७ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेशवादी दलको गठबन्धनले कांग्रेस समस्यामा, अम्रेश माओवादीको टिकटबाट चुनाव लड्ने

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार १०:४५

काठमाडौं– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा चुनावी गठबन्धन गरेपछि नेपाली कांग्रेस समस्यामा परेको छ । विशेष गरी तराईबाट प्रतिनिधित्व गर्ने कांगे्रस शीर्ष नेताहरुलाई हराउने अभियानमा मधेश केन्द्रित दलहरुको गठबन्धन लागेको विश्लेषण गरिएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधिको चुनाव क्षेत्रमा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी दिने भएका छन् । धनुषा–३ मा कांग्रेस नेता निधिले उम्मेदवारी दिने तयारी गरेका थिए । उक्त क्षेत्रबाट राजपा नेता महतोले पनि उम्मेदवारी दिने भएपछि उनलाई मिलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो मंगलबार बालुवाटारमा बोलाएका थिए । धनुषा–३ बाट आफूले उम्मेदवारी हटाउने हो भने सर्लाही–४ मा कांग्रेसले उम्मेदवारी दिन नहुने सर्त राखेका थिए । यद्यपि महतोको यो सर्त कांग्रेसले स्वीकार गरिसकेको छैन ।
सर्लाही–४ बाट कांगे्रसले अम्रेशकुमार सिंहको उम्मेदवारी तयारी गरिरहेका थिए । आफ्नो उम्मेदवारी पार्टीले फिर्ता गराउने सुइको पाएका सिंहले कांग्रेस नै त्यागेर माओवादीबाट चुनाव लड्ने तयारी गरेको बुझिएको छ । बुधबार दिनभरि उनी आफ्ना सम्पर्क सूत्रमार्फत माओवादीसँग वार्तामा जुटेका छन् । यदि कांग्रेसले सर्लाह–४ बाट सिंहको टिकट खोस्यो भने उनी माओवादीको टिकटमा उक्त क्षेत्रबाट चुनाव लड्ने चर्चाले यतिबेला नेपाली राजनीति ताँतेको छ ।