१३ बैशाख २०८१, बिहीबार
Follow Us

झापा–३ बाट सिटौला र लिङदेनको उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार १०:३६

झापा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका छन् । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराउनुभयो । सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

लिङ्देनको पनि उम्मेदवारी दर्ता
निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन । यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट (क)बाट वशन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएको छ ।
साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिनुभएको छ ।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट राम कार्की (सुरेन्द्र कार्की) र प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिनुहुनेभएको छ ।