१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनको रोचक भिडन्त

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०३:०२

काठमाडौं। दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता भएपछि चुनावी चहल पहल ह्वात्तै बढेको छ। प्रमुख दलका शीर्ष नेताले दोस्रो चरणको निर्वाचनमा प्रतिश्पर्धा गर्ने भएपछि सबैको ध्यान केन्द्रित भएको छ।
त्यसमा पनि केही दलका शीर्ष नेताहरुले एकै निर्वाचन क्षेत्रबाट प्रतिश्पर्धा गर्ने भएपछि चुनावी रौकन झन रोचन हुने भएको छ। पहिलो चरणको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच प्रतिश्पर्धा हुँदैछ। वाम गठबन्धनबाट श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट भट्टराई चुनावी मैदानमा होमिएका छन्।
दोस्रो चरणको हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि ४५ जिल्लाका ३८४ सिटकालागि चार हजार सात सय आठ जनाले उम्मेद्वारी दिएका छन्।
तीमध्ये केही निर्वाचन क्षेत्रमा रोचक प्रतिश्पर्धा हुने देखिएको छ।

दोस्रो चरणमा चर्चामा रहेका निर्वाचन क्षेत्र
झापा १
झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिछन् ।

झापा ३
कांग्रेस प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकमा बस्न नचाहेर झापा ३ बाट प्रत्यक्ष उम्मेदवार भएका छन् । उनका प्रतिस्पर्धीका रूपमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेन देखिएका छन् । लिङदेनलाई वाम गठबन्धनले समर्थन गर्ने भएपछि सिटौला दबाबमा परेका छन् ।

मोरङ ६
दुई चर्चित नेताबीचको प्रतिस्पर्धाले मोरङ ६ चर्चामा छ । कांग्रेसका डा शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ ।

चितवन ३
चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ०७० को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । कालिका कन्सट्रक्सनका मालिक पाण्डे बहालवाला वनमन्त्री हुन् । पाण्डेलाई कांग्रेसले समर्थन गरेको छ ।

काठमाडौं १
कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको काठमाडौं १ मा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेपछि चर्चामा आएको छ । यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्माले उम्मेदवारी दिएका छन् ।

काठमाडौं २
काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधकुमार नेपालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निवर्तमान सांसद दीपक कुइँकेल उम्मेदवार बनेका छन् । नेपाल र कुइँकेलसँग विवेकशील साझा पार्टीका डा। सूर्यराज आचार्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं ४
दुई युवा नेताको उम्मेदवारीले काठमाडौं ४ चर्चामा छ । कांग्रेसका चर्चित युवा नेता गगन थापाविरुद्ध वाम गठबन्धनले एमालेका युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । स्वास्थ्यमन्त्री भइसकेका थापा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्य भट्टराईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।

काठमाडौं ५
एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा प्रकाशशरण महतबीच काठमाडौं ५ मा प्रतिस्पर्धा हुँदै छ । यो क्षेत्रमा विवेकशील साझा पार्टीले उज्ज्वल थापालाई उम्मेदवार बनाएको छ ।

धनुषा ३
कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । कांग्रेस र राजपाबीच तालमेलको प्रयास असफल भएपछि निधि र महतोबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सप्तरी २
सप्तरी २ पनि चर्चामा आएको छ । यस क्षेत्रबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए । उनलाई टक्कर दिन वाम गठबन्धनले संसद्मा कुर्सी मिल्काएर चर्चा कमाएका माओवादी नेता उमेश यादवलाई उठाएको छ ।

गुल्मी २
गुल्मी २ मा फेरि एकपटक एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । दुवै भाषण कलामा पोख्त छन् ।

नवलपुर १
कांग्रेस महामन्त्री डा शशांक कोइराला र सूर्य चुनाव चिह्न लिई स्वतन्त्र उम्मेदवारी दिएका हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले नवलपुर १ लाई चर्चामा ल्याइदिएको छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कोइराला नवलपरासीबाट विजयी हुँदै आएका थिए । त्रिपाठी भने केही समयअघि राजपा छाडेर स्वतन्त्र समूहका रूपमा चुनावी मैदानमा उत्रेका छन् ।

-डिसी नेपालबाट ।