६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसङ्घको बन्दसत्र अनिश्चित

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार १०:५५

काठमाडौं- नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण एक दिन पछाडि आज अपराह्न २ बजेका लागि निर्धारित नेविसङ्घको बन्दसत्र विवाद टुङ्गिएको छैन ।
सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि अझै बन्द सत्रको टुङ्गो नलाग्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने नहुनेमा अन्योलमा छन् ।

आज दिनभरिमा प्रतिनिधि विवादको टुङ्गो लाग्नेगरी काम भइरहेको सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समिति सदस्य किशोरसिंह राठौरले जानकारी दिनुभयो । प्रतिनिधिको विवाद मिलेपछि सम्भवतः आजै बन्द सत्र सुरु हुन सक्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि विवादका कारण आज बिहानदेखि गर्ने भनिएको कार्ड वितरण पनि प्रभावित भएको र प्रतिनिधिको विवाद नमिलेसम्म बन्द सत्र हुन नसक्ने नेविसङ्घ कार्यालयका मुख्य सचिव शिव रिमालले जानकारी दिनुभयो । रिमालले आज बन्द सत्र हुने सम्भावना न्यून रहेको बताउनुभयो ।

समयमै बन्द सत्र हुनुपर्ने माग गर्दै अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा विद्यार्थीहरु नाराबाजी गरिरहेका छन् । यसअघि २०६४ सालमा चितवनमा भएको सङ्घको १०औँ महाधिवेशन पनि प्रतिनिधि विवादका कारण लम्बिएर एक सातामा निर्वाचन भएको थियो ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको हो । करिब तीन हजार ४०० महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसङ्घमा ११ जिल्लाका प्रतिनिधिको अझै टुङ्गो लागेको छैन ।