१५ बैशाख २०८१, शनिबार
Follow Us

राजनीतिक छेपाराको रङ्ग

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०३:४१

कार्तिक १८, २०७४-राजनीतिमा लाग्नेहरु सकभर पद र पहिचान गुमाउन चाहँदैनन् । कहिलेकाहीँ पदले पहिचान बनाउने गर्छ भने पहिचानले पद पनि खोज्ने गर्छ । राजनीतिक दलका शीर्षदेखि तल्लो स्तरका नेता तथा कार्यकर्तासम्म किन नहुन्, सबै पद र पहिचानलाई राजनीतिक प्रतिष्ठा बनाउने गर्छन् । राजनीतिक पहिचान हराइसकेका पूर्व सभामुख दमननाथ ढुंगाना २ दशकपछि प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न आइपुगेका छन् । माओवादी छाडेदेखि नै राजनीतिक उचाइबाट झर्दै गरेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आफ्नो राजनीतिक पहिचान गुम्ने भयमा छन् । एमाले नेतृत्वको वाम गठबन्धनमा मिसिएर सूर्य चुनाव चिन्हबाटै उम्मेदवार हुने घोषणा गरेको केही दिनमै उनी उक्त गठबन्धनमा टिक्न सकेनन् । अहिले वाम गठबन्धन छाडेर उनी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको सहयोगमा चुनाव उठ्दैछन् । यी प्रतिनिधि पात्र मात्र हुन् ।

हालै सम्पन्न स्थानीय तहको चुनावमा जस्तै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मुखैमा दल अदल–बदल गर्ने प्रवृत्ति निकै देखियो । कतिपय अवस्थामा राजनीतिक दलका नेताहरूको चेपुवामा त कतिपय आफू रहेको दलको विचारसंँग असहमति जनाएर दल बदल्ने गरिएको छ । राजनीतिमा तत्कालीन लाभ–हानिलाई हेरेर दल बदल्ने प्रचलन बढी छ । चुनावको मुखमा ‘टिकट’ नपाउनासाथ पार्टी परिवर्तन गर्ने र अर्को दलबाट उम्मेदवार बन्ने प्रवृत्ति यसपटक झनै बढेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनमा यस्तै दृश्य देखियो । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा झन् बढी दल अदल–बदल छ । राजनीतिक दर्शन र मान्यताभन्दा पनि पदका लागि राजनीतिक दल र चुनावी सहकार्य अदल–बदलका केही पात्र र प्रवृत्ति यहाँ केलाउन खोजिएको छ ।

डा. बाबुराम भट्टराई

यस पटकको चुनावी तालमेल प्रसङ्गमा सबैभन्दा बढी चर्चा र आलोचना खेपे, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले । त्यसका पछाडि मुख्यत: २ कारण छन् । पहिलो वाम तालमेलबीच आपसी स्वार्थ र दोस्रो भट्टराईको आफ्नै शैली ।

असोज १७ गते बृहत वाम एकता घोषणा कार्यक्रममा जसरी उनले उक्त अभियानको खुलेर प्रशंसा गरे, त्यो धेरै दिन अडिएन । माओवादी केन्द्रबाट अलग भई नयाँ शक्ति गठन भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पहिलोपल्ट सार्वजनिक रूपमा मिलाइएको हातले चर्चा पनि पायो । जब तालमेलमा कुरा मिलेन, त्यसपछि वाम शक्तिविरुद्ध कुर्लिन लागे । र यो मुलुकमा कांग्रेसको आवश्यकताबारे सार्वजनिक कार्यक्रममै बोल्न थाले । घरि एउटा, घरि अर्को शक्तिको पक्षपोषणले उनको घट्दो लोकप्रियतालाई झन् मलजल पुर्‍यायो । सामाजिक सञ्जालमा त उनलाई आलोचना गर्नेहरूकै बाहुल्य भयो

