१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्र्रदेश २ मा अझै उम्मेद्वारको टुंगो लागेन

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०३:२४

कार्तिक १६, २०७४-प्रदेश २ मा प्रमुख प्रतिस्पर्धी दलले अन्तिम घडीसम्म अधिकांश उम्मेदवार तय गर्न सकेका छैनन् । एउटा दलको उम्मेदवार हेरेर अर्काले तय गर्ने हानथाप, आन्तरिक झमेला र तालमेलमा कतिपय सिट छाड्नेलगायत नेता व्यवस्थापनको सकसले बुधबार रातिसम्म पार्टीहरू अनिर्णीत छन् ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार मनोनयन दर्ता गर्नुपर्नेछ । अन्य प्रदेशका धेरै सिटमा प्रमुख दलले पहिल्यै उम्मेदवार तय गरी प्रचारप्रसारमा उतारिसकेका छन् । प्रदेश २ को चुनावी माहोल जति प्रतिस्पर्धात्मक छ, उम्मेदवार छनोटमा उत्तिकै घमासान देखिन्छ ।

कतिपय क्षेत्रमा ठूला नेताविरुद्धै बागीको धम्की आएकाले दलहरूले पुनर्विचार गर्नुपर्ने अवस्था छ । कतिपयलाई थामथुम पार्दैमा समय बितेको छ । राजपाका एक शीर्ष नेताले बिहीबार साँझ कान्तिपुरसँग भने, ‘टिकट नपाउनेलाई व्यवस्थापन गर्नु अहिलेको सबैभन्दा चुनौती भएको छ । आकांक्षी बढेका छन्, तालमेल सिट खर्लप्पै घटेका छन् । उम्मेदवार छान्नु फलामको च्युरा चपाउनुसरह भएको छ ।’

स्थानीय तह निर्वाचनमा प्रदेश २ मा एमाले, संघीय फोरम, राजपा एक्लाएक्लै लडेका थिए । कांग्रेस र माओवादीको केही ठाउँमा तालमेल भएको थियो । अहिले तालमेल बदलिएको छ । मधेसमा कांग्रेस परम्परागत शक्ति मानिन्छ । अघिल्ला संविधानसभा र गत स्थानीय चुनावको परिणामलाई हेर्दा संघीय फोरम र राजपा त्यसलाई धक्का दिन सक्ने उदीयमान दल सावित भएका छन् । यी दुई दलबीच दह्रो तालमेलसमेत भएको छ । वाम गठबन्धनबाट हौसिएका एमाले–माओवादी केन्द्र अवस्था सुधार्न सक्ने आकलनमा छन् । त्यो लाभ लिन हरेक दलले उम्मेदवारी चयनमै विवेक पुर्‍याउनुपर्ने स्थानीय बुद्धिजीवीको धारणा छ ।

सम्बद्ध नेताहरूका अनुसार कांग्रेस–फोरम–राजपा तालमेलका लागि बुधबार अबेलासम्म पहल जारी रह्यो । तर, धनुषा ३ कांग्रेस नेता विमलेन्द्र निधिको क्षेत्रमा राजपा अध्यक्षमण्डलका राजेन्द्र महतोले उम्मेदवारी दिने निर्णय लिएका छन् । स्रोतका अनुसार महतोको क्षेत्र सर्लाही ४ कांग्रेसका अमरेश सिंहले नछाडेपछि झ्वाँकमा उनी कांग्रेसका निधिको क्षेत्रमा आएका हुन् । यसले मेलमिलापभन्दा टक्करको अवस्था बढाएको छ ।

सिरहामा कांग्रेस र एमालेले उम्मेदवार टुंग्याउन सकेका छैनन् । आकांक्षीबीच सहमति हुन नसक्दा ती दललाई उम्मेदवार चयनमा सकस परेको छ ।

वाम गठबन्धन घटक माओवादी केन्द्रले सिरहाका ४ क्षेत्रमध्ये आफ्नो भागमा परेका २ प्रतिनिधिसभा र ३ प्रदेशसभाका उम्मेदवारको नाम टुंगो लगाइसकेको छ । दुई प्रतिनिधिसभा र ५ प्रदेशसभा सिट पाएको वाम गठबन्धनको अर्को दल एमालेले उम्मेदवारका आकांक्षी व्यवस्थापनमा ढिलाइका कारण बुधबार राति अबेरसम्म टुंगो लगाउन सकेको छैन ।

