७ बैशाख २०८१, शुक्रबार
Follow Us

कविता सुरक्षित हुन चाहन्छु

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०५:१७

सरु पौडेल
बाग्लुङ
हाल ः काठमाण्डौ
ए! मेरा सन्तान !
तिम्रो एक थोपा आँसु
खसेको देख्दा
मेरो मन छियाछिया हुन्छ
तिमीहरुलाई थाहा छ
कि छैन
आमाको मन कति रुन्छ ?
आकाशमा चिल –गिद्ध उड्दा
माउले बचेराहरुलाई
छोपेजस्तै गरी
पखेँटा फिँजाएर
छोपेथेँ मैले पनि ।

तर आज त म निरीह छु
निष्प्राण जस्तै छु म
भाइ फुटेपछि गवार लुट्छन्
भन्ने जान्दाजान्दै
फुट्ने प्रयास गरेर
ब्वाँसोले मेरो
पखेँटा लुछ्न खोज्दैछ ।
हो उसले मेरा सन्तानहरुको
मनपेट पहिल्याउन खोज्दैछ
आन्द्राभुँडी खोतल्न खोज्दै छ ।
तिमीहरु आफु आफुमा शत्रुता जन्माई
वैरीलाई चर किन दिन्छौ ?

प्यारा सन्तानहरु !
म तिम्रै लागि बाँचेकी हुँ
तर अब मैले जिम्मेवारी
तिमीहरुलाई नै सुम्पेकी छु।
मलाई रुवाउने वा हँसाउने
तिम्रै हातमा छ ,
मलाई मास्ने वा बचाउने
तिम्रै हातमा छ ।
म तिम्रो मायाको लागि
पछ्यौरी फिँजाइरहेकी छु
हो , यही पछ्यौरीमा
सुरक्षा मागेकी छु ।
तिमीहरुले संघर्षमा
लडिरहेकी आफ्नी आमालाई
अरुसामु रुन नपार,
अरुको सामु आफु
पनि आँसु नझार ।

मेरो भन्नु यत्ति छ
तिमीले आमाको
काख कहिल्यै नबिर्स
खोले र गुन्द्रुक खाएर
हुर्केका यी हरियाली
पाखा कहिल्यै नबिर्स ,
प्रिय सन्तानहरु !
मेरो पछ्यौरीमा
सुरक्षाको भिख देऊ ।