एमाले, माओवादी र नयाँ शक्तिसहित तालमेल र एकता अभियान कार्यक्रममा भट्टराईले २ आगामी निर्वाचनमा वाम शक्तिले २ तिहाइ मत ल्याउने र मुलुक प्रत्यक्ष कार्यकारी शासन व्यवस्थामा जान सहज हुनेसमेत बताएका थिए । तर उनी स्वयं भने तालमेलमा अटाउन सकेनन् । गोरखा–२ उनलाई खासगरी माओवादी केन्द्रले नै सघाउन तयार भएन । एमालेले पनि जति सघाउनुपर्ने हो, त्यो मात्रामा लबिङ गरेन । उक्त क्षेत्रमा माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई उभ्याएपछि भट्टराईले कांग्रेससँग सहकार्य गर्ने भए । वाम तालमेलमा सूर्य चिन्ह लिएर उठ्ने घोषणा गरेका थिए । चिन्हका कारणले पनि गोरखाका माओवादीले भट्टराईलाई बढी असहयोग गरे । अहिले भने उनी आफ्नै पार्टीको चुनाव चिन्ह आँखा लिएर मैदानमा उत्रेका छन्, कांग्रेसको साथमा ।

भट्टराईलाई लामो समयदेखि चिन्नेहरू उनका केही व्यक्तिगत स्वभाव, प्रकृतिका कारणले पनि यस्तो समस्या झेलिरहनुपर्ने अवस्था आउने बताउँछन् । ‘उनी राम्रो लेखपढ गर्छन् । तर्क गर्छन् । तर अरूका कुरा सुन्ने धैर्य राख्दैनन् । आफूले जे बोल्यो, त्यही ठिक हो भन्छन्’, जनयुद्धताकै उनीसँग नजिकै रहेका हाल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गंगा कार्कीको मूल्यांकन छ ।

विरोधी पक्षलाई देखिनसहने बानीले उनलाई आफ्नै जन्मस्थानका माओवादीले यतिबेला अप्ठेरो पारे । माओवादी केन्द्रका अध्यक्ष दाहालका नाता पर्ने गोरखाका युवानेता चूडामणि खड्कादेखि पूर्वमन्त्री हितराज पाण्डेसम्मको नेतृत्वमा आबद्ध माओवादी कार्यकर्तासँग बाबुरामको लडाइँ पुरानै हो । ‘अरूलाई समेटौं, अरू पक्षको कुरा पनि सुनौं भन्ने भावना भइदिएको भए गोरखाका माओवादीले भट्टराईलाई नबोक्नुपर्ने कारण थिएन’, कार्की भन्छन् ।

भट्टराईसँगको सम्बन्धबारे पार्टी अध्यक्ष दाहाल स्वयम्ले बेलाबेला रोचक अभिव्यक्ति राख्दै आएका छन् । बेलाबेला पार्टी भित्रै होस् या बाहिरिँदाको अवस्थालाई इंगित गर्दै दाहालले अन्तर्वार्ताहरूमा भन्ने गरेका छन्–‘बाबुरामजीलाई मैले २५ वर्षदेखि झेलिरहेको छु । अरूले भन्दा मैले राम्रै बुझेको हुँला ।’

व्यक्तिगत स्वभाव आफ्नो ठाउँमा छ । यस पटकको तालमेलमा भने गठबन्धनका नेताले निषेधकारी नै नीति लिएको आरोप भट्टराईको छ । तालमेलको मर्मअनुसार भट्टराईलाई टिकट दिलाउन वाम नेतृत्वले सकेन । ‘गोरखा–२ मेरो जन्म र कर्मथलो हो । त्यहाँबाट चुनाव उठ्नु स्वाभाविक हो । तर उठ्न पाउँदैनस् भनी झमेला भिकियो’, भट्टराईले गठबन्धनकै नेताका कारण समीकरण फेर्नुपरेको बताए । तर अन्य जिल्लामा भने भट्टराईले वाम सहकार्यलाई जारी राखेका छन् ।

हृदयेश त्रिपाठी

स्थानीय तहको चुनावको परिणाम लगत्तै मधेसका चर्चित अनुहार हृदयेश त्रिपाठीले राजनीतिक फेरबदल गरेको समाचारले सबैको ध्यान खिच्यो । हुन त दसैंको संघारमा एमाले र माओवादी केन्द्रसहित वाम तालमेलको निकै आधार बनिसकेको थियो । जुन दसैं लगत्तै सार्वजनिक भयो । त्यही सेरोफेरोमा मधेसबाट त्रिपाठीसहित केही बुद्धिजीवी राजपाबाट अलग हुने भए । आउने चुनावमा सूर्य चिन्ह लिएर उनीहरू प्रतिनिधिसभामा उठ्ने निर्णय गरे ।

