७ बैशाख २०८१, शुक्रबार
Follow Us

शीर्ष नेताहरुले कहाँ–कहाँबाट उम्मेदवारी दर्ता गराए ?

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार १०:४५

काठमाडौं । दोस्रो चरण अन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा पाँच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन तीनवाट उम्मेदबारी दर्ता गराएका हुन । प्रतिनिधिसभामा एउटा मात्रै क्षेत्र रहेको डडेल्धुरामा वारेसनामा मार्फत प्रधानमन्त्री देउवाले उम्मेदवारी दर्ता गराएका छन् । आफ्नो कार्य व्यस्तताका कारण प्रधानमन्त्री देउवा गृह जिल्ला जान नसक्ने भएकाले वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका हुन । उनीसँग बाम गठवन्धनतर्फवाट माओवादी केन्द्रका नेता खगराज भट्ट प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने झापा पाँचवाट उम्मेदबारी दर्ता गराएका छन् । उनीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन तीनवाट उम्मेदबारी दर्ता गराएका छन् । पछिल्लो संसदीय निर्वाचनमा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले चुनाव जितेको उक्त क्षेत्रमा यो पटक उक्त क्षेत्रमा लोकतान्त्रिक गठवन्धनले राप्रपा नेता विक्रम पाण्डेलाई अघि सारेको छ । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका पाण्डे यसअघि प्रत्यक्ष निर्वाचित सांसद हुन ।
यसैगरी कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ एक, बिमलेन्द्र निधि धनुषा तीन, प्रकाशमान सिंह काठमाडौं एक र कृष्णप्रसाद सिटौला झापा तीनवाट उम्मेबार बन्ने भएका छन् । त्यसैगरी कांग्रेस महामन्त्री सशांक कोइराला नवलपरासी एकवाट, कांग्रेस युवा नेता गगन थापा काठमाडौं चारवाट उम्मेदबार बनेका छन् ।
एमाले बरिष्ठ नेताद्धय माधव नेपाल काठमाडौं दुई र झलनाथ खनाल इलाम एकवाट उम्मेदबार भएका छन । साथै एमाले नेता वामदेव गौतम बर्दिया एक, भीम रावल अछाम एक, सुवास नेम्वाङ इलाम दुई, ईश्वर पोखरेल काठमाडौं पाँच, विष्णु पौडेल रुपन्देही दुईवाट उम्मेदबारी दर्ता गराएका छन् । माओवादी नेता कृष्णबहादुर महरा दाङ दुई पम्फा भुसाल ललितपुर तीन, गिरिराजमणि पोखरेल महोत्तरी एक र राम कार्की झापा एकबाट उम्मेदवार बनेका छन् ।
यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी दुई, राजपाका संयोजक महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा, महेन्द्रराय यादव सर्लाही, शरतसिंह भण्डारी सर्लाही, अनिलकुमार झा रौतहट र राजकिशोर यादवले सिराहाबाट उम्मेदवारी दिँदै छन । त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर एकवाट उम्मेदबारी दर्ता गराएका छन् ।