१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओखलढुङ्गा तरुण दल अध्यक्ष रुम्दाली निस्कासित

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार १३:२५

काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मदवारी दिएको भन्दै नेपाल तरुण दल ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलाई उनको दलले अनुशासनको कारवाही गरेका छन् । तरुण दलका अध्यक्ष जित जङ्ग वस्नेतद्धारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार, माउ पार्टी नेपाली कांग्रेसका तर्फबाट आसन्न निर्वाचनमा ओखलढुङ्गा प्रदेशसभा ‘ख’ बाट तय भएको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर अनुशासन विपरित कार्य गरेका आरोपमा रुम्दालीलाई दलको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको छ।
पार्टीले उम्मेदवार तय गर्दा उक्त जिल्लाको प्रदेश नम्बर ‘ख’ मा पार्टी जिल्ला सभापति प्रदीप सुनुवारलाई उठाउने निर्णय गरेपछि असन्तुष्ट बनेका रुम्दालीले उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।
लोकतान्त्रीक पद्धति र मुल्य मान्यताको विरुद्धमा उत्रिएका सिद्धान्तहिन र अधिनायकवाद तत्वहरुको उक्साहटमा बरालिएर यही २०७४ मंसिर १० गते हुन गईरहेको आम निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध मनोनयन दर्ता गरेकाले नेपाल तरुण दल ओखल्ढुङ्गाको अध्यक्षबाट बर्खास्त गरी दलको प्रारम्भिक साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरिएको छ, अध्यक्ष वस्नेतद्धारा जारी प्रेश विज्ञप्ती भनिएको छ।
रुम्दालीलाई तरुण दलसँग सम्बन्धित कुनै पनि काम व्यवहार नगर्न र काम गरे गराएमा दल त्यसप्रति कुनै जिम्मेवार नहुने पनि विज्ञप्तिमा उल्लेख छ । रुम्दालीले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पनि पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए।