१५ चैत्र २०८०, बिहीबार
Follow Us

उम्मेद्वारको बन्दसूचि

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०३:४५

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ।

आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतकोे कार्यालयका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलबाट छ हजार ९४ उम्मेदवारको नाम समावेश भएको प्रारम्भिक विवरण रहेको छ।

सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए।

उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिनेसमेत व्यवस्था छ।