एमाले केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले उम्मेदवार चयनका लागि बैठक चलिरहेको जानकारी दिए । सम्भवत: बुधबार राति नै उम्मेदवार टुंगो लाग्ने उनले बताए । उता, कांग्रेसले राजपा र फोरमसँग तालमेलका लागि प्रयास जारी राखेकाले उम्मेदवार टुंगो लगाउन सकेको छैन । ‘उम्मेदवार चयनका लागि बैठक जारी छ,’ कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले भने, ‘राजपा फोरमसँग तालमेल भएपछि उम्मेदवार टुंगो लाग्छ ।’

राजपा र फोरम गठबन्धनले भने सिरहामा उम्मेदवारको टुंगो लगाइसकेका छन् । गठबन्धनअनुसार प्रतिनिधिसभाका लागि सिरहाको ३ वटा क्षेत्र फोरम र १ क्षेत्र राजपाले पाएको छ । त्यसैगरी प्रदेशसभामा फोरम ६ र राजपाले २ सिट बाँडफाँड गरेका छन् ।

फोरमको भागमा परेको सिरहा १ मा प्रतिनिधिसभाका लागि राजलाल यादव, प्रदेशसभाका लागि वैधनाथ साह, राजकुमार गुप्ता, क्षेत्र नम्बर २ मा शत्रुघनसिंह कोइरी र प्रदेशसभामा विजयकुमार यादव र निर्मला यादव, क्षेत्र नम्बर ३ मा अशेश्वर यादव र प्रदेशमा मनोजकुमार सिंह र मनोरन्जन गोइत उम्मेदवार छन् ।

फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले उम्मेदवारको टुंगो लागे पनि कांग्रेससँग तालमेल प्रयास भइरहेकाले उम्मेदवार हेरफेर हुन सक्ने बताए । राजपाले सिरहा ४ बाट राजकिशोर यादव र प्रदेशसभा ‘ख’ बाट सुरेश मण्डललाई उम्मेदवार टुंगो लगाएको छ ।

राजपाका सहमहामन्त्री सुरेश मण्डलले प्रदेशको एउटा क्षेत्रमा आकांक्षीबीच सहमति नहुँदा उम्मेदवार चयन हुन नसकेको जानकारी दिए । उनले उम्मेदवार चयनका लागि छलफल चलिरहेको जनाए ।

माओवादी केन्द्रका प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले वाम गठबन्धनअनुसार आफ्नो पार्टीले पाएको सिटमा उम्मेदवार चयन भइसकेको जानकारी दिए । सिरहा २ को प्रतिनिधिसभामा सुरेशचन्द्र दास यादव र ४ मा अजयशंकर नायक उम्मेदवार छन् । दास कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरेका थिए । उनी २०४८ र ०५१ को आमनिर्वाचनमा सिरहा ३ मा कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । दास पूर्वस्वास्थ्य सहायकमन्त्री समेत भएका थिए ।

त्यसैगरी प्रदेशसभातर्फ केन्द्रले क्षेत्र नम्बर २ को क–मा जीवछ यादव, ३ क–मा रामकुमार यादव र ४ क–मा दिलीप साहको नाम टुंगो लगाएको छ ।

बारामा वाम गठबन्धनले टुंग्यायो

४ संघीय र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बारामा वाम गठबन्धनले उम्मेदवार टुंगो लगाइसकेको छ । कतिपय दलका सम्भावित उम्मेदवार भने राजधानीमै शक्तिकेन्द्र धाउने क्रममै छन् । जिल्ला फर्केका छैनन् ।

