१३ बैशाख २०८१, बिहीबार
Follow Us

२३ वर्षपछि चुनावी मैदानमा उत्रँदै ढुंगाना

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०४:२५

वाम गठबन्धनलाई चुनौती दिन भक्तपुर–२ बाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले पूराना नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख ढुंगाना २३ वर्षपछि कांग्रेसको राजनीतिसँगै चुनावी मैदानमा आएका छन् । उनीसँग एमाले निकट युवा संघका पूर्वअध्यक्ष एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रतिस्पर्धा गर्नेछन् । बिहीबार उनीहरू दुवै जनाले मनोनयन दर्ता गराएका छन् ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको असहमतिबीच मनोनयन दर्ता गराएका ढुंगाना २०४८ को आम निर्वाचनमा काठमाडौं–२ बाट विजयी भए पनि २०५१ मा सोही क्षेत्रमा विद्या भण्डारीसँग पराजित भएका थिए । भण्डारीसँग पराजित भएपछि ढुंगानाले सक्रिय राजनीति छाडेका थिए ।

नेपाली कांग्रेसले उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने निर्णयपछि जिल्लामा नयाँ तरङ फैलिएको छ । भक्तपुर–२ मा कांग्रेसका तर्फबाट उम्मेदवारको खाँचो नभए पनि उनलाई अघि सारिएको हो ।

भक्तपुर–२ मा वाम गठबन्धनले एमालेका महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।

बिहीबार बिहान मात्र कांग्रेसले ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले २०४८ मा काठमाडौ–२ बाट वाम गठबन्धनका उम्मेदवार मल्ल के सुन्दरलाई पराजित गरेका थिए । अहिले पनि ढुंगानाले वाम गठबन्धनकै उम्मेदवारको सामना गर्न‘परेको छ ।

एमालेका बस्नेत यसअघि नै वाम गठबन्धनबाट टिकट लिएर चुनावी प्रचारमा होमिइसकेका छन् । बस्नेतको अवस्था विगतभन्दा सुदृढ भएपछि कांग्रेसले रामेश्वर ढुंगाना र दुर्लभ थापाको विकल्पमा ढुंगानालाई अघि सारेको हो ।

प्रतिस्पर्धी बस्नेतले राजनीति सुरु गर्दा ढुंगानाले सक्रिय राजनीतिबाट अलग भई नागरिक समाजको अगुवाका रूपमा परिचय बनाउँदै थिए । त्यतिबेला बस्नेत भक्तपुरको गुण्डु गाविसबाट मुलुककै कान्छो गाविस अध्यक्षका रूपमा राजनीतिक परिचय बनाउँदै थिए ।

ढुंगानाले कांग्रेसका तर्फबाट दिउँसो २ बजे निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । तत्कालीन सरकार र जनयुद्धमा होमिएको नेकपा माओवादीबीच दाङको हापुरेमा भएको शान्ति वार्तामा विद्रोही पक्ष र सरकार दुवैले स्वीकार गरेका मध्यस्थकर्ता थिए । यद्यपि सो शान्ति वार्ताले सार्थकता पाएन ।

वर्षपछि राजनीतिमा आएका ढुंगानाले स्थानीय युवा समेत रहेका बस्नेतसँग चुनावी प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । मजदुर किसान पार्टीले पनि यसपटक अनुराधा थापा मगरलाई प्रत्यक्षतर्पm उम्मेदवार बनाएको छ । उनी यसअघि समानुपातिक सभासद् थिइन् ।

-राजधानी दैनिकबाट ।