७ बैशाख २०८१, शुक्रबार
Follow Us

बढी मूल्य लिई ठगी गर्ने व्यापारी पक्राउ

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ०८:२८

कार्तिक १५, २०७४-लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ‘फरार’ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजेदेखि ९ बजे भित्रमा दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्पर्कबिहीन भएका थिए । व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका थिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो । विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो । विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।
ती फाइलका आधारमा परिसरले पुन: अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका थिए ।

भदौ २१ गते दरबारमा पुन: अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।

प्रकाशित: कार्तिक १५, २०७४

– कान्तिपुर ›समाचार ›बाट।