८ बैशाख २०८१, शनिबार
Follow Us

रत्ननगरका बाढी प्रभावितलाई जर्मनीबाट सहयोग

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार ११:०५

रत्ननगर । चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट रु चार लाख ४० हजार सहयोग भएको छ । रत्ननगर नगरपालिका–८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो । गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो ।

विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिनुभयो ।

नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई खुशी लागेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । जर्मनीका प्राध्यापक डा दाउसको नेतृत्वमा स्थापना भएको अफ्रिका–लुज द–इचलान नामक संस्थाले अफ्रिका र नेपालमा निःशुल्क आँखा शिविर र आँखाको शल्यक्रियासमेत गर्दै आएको छ ।

नेपालमा ग्रिन सोसाइटी सौराहाको विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उक्त संस्थाले यसअघि भूकम्पपीडितलाई समेत सहयोग गरेको उपाध्यक्ष बेर्नाले जानकारी दिनुभयो । उक्त संस्थाकी व्यवस्थापक इसावेल हाउसटाइनले यो सहयोगले बाढी प्रभावितलाई केही भने पनि राहत मिल्ने उल्लेख गर्नुभयो । उनीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर आज सहयोग हस्तान्तरण गरेका थिए । साउन २८ गते आएको बाढीले चितवनका सौराहा क्षेत्र बढी प्रभावित बनाएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष विनोद बस्नेतले विदेशबाट आएर राहत सहयोग गर्नु महत्वपूर्ण कुरा भएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गनुृभयो ।