१५ चैत्र २०८०, बिहीबार
Follow Us

क–कसले गराए प्रदेश नं ४ मा मनोनयन दर्ता

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०२:५७

कार्तिक १७, २०७४-मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनका लागि प्रदेश नम्बर ४ का कास्की, पर्वत, पूर्वी नवलपरासी, तनहुँ र स्याङ्जालगायतका पाँच जिल्लामा बिहीबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

कास्कीमा राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभाका लागि उत्साहजनक रूपमा उम्मेदवारी दिए । कांग्रेस, वाम गठबन्धन, संघीय समाजवादी फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतले उम्मेदवारी दर्ता
राएका हुन् ।

कास्की क्षेत्र १ मा कांग्रेसबाट बहालवाला र वाम गठबन्धनबाट पूर्वमन्त्री प्रतिस्पर्धी उम्मेदवार भएका छन् । कांग्रेसबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी चुनावी मैदानमा उत्रिएका हुन् ।

क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेको मनोनयन दर्ता भएको छ । अधिकारी संसदको विकास समिति सभापति पनि भइसकेका छन् । क्षेत्र ३ मा कांग्रेसका शुक्रराज शर्मा र वाम गठबन्धनका जगत विश्वकर्माले उम्मेदवारी दर्ता गरे । एमाले र माओवादी केन्द्र गठबन्धनमा कास्कीका तीनवटै प्रतिनिधिसभामा एमालेले उम्मेदवारी दिएको छ । ६ प्रदेश सभाका लागि तीन एमाले र तीन माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका छन् ।

असन्तुष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि नरेशशंकर पालिखेले क्षेत्र नम्बरको २ को प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि कास्कीको क्षेत्र १ बाट १३, २ बाट १३ र ३ नम्बर निर्वाचन क्षेत्रबाट ११ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीनवटै क्षेत्रमा गरी ६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरूले बाजागाजा र नारासहित जुलुस लिएर सहिद चोक पुगेका थिए ।

स्याङ्जा संवाददाताका अनुसार उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराए । उक्त क्षेत्रमा उनको प्रतिस्पर्धी वाम गठबन्धनले एमाले नेत्री पद्मा अर्याललाई बनाएको छ । क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका राजु थापा र वाम गठबन्धनबाट एमालेका नारायण मरासिनीले उम्मेदवारी दिएका छन् ।

हतारहतार फर्किएर उम्मेदवारी

पर्वत संवाददाताका अनुसार कांग्रेसको प्रदेशसभा क्षेत्र ‘ख’ का उम्मेदवार राजेन्द्र तिवारी बिहीबार बिहानसम्म काठमाडौंमै थिए । राति अबेरसम्म पूर्वमुख्यसचिव ऋषिकेश तिवारीको उम्मेदवारी पक्कापक्की भएको भन्दै कांग्रेस पर्वतले मनोनयनको तयारी त्यसैअनुसार गरेको थियो । मध्यरातमा एकाएक पार्टीले फरक निर्णय गरेपछि तिवारी हतारहतार जिल्ला फर्किएर उम्मेदवारी दिएका छन् । पर्वतमा कांग्रेसबाट पूर्वसांसद अर्जुनप्रसाद जोशी र वाम गठबन्धनबाट एमाले अध्यक्ष पदम गिरी उम्मेदवार छन् । पार्टीबाट टिकट नपाएपछि कांग्रेसका महासमिति सदस्य राम शर्मा पौडेलले प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कैलाली ५ बाट आरजु देउवा

धनगढी– कैलालीमा पनि शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ । क्षेत्र ५ बाट कांग्रेस नेत्री तथा प्रधानमन्त्री पत्नी आरजु देउवा र वाम गठबन्धनकातर्फबाट एमाले नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका नेता पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेसका सुनील भण्डारीले क्षेत्र . ४ बाट उम्मेदवारी दर्ता गराए । माओवादीका गौरीशंकर चौधरीले वामगठबन्धन र रामजनम चौधरीले कांग्रेसका तर्फबाट क्षेत्र ३ बाट मनोनयन दर्ता गरेका छन् ।

जेलबाटै उम्मेदवारी

टीकापुर घटनाका मुख्य अभियुक्त लक्ष्मण चौधरीले राजपाका तर्फबाट क्षेत्र ५ को प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चौधरीले वारेसमार्फत उम्मेदवारी दिए । थारू पुर्पक्षका लागि दुई वर्षदेखि कैलाली कारागारमा छन् । यस्तै क्षेत्र ५ मै कांग्रेस उम्मेदवार डा. आरजु देउवाविरुद्ध कांग्रेस नेता क्षितिज भण्डारीेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ‘मेरो उम्मेदवारी परिवारवाद र पार्टीमा चलिरहेको हैकमवादका विरुद्ध हो,’ उनले भने ।

पौडेलविरुद्ध जोशी ‘बागी’

दमौली (कास)– तनहुँको क्षेत्र १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उनकै सहकर्मी नेता बागी उठेका छन् । पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्रबाट मनोनयन दर्ता गराए ।

साबिकमा १ नम्बर रहेको उक्त क्षेत्रबाट पौडेल २०४८ मा विजयी भएका थिए । त्यसयता साबिकको २ नम्बर निर्वाचन क्षेत्रबाट उठेका उनले सबै चुनाव जित्दै आएका छन् । पछिल्लो निर्वाचन क्षेत्र वर्गीकरणमा १ नम्बर कायम उक्त क्षेत्रको टिकट आफैंले पाउनुपर्ने जोशीको दाबी थियो । २०४८, २०५१, २०५४ मा सोही क्षेत्रबाट विजयी जोशी २०६४ मा भने माओवादीका सुरेश आलेमगर सँग पराजित भएका थिए ।

१ नम्बरमा वाम गठबन्धनले भने एमालेका कृष्णकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । २०७० को निर्वाचनमा श्रेष्ठ साबिकको २ नम्बरबाट पौडेलसँग पराजित भएका थिए ।

प्रकाशित: कार्तिक १७, २०७४

– कान्तिपुरबाट ।