१२ बैशाख २०८१, बुधबार
Follow Us

मेची अञ्चलमा कांग्रेस एक्लो, लिङ्देन हिरो

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ०६:१७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले झापा क्षेत्र नं. ३ बाट प्रत्यक्ष उम्मेदवार बन्ने अडान लिएपछि लोकतान्त्रिक गठबन्धनको सहयात्री राष्ट्रिय प्रजातन्त्र पार्टी मेची अञ्चलमा अलग भएको छ । झापा क्षेत्र नं. ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त क्षेत्रमा राप्रपालाई कांगे्रसले पूर्व महामन्त्री कृष्ण सिटौलालाई उठाउने भएपछि समीकरण परिवर्तन भएको हो ।
वाम गठबन्धनले राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने औचारिक निर्णय आज दिउँसो सार्वजनिक हुँदैछ । मेची अञ्चलभरि नै राप्रपाले वाम गठबन्धनलाई सहयोग गर्नेछ भने वाम गठबन्धनले झापा क्षेत्र नं. ३ मा लिङदेनलाई सहयोग गर्नेछ ।

सिटौलाको पराजय निश्चित
यदि मेची अञ्चलमा कांग्रेसलाई राप्रपाले समर्थन गरेन भने झापा क्षेत्र नं. ३ मा कृष्ण सिटौला पराजित हुने निश्चित छ, त्यत्ति मात्र होइन, मेची अञ्चलबाटै बढारिने छ । झापा–३ मा भद्रपुर नगरपालिकाको १ देखि ८ वटा वडा, हल्दिबारी, केचनाकवल, बारदशी गाउँपालिका र विर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्छ । भद्रपुर नगरपालिका एमालेले जितेको हो भने, केचना कवल र हल्दिबारी राप्रपाले जितेको छ । बारदर्शी कांग्रेसले जितेको हो भने विर्तामोड–१० मा कांगे्रसले ७ मतको अन्तरले जितेको छ ।
स्थानीय तह निर्वाचमा एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन् ।