१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावपछि यी नेताको के हुने हो हविगत ?

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार ०७:०३

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा राजनीतिक बिरासत जोगाउने होडमा फेरि पनि पुरानै नेता मैदानमा उत्रेका छन् । नयाँ परिवेशमा जनप्रतिनिधि बन्ने आकांक्षीका रुपमा मैदानमा उत्रेका शीर्ष नेताको चुनावी भिडन्त कस्तो छ त ? प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा प्रमुख दलका अधिकांश शीर्ष नेताको राजनीतिक हैसियत परिक्षण हुंदैछ । मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव, पहिलो चरणको भन्दा बढि रोचक हुनेछ । किनकी, बिभिन्न दलका पुरानै नेता भागबण्डाको उम्मेदवारीमा छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरावाट प्रतिनिधी सभाको उम्मेद्वार बन्दा देउवाका प्रतिद्धन्द्धीको खासै चर्चा छैन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नं ३ वाट प्रतिनिधी सभाका लागि उम्मेद्वार बनेका छन् । जसले वर्तमान सरकारका वनमन्त्री राप्रपा नेता विक्रम पाण्डेको सामना गर्नुपर्नेछ । मत संख्या र गठबन्धनका हिसावले यी दुई नेता बीचको चुनावी भिडन्त निकै रोचक बन्नेछ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं पाँचवाट उम्मेद्वार बनेका छन् । ओली बिरुद्ध नेपाली कांग्रेसले महासमिति सदश्य खगेन्द्र अधिकारीलाई उठाएको छ । डाक्टर अधिकारी चुनाव लड्नैका लागि त्रिचन्द्र क्याम्पसको प्राध्यापक पद त्यागेर झापा ५ मा पुगेका हुन् ।
आन्तरिक बिबादकै बीच, कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लडेका छन्, जहाँ वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ पौडेलको चुनौती बन्न सक्छन् । यसअघी रौतहट र काठमाडौबाट चुनाव जितेका एमाले नेता माधव नेपाल यसपटक काठमाडौं २ मै फर्केका छन् । जहाँ, यसअघीको चुनावमा माधव नेपालले एक क्षेत्र छाडेपछि चुनाव जितेका कांग्रेस उम्मेदवार दिपक कुईंकेल नेपालका निम्ति चुनौती बन्ने छन् ।
लगातार इलामबाटै प्रतिनिधित्व गर्दै आएका एमाले नेता झलनाथ खनाल इलाम १ बाट चुनाव लड्दै छन् । खनाल वाम गठबन्धनबाट उम्मेदवार बन्दा, उनि बिरुद्ध नेपाली कांग्रेसले भुपेन्द्र कट्टेललाई उठाएको छ । शीर्ष तहको चुनावी चर्चामा झापा क्षेत्र नंवर ३ पनि छ । यही क्षेत्रको बिबादले नेपाली कांग्रेस र राप्रपाबीचको तालमेल टुटेको छ ।
झापा क्षेत्र नंवर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबिरुद्ध तेश्रो पटक चुनावी मैदानमा उत्रेका सरकारमै सहभागी राप्रपाका युवा नेता राजेन्द्र लिंङदेनलाई सरकार बाहिर रहेको वाम गठबन्धनको समर्थन छ । त्यस अर्थमा यहाँको भिडन्त थप रोचक बनेको हो । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक पनि चर्चामा छ । हाल दुई निर्वाचन क्षेत्र कायम सिन्धुपाल्चोक एक नंवर क्षेत्रमा कांग्रेसका युवा नेता मोहन बस्नेतबिरुद्ध बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्नि सापकोटा मैदानमा छन् । विगत्को चुनावी नतिजा हेर्दा यहाँ अत्यन्तै झिनो मतअन्तरको हारजीत् हुनेछ । सिन्धुपाल्चोक दुई नंवर क्षेत्रमा कांग्रेससँग मिलेर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा उठेका छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय राणा उमेरका हिसावले सम्भवतः अन्तिम चुनावी प्रतिस्पर्धा हुनसक्छ । राणा पहिलो संविधानसभा चुनावमा माओवादीका सांसद दावा तामाङ र दोस्रो संविधानसभामा एमालेका सांसद शेरबहादुर तामाङसँग पराजित भएका थिए । अहिले वाम गठबन्धनबाट शेरबहादुर तामाङले राणालाई चुनौती दिंदैछन् ।
रोचक भिडन्तका हिसावले गोरखा दुई नंवर क्षेत्रमा पनि दुई गठबन्धनको प्रतिष्ठा जोडिएको छ । एउटै राजनीतिक धरातलमा उभिएका नेता बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दा, उनलाई वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठले चुनौती दिइरहेका छन् । पछिल्लो स्थानीय तह चुनावको मत परिणाम हेर्दा अत्यन्तै झिनो मतले हार जीत हुनेछ । कुनै बेला सहयात्री भएर एउटै पार्टीमा रहेका यी दुई नेता अहिले चुनावी प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभामा भट्टराई गोरखा–२ बाट र दोस्रो संविधानसभामा गोरखा–१ बाट विजयी भएका थिए भने श्रेष्ठ मकवानपुर २ बाट पराजित भएका थिए ।