कम्युनिष्ट पृष्ठभूमिसहित राजनीति सुरु गरेका त्रिपाठीले विभिन्न कालखण्डमा दल परिवर्तन गरेको देखिन्छ । तत्कालीन माक्र्सवादीसँग आबद्ध भए पनि २०४३ सालमा पञ्चायती चुनाव उपयोग गर्दै राष्ट्रिय पञ्चायत सदस्य उठेका थिए । तर चुनाव जित्न सकेनन् । २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट सांसद बने । त्यसयता ५१ र ५६ गरी लगातार ३ पटक नवलपरासीबाट सांसदमा विजयी बने । त्यस बीचमा उनी लेखा समिति सभापति बने । पटक–पटक मन्त्री पनि बने । बाबुराम भट्टराईको मन्त्रिपरिषदमा उनी धनी मध्येका एक मन्त्रीका रूपमा चर्चित थिए । मधेस आन्दोलनपछि तराई–मधेस लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बने । मधेस केन्द्रित तमलोपा सहितका पार्टी मिलेर राजपा बनेपछि उनी स्वत: उक्त पार्टीमा आबद्ध बने । तर राजपासँगको उनको राजनीति सुखद बनेन । नेतृत्व प्रणाली, मधेस आन्दोलनको प्रवृत्ति, अन्य दललाई हेर्ने दृष्टिकोणमा उनको फरक मत नै थियो । खासमा मधेसका अन्य दलका अध्यक्षजस्तै आफूले पनि नेतृत्व आलोपालोमा पाउनुपर्ने दाबी उनको थियो । अध्यक्ष मण्डलमा आफू हुनुपर्ने दाबी पनि राजपामा सुनुवाइ भएन । परिणमत: उनी त्यहाँबाट बाहिरिए र स्वतन्त्र ढंगले चुनावमा लाग्ने निधो गरे । तर चुनावी चिन्ह भने एमालेको सूर्य रोजे । त्यसको कारण उनको कम्युनिष्ट पृष्ठभूमि समेत हो ।

‘मधेस केन्द्रित नेताहरू आत्मकेन्द्रित भए । मधेसका लागि काम भएन’, नवलपरासी (पश्चिम)–१ बाट उम्मेदवार बनेका त्रिपाठीले भने– ‘मधेसमा कुनै एउटा पार्टीलाई मात्र गाली गरेर भएन । एमालेलाई मात्र आलोचना गरेर पनि भएन । कांग्रेसले पनि मधेसलाई केही दिन सकेन ।’ एकताका मधेस आन्दोलनमा सक्रिय त्रिपाठी अन्तत: सूर्य चिन्ह रोज्न पुगे ।

शम्भुलाल श्रेष्ठ

२०७० मा दोस्रो संविधानसभा चुनावमा कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि शम्भुलाल श्रेष्ठ माओवादी पसे। मनोनयनको अघिल्लो दिनमा उम्मेदवार बनाउने ‘सर्त’ गरेरै उनी माओवादी प्रवेश गरेका थिए । तत्कालीन एमाले अध्यक्षसमेत रहेका झलनाथ खनाललाई ८ सय ७६ मतले सर्लाही–१ बाट पराजित गरे । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकै सरकारमा हाल उनी विना विभागीय मन्त्री छन् । ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीमा काम गर्दागर्दै वाम गठबन्धनले उनलाई विना विभागीय बनायो । २०७० मा जुन घुम्तीबाट उनी मोडिएका थिए, ठिक चार वर्षपछि यही घुम्तीमा पुगेर उनले कांग्रेसको बाटो समात्न पुगेका छन । श्रेष्ठ कांग्रेसमा पुन: प्रवेश गरेनन् मात्रै, उम्मेदवार पनि भइछाडे । वाम गठबन्धनका कारण सर्लाही–१ माओवादीको भागमा परेन । जसका कारण उनी उम्मेदवार हुने सम्भावना टर्दै थियो, त्यही मौकामा उनी आफ्नै पूर्वपार्टी कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्पर्कमा पुगे । ‘उम्मेदवारी’ बनाउने सर्तमा उनी पुन: कांग्रेस प्रवेश गरे । त्यही क्षेत्रबाट दाबेदार थिए, रामचन्द्र चौधरी । पहिला चौधरीको निर्वाचन क्षेत्र–२ थियो । निर्वाचन क्षेत्र घटेपछि उनको गाउँसहितका केही वडा १ मा पर्‍यो । सर्लाही–१ बाट उम्मेदवारीको सिफारिस पनि भयो । तर उम्मेदवार भए श्रेष्ठ । श्रेष्ठकै अनुसार पार्टीका शीर्षस्थ नेताहरूले चौधरीलाई प्रदेशमा उम्मेदवार दिने निर्णय लिनुभएको थियो । तर सांसद भइसकेको कारण जनाउँदै उनले प्रदेशमा बस्ने प्रस्ताव अस्वीकार गरे । उनले अस्वीकार गरे पनि उनकै पक्षका मनोजसिंह दनुहार प्रदेश उम्मेदवार भएका छन् । श्रेष्ठ भन्छन, ‘एकैचोटी मैले टिकट लिँदा पार्टीभित्र केही असन्तुष्टि हुनु स्वाभाविक हो, तर अहिले माहोल बन्दैछ ।’

