१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चुनावी मैदानमा कांग्रेस एक्लै भिड्दै

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७४, बुधबार १२:०५

काठमाडौं । लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच आपसी सहमतिको सम्भावना क्षिण हुँदै गएपछि सत्तारुढ नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक्लै विरोधीहरुसँग भिड्ने भएको छ । सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले विपक्षी दल एमाले गठबन्धनसँग सहकार्यको प्रयास गरेपछि सत्तारुढ कांग्रेसले राप्रपासँग तालमेलमा पुर्नविचार गर्न लागेको हो।
खासगरी झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव लड्ने निर्णय गरेपछि कांग्रेस र राप्रपाबीच तालमेलको विषयमा खटपट उत्पन्न भएको हो।
झापा-३ मा कांग्रेसको सहयोगमा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन उठ्न चाहे पनि सिटौलाको निर्णयले अप्ठ्यारोमा परेको राप्रपालाई विपक्षी वामगठबन्धनले सघाउने र मकवानपुरमा पनि राप्रपा अध्यक्ष थापाविरुद्ध उम्मेदवारी नदिएर सघाउने रणनीति अपनाएको थियो । एमाले नेतृत्वको गठबन्धनको रणनीति अनुसार थापाले पनि मकवानपुर २ मा वामगठबन्धनलाई सघाउने जानकारी कांग्रेस नेतृत्वले पाएपछि कांग्रेसभित्र राप्रपालाई गठबन्धनबाट अलग गर्न दबाब बढेको हो।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा सिट बाँडफाँटमा लचकता नदेखाएपछि यी दुई दलसँग पनि कांग्रेसको चुनावी तालमेलको सम्भावना लगभग समाप्त भएको छ ।
कांग्रेसले अझै पनि मिलेसम्म राप्रपा, फोरम नेपाल र राजपासँग तालमेलको विषयमा छलफल जारी राख्ने बताएको छ । तर सहमतिको सम्भावना भने न्यून बन्दै गएको राजनीतिक परिदृश्यले देखाएको छ । यदि यी तीन दलसँग चुनावी तालमेल हुन नसकेको खण्डमा कांग्रेसले पशुपति शम्शेर जबराको राप्रपा प्रजातान्त्रिकसँग केही स्थान र बाबुराम भट्टराईसँग गोरखामा मात्रै तालमेल गरी चुनावमा जानु पर्नेछ ।