वाम गठबन्धनमा माओवादी केन्द्रले पाएको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभासद शिवचन्द्र कुसवाहालाई टिकट दिने निर्णय भएको पार्टी जिल्ला संयोजक गोपाल ठाकुरले बताए । पहिलो संविधानसभामा निर्वाचित कुसवाहालाई दोस्रो संविधानसभामा पार्टीले टिकट नदिएपछि उनी रातारात पार्टी परिवर्तन गरी तत्कालीन सद्भावना पार्टीको महामन्त्री जिम्मेवारी पाएर तिनै पार्टीबाट चुनाव लडेका थिए । तर जित्न सकेनन् । अहिले फेरि माओवादी प्रवेश गरेका कुसवाहालाई टिकट दिएपछि त्यस क्षेत्रमा दोस्रो संविधानसभामामा उठेका पार्टीका नेता रामबाबु यादव पक्षधर टिकटको उक्त निर्णयविरुद्ध खुलेआम विरोधमा छ ।

कांग्रेसले क्षेत्र नम्बर ३ मा बहालवाला श्रममन्त्री फरमुल्लाह मन्सुरलाई उठाउँदैछ । अन्य क्षेत्रको टुंगो लागेको छैन । एमालेले पाएको ३ वटा निर्वाचन क्षेत्रमा क्षेत्र नम्बर १ मा अच्युत मैनाली, ३ मा अध्यानन्द पाण्डे र ४

मा देवनारायण चौधरीले टिकट पाएका छन् ।

कांग्रेसले मधेसवादी दलसित तालमेलको पहल गरिरहेकाले उम्मेदवारको टुंगो लाग्न नसकेको पार्टीका जिल्ला सचिव मनोज भट्टले बताए । ‘बिहीबार बिहानसम्म टुंगो लाग्छ,’ उनले भने । कतिपय ठूला पार्टीहरूमा सम्भावित उम्मेदवारको नाम चर्चामा आउँदा र टिकटका लागि पहँ‘चवालाहरू दौडधुप गर्न थालेपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि बढेको छ । राजपा र संघीय समाजवादी फोरममा तालमेल भए पनि उम्मेदवार टुंगिएको छैन ।

महोत्तरीमा अनुमान मात्रै

महोत्तरीमा उम्मेदवारको नाम अनुमान र हल्लामा सीमित छ । यसको कारण हो– दलका अगुवा नेता र कार्यकर्ता कोही जिल्लामा छैनन् । स्रोतका अनुसार अहिले राजधानीमा उम्मेदवार टुंगो लगाउने अन्तिम कसरत भइरहेकाले उनीहरू त्यतै अलमलमा छन् ।

अधिकांश नेताले फोन बन्द गर्ने, फोन लागिहाले पनि स्पष्ट जवाफ नदिने र टार्न खोज्ने गरिरहेका छन् । सदरमुकामसमेत रहेको ३ नम्बरबाट राजपा संयोजक महन्थ ठाकुर र २ नम्बरबाट सोही पार्टीका अध्यक्षमण्डलका शरतसिंह भण्डारीले टिकट पाउने चर्चा व्याप्त छ । त्यस्तै, टिकट नपाए यसअघिका ४ नं. क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद चन्देश्वर झाले स्वतन्त्रबाटै र कांग्रेसकी पूर्वसभासद किरण यादवले वाम गठबन्धनबाट टिकट लिएर टक्कर दिने हल्लाले पनि चासो र चर्चा पाएको छ ।
काठमाडौं रहेका महोत्तरी कांग्रेस सभापति महेन्द्रकुमार यादवले मात्र यति भने, ‘को कहाँबाट लड्ने हो, अझै स्पष्ट भइसकेको छैन । मध्यरातपछि मात्र तय हुने सम्भावना छ ।’

वाम गठबन्धनबाट क्षेत्र नं. १, २ र ४ माअ‍ोवादी केन्द्र तथा ३ नं. एमालेको भागमा परेको छ । माओवादी केन्द्रका महोत्तरी संयोजक राजु खडकाका अनुसार वाम गठबन्धनले एक नम्बरबाट गिरिराजमणि पोखरेल, ३ बाट महम्मद रजिहैदरको टिकट निश्चित छ । २ नम्बरको तय भएको छैन । एमाले युवासंघ नेपालकी केन्द्रीय सचिव मञ्जु यादवले वाम घटकले प्रतिनिधिसभा सदस्यको २ नम्बरमा कांग्रेसबाट कोही बागी आए उसलाई दिने सम्भावना रहेको खुलासा गरिन् । ‘त्यसैले अहिलेसम्म खाली राखिएको छ,’ उनले भनिन् ।