कांग्रेसमा फर्कंदा आफ्नै मातृभूमि फर्केजस्तो अनुभव भएको उनी सुनाउँछन् । भन्छन्, ‘माओवादीमा गएर एमाले अध्यक्ष झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दा जति कठिन थियो, त्यति अहिले छैन ।’ उनीसँंग अहिले प्रतिस्पर्धामा राजपाका प्रमोद साह मैदानमा छन् । सर्लाही–१ राजेन्द्र महतोको क्षेत्र पनि हो । श्रेष्ठ नै मैदानमा आउने भएर पनि महतो भने धनुषा–३ मा गएका छन् । ‘राजेन्द्र महतोले माओवादीबाट मलाई उम्मेदवार नदिन त सफल हुनुभयो, तर कांग्रेसबाट म उम्मेदवार भएँ’, उनले सुनाए । उनले विना विभागीयबाट चाँडै नै मन्त्रीमा प्रमोसन हुने आश्वासनसमेत पाएका छन् ।

***रामेश्वर राय यादव

दल फेरबदलकै कारण चर्चित छन्, सर्लाहीका मधेसी नेता रामेश्वर राय यादव । उनी २ नम्बर प्रदेशको स्थानीय तह चुनावको मुखैमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट माओवादी केन्द्र प्रवेश गरेका हुन् । फोरमका उनी केन्द्रीय उपाध्यक्ष थिए । तर उनी पार्टीको नेतृत्वप्रति व्यापक असन्तुष्ट थिए । पार्टीमा अध्यक्ष विजयकुमार गच्छदारले उनको कुनै कुरा सुनेनन् । नसुनेपछि उनले आउँदो चुनावमा टिकट पाउने सम्भावना पनि थिएन । उनी एमाले प्रवेश गर्ने चर्चा केही वृत्तमा चले पनि अन्तत: माओवादी छिरे ।

‘चर्चा चलाइएको मात्र हो । म माओवादीमै जाने कुरा थियो । अरू पार्टीमा होइन’, अहिले प्रतिनिधिसभा सदस्यमा सर्लाही–३ बाट प्रतिस्पर्धा गरिरहेका यादवले भने ।

लामो समयसम्म उनी सद्भावनाकै राजनीतिमा थिए । राष्ट्रियसभाको सदस्य हुँदै मन्त्री पनि बने उतिबेला । मधेस आन्दोलन चर्कंदै गर्दा उनी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा पुगे । फोरमबाटै २०६४ सालको चुनाव उठे । तर विजयी हुन सकेनन् । फोरम फुटाई लोकतान्त्रिक बनाउने खास पात्र मध्येमा उनी पर्छन् । २०७० सालको निर्वाचनमा उनी फोरम लोकतान्त्रिकमा थिए ।

पछिल्लो स्थानीय तह चुनामा भने उनी माओवादी प्रवेश गरेका हुन् । प्रवेश लगत्तै उनका छोरा चकरघट्टा गाउँपालिकाबाट माओवादीबाट अध्यक्ष बनेर विजयी बने । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

