७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा र फोरम गठबन्धन संकटमा

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७४, शुक्रबार १४:२३

सप्तरी । टिकट बाँडफाँडमा देखिएको असन्तुष्टिका कारण शुरुदेखिनै आन्तरिक कलहले गाँजिएको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गठबन्धन उम्मेदवारी दर्ता सँगै झन संकटमा परेको छ । दुई दलबीचको आन्तरिक विवाद खुलेरै बाहिरिएको छ भने गठबन्धनका शीर्ष नेताहरुविरुद्ध नै दुवै तर्फवाट बागी उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईवाट उम्मेदवारी दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका सह–महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर उम्मेदवारी दर्ता गराउन जाँदा ग्रामीण भेगका राजपाका नेता कार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थियो । यता सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ वाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका राजपाका बरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादव विरुद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

अनिरुद्ध मृगेन्द्रका आफ्नै भाई पनि हुन् । यसैगरी प्रदेश सभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को (२)वाट उम्मेदवारी दर्ता गराएका राजपाकै अर्का वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह विरुद्ध संघीय समाजवादी फोरम नेपालका तराई-मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

झा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै प्रदेश सभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (२)वाट मनोनयन दर्ता गराएका राजपाका महासचिव मनिष सुमन विरुद्ध फोरमका नेता भिमराज यादव स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यादव स्थानीय तह निर्वाचनमा फोरमकै टिकटवाट राजविराज नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । राजपा महासचिव विरुद्ध राजपाकै क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरण प्रति असन्तुष्टि जनाउँदै उनले दुई दिन अघि नै राजपा परित्याग गरेको घोषणा गरिसकेका छन् ।

उम्मेद्वारी मनोनयनले देखाएको संकेतप्रति प्रतिक्रिया दिदै फोरम अध्यक्ष उपेन्द्र यादवले राजपा–फोरम गठबन्धनलाई कुनै प्रकारको संकट नरहेको स्पष्ट पारे । दुई पार्टी विचको संस्थागत गठबन्धन इमान्दारीता पुर्वक निर्वाह गरिने वताउँदै केहि व्यक्ति यताउता गर्दैमा गठबन्धन नै भंग नहुने उनको भनाई थियो । उनीसँगै रहेको राजपाका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहले समेत केहि व्यक्तिहरुले गर्दैमा गठबन्धलाई कुनै समस्या नपर्ने वताए । मधेस आन्दोलनको उर्वर भूमि मानिएको सप्तरीमा दुई मधेस केन्द्रित दलमा देखिएको यो विवादले उनीहरुलाई आफ्नो हैकम कायम राख्न भने कठिन पर्ने देखिन्छ ।