रौतहटमा बैठकै टुंगिएन

रौतहटमा मुख्य दलले उम्मेदवार चयन गर्न सकेका छैनन् । बुधबार राति एमाले, कांग्रेस, मधेसवादी दल तथा माओवादी पार्टी छुट्टाछुट्टै बैठक बसेर टुंग्याउने प्रयासमा छन् । संघीय फोरमले भने केन्द्र र प्रदेशको उम्मेदवारको टुंगो लगाएको संयोजक धर्मेन्द्र पटेलले बताए । ‘राजपासित गठबन्धन गरी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ,’ उनले भने, ‘क्षेत्र नम्बर १, ३ र ४ राजपालाई र २ नम्बरमा संघीय समाजवादीका किरण साहलाई उम्मेदवारी बनाइएको छ ।’

यता, एमाले, कांग्रेस र माओवादी केन्द्रले एउटा पनि क्षेत्रको (केन्द्र र प्रदेश) उम्मेदवार तय गर्न सकेका छैनन् । एमाले रौतहटका पूर्वसांसद रामकुमार भट्टराईले माओवादी केन्द्रसितको गठबन्धनकै कारण उम्मेदवार टुंगो लगाउन ढिला भएको बताए । ‘पार्टीको बैठक जारी छ,’ उनले भने, ‘बुधबार रातिसम्म टुंगिन्छ ।’ राजपाले पनि गठबन्धनकै बाटो हेरिरहेको छ । केन्द्रीय कमिटीले कांग्रेस वा संघीय समाजवादी कोसित गठबन्धन गर्ने भन्ने विषयमा टुंगो लगाउन नसक्दा उम्मेदवार चयनमा ढिला भएको जनाइएको छ । राजपाका रौतहट सहमहासचिव अनिल सिंहले उम्मेदवार टुंगो लगाउन नसक्दा कार्यकर्तामा निराशा छाएको बताए । ‘गठबन्धनकै कारण ढिला भएको हो,’ उनले भने, ‘रातिसम्म टुंगो लाग्छ ।’

कांग्रेसले पनि मधेसवादी दलसित गठबन्धनमा जोड दिएका कारण उम्मेदवार चयन गर्न सकेको छैन । जारी बैठकले राति नै उम्मेदवार टुंगो लगाउने जिल्ला अध्यक्ष कृष्ण यादवले बताए ।

धनुषामा गर्मागर्मी

माओवादी केन्द्रले धनुषा १ बाट मातृकाप्रसाद यादव, २ बाट रामचन्द्र झा तथा ३ बाट रामसिंह यादवलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको नेता रामचन्द्र झाले जानकारी दिए । राजपा र संघीय समाजवादी फोरमबीचको सहमतिअनुसार फोरमले धनुषा १ बाट दीपक कार्की, २ बाट उमाशंकर अरगरिया तथा ४ बाट महाजन यादवलाई उठाउने भएको छ । कांग्रेसले धनुषा ३ बाट पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबाहेक अन्य उम्मेदवारको नामावली सार्वजनिक गरेको छैन ।

राजपाले धनुषा ३ बाट अध्यक्षमण्डलका राजेन्द्र महतोलाई उम्मेदवार बनाउँदैछ । एमालेको भागमा परेको क्षेत्र नम्बर ४ लगायत अन्यमा तय भएको छैन ।

सर्लाहीमा टुंगिँदै

वाम गठबन्धन र मधेस केन्द्रित दलको गठबन्धनले सर्लाहीमा उम्मेदवार करिब पक्कापक्की गरेका छन् । चार क्षेत्र रहेको सर्लाहीमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रले तीन र एमालेले एक सिट बाँडफाँड गरेका छन् । क्षेत्र नम्बर १ एमालेको भागमा परे पनि हालसम्म उम्मेदवार को हुने अन्योल कायम छ ।

