ।

पोषण पुर्नस्थापना केन्द्रमा दुई महिना बसेका उनीहरुको स्वास्थ्यमा केही सुधार आएपछि दुई छोरासहित श्यामलाल घर फिर्ता भएका थिए । छोराहरु घरमा ल्याउँदा श्रीमती भने घरमा थिइनन् ।

श्रीमतीको बारेमा लामो समयसम्म खोजी गरे । कसैले काठमाडौँ इँटाभट्टा गएको भनिदिए भने कसैले पोइल गई भने तर म भने छोराको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहँ, तर नौ महिना बितिसक्दासमेत श्रीमतीको अत्तोपत्तो नभएको विकले दुखेसो पोखे ।

छोरालाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने । घरमा कोही छैनन् । काममा जाँदा छोराको स्याहार गर्ने मान्छे हुँदैन । छोराको स्याहार गर्न घरमा बस्दा भोकभोकै बस्नु पर्छ, सुनारले गम्भीर हुँदै भने ।

हिमालय कल्चरल एशोसिएसन पोर्चुगलले पछिल्लोपटक गरेको सहयोगले छोराको स्वास्थ्य सुधार हुनेमा आफू आशावादी रहेको विकले बताए । कान्छो छोराको स्वास्थ्य अवस्था निकै कमजोर रहेकाले उपचारमा समेत सहयोग गर्न दाताहरुसँग आग्रह गरेका छन् ।

हस्तान्तरित सहयोग बुझ्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले गरिब विपन्न परिवारमा अझै पनि कुपोषण मुख्य समस्याका रुपमा देखिएको बताउनुभयो । खाद्य असुरक्षाका कारण कुपोषण बढिरहेको औँल्याउँदै स्थानीय सरकारले दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको पोषण भत्ता सदुपयोग हुनसके धेरै समस्या हल हुने विचार व्यक्त गर्नुभयो ।

जिल्लाका सञ्चार माध्यमले सदरमुकाममै रहेका दलित बालबालिकामा देखिएको कुपोषणलाई समाचार बनाएकाले सहयोग सम्भव भएको पत्रकार तथा मानव अधिकारकर्मी खेम बुढाले बताउनुभयो ।
उमा केसी