८ बैशाख २०८१, शनिबार
Follow Us

एमाले ७५, माओवादी ४६ उम्मेदवार तय

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०३:३६

काठमाडौं । वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी १० र २१ मंसिरमा हुने पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ ९६ र ६२ स्थानको सिट बाँडफाँट गर्दै उम्मेदवारको टुंगो लगाएका छन् । दुई दलले दोस्रो चरणको निर्वाचनका लागि सिट बाँडफाँट गरेसँगै बुधबार आ–आफ्नो पार्टी कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाएका हुन् । उनीहरूले अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाए पनि केही स्थानमा भने बाँकी छ ।
आगामी २१ मंसिरमा हुने ४२ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा हुन गइरहेको निर्वाचनमा एमालेले ७५ र नेकपा माओवादीले ४६ सिट लिएको माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए । दुई दलले राष्ट्रिय जनमोर्चा (राजमो) र स्वतन्त्रलाई सात सिट छुट्ट्याएका छन् । यसअघि ३५ जिल्लाका ३७ क्षेत्रमा हुने पहिलो चरणको निर्वाचनका लागि एमाले २१ र माओवादी केन्द्रले १६ सिट बाँडफाँट गरेका थिए ।
एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभाको सिट बाँडफाँटसमेत टुंग्याएका छन् । प्रदेशसभातर्फ दोस्रो चरणको निर्वाचनका लागि एमालेले १ सय ७५ र माओवादी केन्द्रले ९३ सिट लिएको छ । वाम गठबन्धन दलले राजमो र स्वतन्त्रलाई भने ६ सिट छुट्ट्याएका छन् । यसअघि एमालेले ४१ र माओवादी केन्द्रले ३३ सिट पाएका थिए । जसअन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचन गरेर एमालेले १ सय ९८ र माओवादीले १ सय २६ सिट पाएको छ ।

यस्ता छन् माओवादी उम्मेदवार
वाम गठबन्धन दलले सिट बाँडफाँट टुंग्याएसँगै नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको टुंगोसमेत लगाएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट उम्मेदवारी दिँदै छन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा–२, पार्टी प्रवक्ता पम्फा भुसाल ललितपुर–३, कृष्णबहादुर महरा दाङ–२, गिरिराजमणि पोखरेल महोत्तरी–१, वर्षमान पुन रोल्पा, टोपबहादुर रायमाझी अर्घाखाँची, जनार्दन शर्मा पश्चिम रुकुम, शक्ति बस्नेत जाजरकोट, मातृका यादव धनुषा–१, रामचन्द्र झा धनुषा–२, राम कार्की झापा–१, अग्नि सापकोटा सिन्धुपाल्चोक–१, हरिबोल गजुरेल सिन्धुली–२, अजयशंकर नायक सिरहा– ४, देवेन्द्र पौडेल बागलुङ– २, उर्मिला अर्याल पर्सा– ४, शिवकुमार मण्डल मोरङ– ५, टेकबहादुर बस्नेत सल्यान, प्रभु शाह रौतहट, लेखराज भट्ट कैलाली, सुरेश किराती उदयपुर–१ बाट उम्मेदवारी दिँदै छन् ।
माओवादीले काठमाडौंका १० क्षेत्रमध्ये चार स्थान पाएको छ । काठमाडौं–१ अनिल शर्मा, ६ मा झक्कुलाल सुवेदी, ८ मा उमेश स्थापित र १० मा हितमान शाक्यले उम्मेदवारी दिँदै छन् । शर्मा पूर्वगृहमन्त्री जनार्दन शर्माका नातेदार हुन् भन झक्कु सुवेदीले पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराएका थिए ।