***

जंगीलाल राय

जंगीलाल यादव कांग्रेसकै ‘स्कुलिङ’बाट राजनीतिमा होमिएका हुन् । २०६४ सालमा चर्केको मधेस आन्दोलनसँगै आफ्नै राजनीतिक गुरु महन्थ ठाकुरले गठन गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीमा उनी पनि गए । पछिल्ला समयमा मधेसका मुद्दा कांग्रेसले उठाउन थालेपछि केही समय अघिदेखि नै ५ मधेस केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) छाडेर कांग्रेस फर्कुं–फर्कुं भएको उनी सुनाउँछन् । उनी राजपाका महामन्त्री थिए ।

स्थानीय तहको चुनावताका आफूले भनेका व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टीबाट राजीनामा दिएका थिए । त्यस लगत्तै एमालेप्रति उनको झुकाव भयो । तर प्रवेश गरिसकेका थिएनन् । स्थानीय तहका कार्यकर्ताहरूका अनुसार एमालेका उम्मेदवारलाई उनले सघाएका थिए । त्यसै आधारमा उनी एमाले प्रवेश गरेको समाचार पनि आयो । तर स्थानीय तहको चुनावी परिणाम एमालेको राम्रो देखिएन । लगत्तै हुने केन्द्रीय चुनावको अंकगणितमा कांग्रेस प्रवेश गर्दा नै राम्रो हुने उनले ठाने । त्यसैका लागि अनुकूल वातावरण बनाउँदै गए । पूर्व कांग्रेस भएकाले उनलाई सहज पनि भयो । सुरुमा उनी कांग्रेस नेता रामहरि जोशीका निकट थिए । जोशी शिक्षा, पर्यटन र नागरिक उड्डयन मन्त्री बन्दा उनी स्वकीय सचिव भएर कामसमेत गरेका हुन् । २०५१ को चुनावमा आइपुग्दा उनमा महत्त्वाकांक्षा यस्तो बढ्यो कि तिनै जोशीका विरुद्ध बागी उम्मेदवारी दिएर चर्चामा आए । तर चुनाव भने जितेनन् । पार्टीको संगठनकर्ताका रूपमा लोकप्रिय उनी उम्मेदवार हुने सर्तमै कांग्रेस प्रवेश गरेका हुन् ।

‘मैले जसका लागि आन्दोलन गरेँ, त्यो मुद्दा कांग्रेसले लिन थालेपछि म राजपामा बसिराख्न किन पर्‍यो ?’ उनले भने, ‘संविधान संशोधनको मुद्दालाई कांग्रेसले उठाएकै कारण कांग्रेस प्रवेश गरेको हुँ ।’ उनले यसो भनिरहे पनि जिल्लाका अन्य कांग्रेस नेताहरू पत्याउँदैनन् । राजपाबाट उम्मेदवार हुने अवस्था नदेखेपछि नै उनी कांग्रेसबाट उम्मदेवार बन्न सफल भएका हुन् । कांग्रेसका जिल्ला पार्टी सभापति नगेन्द्रकुमार यादव र पूर्व सभापति लक्ष्मण राय यसै क्षेत्रमा उम्मेदवारीका प्रतिस्पर्धी थिए । जंगीलालको प्रवेशसँगै उनीहरू उम्मेदवारबाट बञ्चित भए । पार्टी नेतृत्वले प्रदेशमा चुनाव उठाउन चाहे पनि पार्टी सभापति मानेनन् । उनी भन्छन्, ‘मैले जिल्लाका साथीहरूसँग परामर्श गरेर उम्मेदवार भएको हुँ, कुनै विवाद पार्टीभित्र छैन ।’ उनको प्रतिस्पर्धामा आफ्नै पूर्वपार्टी राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव छन् । यी दुईको भिडन्तले नै सर्लाही–२ रोचक हुने देखिन्छ ।

***

मोहनसिंह राठौर

एमालेबाट पूर्वशिक्षा राज्यमन्त्री भइसकेका निवर्तमान सांसद मोहनसिंह राठौर कांग्रेस प्रवेशमात्रै गरेनन्, कैलाली–२ बाट उम्मेदवारसमेत उछिट्टाए । पश्चिमको राजनीतिमा प्रभावशाली मानिने यी नेता कांग्रेसमा प्रवेश गर्नुको रहस्य अरू केही नभएर एमाले नेता भीम रावलको ‘पेलान’ मुख्य कारण रहेको उनी सुनाउँछन् ।