माओवादीको भागमा परेको क्षेत्र नम्बर २ मा दिनेश राय, ३ मा रामेश्वर राय र ४ मा शिवपुजन रायलाई उम्मेदवार तय गरेको छ । संघीय फोरम र राजपाको गठबन्धनले १ बाट प्रमोद साह, २ मा महेन्द्र राय यादव, ३ मा अशोक सिंह कोइरी र ४ मा राकेश मिश्रलाई उम्मेदवार बनाउने पार्टी स्रोतले जनाएको छ । कांग्रेसले १ मा शम्भुलाल श्रेष्ठ, २ मा जंगिलाल रायको टुंगो लागे पनि ३ नम्बर क्षेत्रको अझै टुंगो लागेको छैन । ४ मा अमरेशकुमार सिंहले टिकट पाएका छन् । कांग्रेस स्रोतका अनुसार लोकतान्त्रिक गठबन्धनअन्तर्गत मधेसी दलसँग अझै तालमेल प्रयास जारी छ ।

पर्सामा तय

पर्साका ४ वटै क्षेत्रबाट चुनाव लड्ने उम्मेदवार करिब पक्का भएको छ । वाम गठबन्धन र मधेस केन्द्रित दलको गठबन्धनले आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् । वाम गठबन्धनबाट क्षेत्र नम्बर १ र ३ एमालेको भागमा परेको छ भने २ र ४ माओवादी केन्द्रले पाएको छ । एमालेले १ बाट निवर्तमान सांसद विचारी यादव र ३ बाट निवर्तमान सांसद राजकुमारलाई टिकट दिने घोषणा गरेको छ । यसैगरी मधेसी गठबन्धनबाट क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बन्ने पक्का भएको छ । २ बाट नवप्रवेशी विमल श्रीवास्तवले फोरमबाट टिकट पाएका छन् । ३ बाट पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र ४ बाट राजपाका वरिष्ठ नेता तथा निवर्तमान सांसद लक्ष्मणलाल कर्ण चुनावी मैदानमा उत्रिने पार्टी स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको क्षेत्र नम्बर ४ बाट सचिवालय सदस्य उर्मिला अर्याललाई टिकट दिएको छ । सत्तारूढ कांग्रेसले १ मा युवा उद्योगी अनिल रुंगटा, २ मा केन्द्रीय सदस्य अजय चौरसिया, ३ बाट सुरेन्द्र चौधरी र ४ बाट अर्का केन्द्रीय सदस्य रमेश रिजाललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

निधि–महतो टक्कर

धनुषा ३ बाट उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता विमलेन्द्र निधिलाई टक्कर दिन राजपाले अध्यक्षमण्डलका राजेन्द्र महतोलाई मैदानमा उतार्ने निर्णय गरेको छ । यता वाम गठबन्धनले स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवलाई यसै क्षेत्रबाट उम्मेदवार बनाएको छ । यसअघि वाम गठबन्धनले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सांगठनिक दृष्टिले नेपाली कांग्रेस बलियो रहे पनि जनकपुर नगर क्षेत्र समाहित धनुषा ३ बाट हालै सम्पन्न स्थानीय तह निर्वाचनमा राजपाले मेयर/उपमेयरसहित अधिकांश वडा जित्न सफल भएको थियो । यसअघि सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचनमा पनि मधेस केन्द्रित दलसँग सम्बद्ध सञ्जयकुमार साह सभासद भएका थिए । राजपा आफ्नो मधेसवादी दलको पुरानो परम्परालाई कायम राख्न महतोलाई मैदानमा उतारेको छ ।

धनुषाबाट लगातार तीन पटक सांसद भएका निधिको गृहगाउँ नगराइन नगरपालिका, मुखियापटी मुसरनिया, औरहीलगायत क्षेत्रमा आफ्नो जनाधार बलियो रहेको उल्लेख गर्दै कांग्रेस नेताहरूले निधिको जित हुने आकलन गरिरहेका छन् ।

सप्तरीमा चुलियो असन्तुष्टि

२ नम्बर प्रदेशमा संघीय फोरम र राजपाबीच भएको सिटको तालमेलप्रति सप्तरीमा जिल्ला स्तरका कार्यकर्ताको असन्तुष्टि चुलिएको छ । असन्तुष्टिका कारण दुवै पार्टीका केही नेता स्वतन्त्र उम्मेदवार बन्ने तयारी गरेका छन् भने केहीले उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।