उनी एमालेबाट तत्कालीन संसद्को सुशासन समितिका सभापतिसमेत हुन् । पार्टीले उम्मेदवार नबनाउने छाँट देखेपछि उनी कांग्रेसमा आउन सबैभन्दा पहिला स्थानीय तहकै नेताहरूसँग छलफल गरे । कांग्रेस नेताहरूले ‘ग्रिन सिग्नल’ दिएपछि नेतृत्व तहमा कुराकानी चल्यो । उम्मेदवार बनाउने सर्तमा उनलाई पनि कांग्रेस भित्र्याइयो । एमालेले उम्मेदवार नबनाउने भएपछि नै तपाई कांग्रेस प्रवेश गर्नुभएको हो भन्ने प्रश्नमा राठौर भन्छन्, ‘मलाई एमालेले आवश्यकता नै ठानेन । एमालेले गलहत्याएर फाल्ने भएपछि म कांग्रेस प्रवेश गर्न विवश भएको हुँ ।’ उम्मेदवार नपाउने भए पनि पार्टीको कुनै जिम्मेवारीमा राखिदिएको भए एमालेमै रहने उनी बताउँछन् ।

अहिले यसै क्षेत्रबाट एमाले नेता भीम रावलका स्वकीय सचिवसमेत रहेका झपट रावल उम्मेदवार भएका छन् । रावल गृहमन्त्री छँदा उनी स्वकीय सचिव थिए । अहिले तिनै स्वकीय सचिव रावल र राठौरबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । उनी आउनुअघि कांग्रेसबाट कमल शाह र हेम रावल उम्मेदवारको प्रतिस्पर्धामा थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट राठौर र कांग्रेसबाट शाह चुनावी प्रतिस्पर्धामा थिए । राठौरले चुनाव जिते र शाहले हारे । यसपटक शाह मैदानमा छैनन्, एमाले ‘स्कुलिङ’का राठौर कांग्रेसबाट प्रतिस्पर्धामा छन् । पार्टीमा नयाँ भए पनि सबैको साथ पाएको उनी सुनाउँछन् । ‘सामान्य केही असन्तुष्टि होलान्, तर मैले जिल्लाका साथीहरूसँग सल्लाह गरेर कांग्रेसमा आएकाले ठूलो असन्तुष्टि छैन,’ उनले भने, ‘मलाई अहिले सबैले सहयोग गरिरहनुभएको छ।’

***

अभिषेकप्रताप शाह

कलिलो उमेरमै राजनीतिमा छिरेका मधेस केन्द्रित नेता अभिषेकप्रताप शाहको दल अदल–बदल भने अरूभन्दा बेग्लै देखिन्छ । पारिवारिक लिगेसी कांग्रेस भएको भन्दै उनले करिब १० वर्षदेखि आबद्ध मधेसी जनअधिकार फोरम छाडे । कांग्रेस प्रवेश गरेलगत्तै कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पनि पाए । ‘मैले लोकतान्त्रिक अधिकारको उपयोग गरेको हुँ । कांग्रेस मेरो बाबुबाजेको पार्टी पनि हो’, साहले भने । तर २५ वर्षको उमेरमा उनी २०६४ मा संविधानसभामा कान्छो सभासदका रूपमा फोरमबाट चुनिएका थिए । २०७० सालमा पनि त्यही पार्टी र क्षेत्रबाट चुनिए । उनका हजुरबुबा शिवप्रताप शाह २०१६ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा अर्थ उपमन्त्री थिए । पिता अजयप्रताप शाह भने कांग्रेसबाट विरक्तिएर २०५६ सालमा राप्रपाबाट सांसद बनेका थिए । दुई–दुई पटक सांसदको अनुभव सँगालेका यी युवा अनुहार यसपटक छुट्ने देखेपछि दल परिवर्तन गर्ने निधोमा पुगे । तर उनी फोरमले बोकेका राजनीतिक एजेन्डा कांग्रेसले पनि बोकेको दाबी गर्छन् ।

प्रकाशित: कार्तिक १८, २०७४

कान्तिपुरबाट ।