विगतमा सुनसरी र मोरङबाट चुनाव लडदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटक सप्तरी २ लाई रोजेपछि यहाँ वाम गठबन्धनबाहेक उनलाई राजपा र फोरमकै गठबन्धनकै सशक्त बागी उम्मेदवारको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । यादवविरुद्ध राजपाका नेता बागी भएर उम्मेदवारी दिए फोरमले पनि राजपा अध्यक्षमण्डलका शीर्ष नेताविरुद्ध बागी उठाउने भित्री तयारी गरेको स्रोतले बतायो । यो दुवै अवस्था फोरम र राजपाका लागि आत्मघाती हुने र तालमेल निर्वाचनको दिनसम्म पुग्दा समाप्त हुन सक्ने खतरा रहेको कार्यकर्ता पंक्तिको बुझाइ छ ।

संकटमा यादव र सुमन

तालमेलपछि विगतको राजनीतिक कर्मथलो सुनसरी र मोरङ छाडदै आफ्नो जन्मस्थान सप्तरीबाट उम्मेदवार बन्न लागेका फोरम अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारीको औपचारिक घोषणा गरेको केही मिनेटमै ठूलो झटा लाग्यो । मंगलबार दिउँसो फोरम नेपालले राजपासित तालमेलपछि राजधानीमा यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट घोषणा गरिरहँदा राजविराजको गजेन्द्रचोकमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरे ।

यस्तै, राजपाभित्र समर्पित कार्यकर्तालाई टिकट दिनुपर्ने भन्दै चार दिन राजविराजमा आमरण अनशन बसेका राजपा क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले आफ्नै पार्टीका महासचिव मनीषकुमार सुमनविरुद्ध प्रदेशसभामा बागी उम्मेदवारीको घोषणा गरे ।

फोरम नेपाल र राजपाबीच भएको सिटको तालमेल अवैज्ञानिक भएको कार्यकर्ता पंक्तिको ठहर छ । सप्तरीको पूर्वी क्षेत्रबाट स्थानीय निर्वाचनमा राजपा नेपालले अधिक मत ल्याएको थियो । तर पूर्वी क्षेत्रका १ र २ नम्बर क्षेत्र संघीय फोरमलाई दिइएको छ । त्यस्तै फोरमले बढी मत ल्याएको पश्चिमी ३ र ४ नम्बर क्षेत्र राजपालाई दिइएको छ ।

‘असन्तुष्टि स्वाभाविक हो तर असन्तुष्टलाई मनाउँदै छौं,’ राजपा महासचिव केशव झाले भने, ‘तालमेल आवश्यकता थियो यही भएर गरियो ।’

झुक्याएर टिकट !

काठमाडौं (कास)– झापा निर्वाचन क्षेत्र ५ को टिकट संसदीय समितिले निर्णय नगर्दै चोरी भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले आरोप लगाएका छन् ।

झापा—५ मा पार्टी जिल्ला कार्यसमितिका सभापति उद्धव थापा र कृषि राज्यमन्त्री सरिता प्रसार्इंमध्ये कसलाई टिकट दिने भन्नेमा मुख्य विवाद थियो । ‘पार्टी सभापति, वरिष्ठ नेतासहित संसदीय समितिका सदस्यहरूबीच छलफल चलिरहेकै बेला भित्रबाट टिकट लगिसके भनेर खबर आयो’, पौडेल पक्षीय एक नेताले भने, ‘यस्तो कामले पार्टीलाई एकजुट बनाउन कसरी सक्छ ?’ पार्टी सभापति थापाले टिकटमा आफ्नो नाम राखेर लगेको पौडेल पक्षीय नेताको दाबी छ । त्यस विषयलाई लिएर बालुवाटारमा केहीछिन हंगामा मच्चिएको थियो । थापा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । सिटौलासमेत थापालाई टिकट दिन लागेका थिए ।

(साथमा भूषण यादव, अवधेशकुमार झा, भरत जर्घामगर, रवीन्द्र उप्रेती, अमन कोइराला, लक्ष्मी साह, शिव पुरी र पवन यादव)

– कान्तिपुरबाट ।