१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘अनन्य गुणयुक्त काठमाडौं’

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार ०३:३५

नारायण गाउँले । घरभित्रै बस्दा समेत मास्क लगाएर बस्नुपर्छ । बाहिर त धुलो र धुवाँले दिउसै अँध्यारो हुन्छ । धारोमा मुख धुन पुग्ने गरी पानी आउँदैन । ट्याङ्करको प्रदूषित पानी किनेर छाक चलाउनुपर्छ ।
सिङ्गो शहरमा कतै बाटो पिच छैन । सबैतिर सबैथोक भत्किएको-भत्काइएको छ । बन्दै र बनाइँदै गरेको दृश्य दुर्लभ छ । पब्लिक यातायात बिर्सनलायक छ । चढ्न सक्नु युद्ध जितेजस्तो हुन्छ भने टाउको उठाउनेसम्म ठाउँ नभएको र ४ जना पनि मुश्किलले अट्ने बाकसमा ८ जना कोचिएर हिँड्नु दैनिकीजस्तै छ । ३ किलोमिटर छिचोल्न एक घण्टा लाग्छ ।

पैदल हिँडौँ न त भन्यो सिङ्गो शहरमा कतै फुटपाथ छैन । भएका एकदुई उदाहरणमा चाइनिज कपडाको व्यापार छ । बनारसका गल्लीभन्दा साँघुरा बाटा छन् । हातमा जीवन लिएर बाटो काट्नुपर्छ । जेब्राक्रस त छन् तर त्यहाँ ट्राफिक पुलिसकै गाड़ीले पनि पैदलयात्रीलाई बाटो छाड्दैन । ट्राफिकको नियम पनि हुन्छ भन्ने शायद थाहा पाउन बाँकी नै छ । हिँड्दा हिँड्दै थाकेर कतै विश्राम गर्ने र स्वच्छ सास फेर्ने चौतारी, पार्क या खुला ठाउँ केही पनि छैन । न बृद्धहरूका निम्ति टहलिने ठाउँ छ न बालबालिकाहरूका निम्ति घरबाहिर निस्किने ठाउँ छ । बिहान एक छिन पैदलयात्रा गर्ने स्वच्छ ठाउँ त सपना नै भयो । घरबाहिर निस्किनै नसकिने गरी कैदीजस्तो जीवन छ ।

महँगीको त के कुरो भयो र । कार, मोटरसाइकल, फ्रिजजस्ता आंशिक बिलासी सामान त युरोपभन्दा तेब्बर महँगा हुने नै भए, दूध, दही, तरकारी, तेल, चामलजस्ता अत्यावश्यक दैनिक उपभोग्य वस्तु पनि युरोपभन्दा महँगा छन् । त्यति तिर्दा पनि गुणस्तरको कुनै ग्यारेन्टी छैन ।
23032458_10207871325619409_1375362507752151148_n
दुर्भाग्य के छ भने, यी सबै समस्याको सम्बोधनका निम्ति सरकारी निकाय छन्, महानगर छ, जनप्रतिनिधि छन्, कर्मचारी छन् र तिनले तलबमात्र होइन राम्रो काम गरेबापत भत्ता र पुरस्कार पनि खाँदै आएका छन् । राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सबै मुख्य नेताहरू दिनहुँ यही बाटो हिँड्छन् । अपवादबाहेक बीसौं वर्षदेखि उही नेताले एकछत्र राज गर्दै आएका छन् ।

यस्तो नारकीय जीवन बिताउन बाध्य भएर पनि हजारौं मानिसहरू झण्डा बोकेर तिनै नेताको गुलामीमा आफ्नो चेतनाको मलामी गइरहेछन् । एकआपसमा, दाजुभाइमा नङ्ग्रा उध्याएर, आफ्ना नेताको चाकरीमा तल्लीन छन् । तिनमा प्रश्न पनि छैन, आक्रोश पनि छैन, शायद पीड़ा पनि छैन, छ त मात्र आस्था, भक्ति र अन्धसमर्थन । र त यहाँ आफ्ना श्रद्धेय नेताले बाँड्ने कुनै पनि सपना सजिलै बिक्छ । विश्वकै नमुना शहर भनिदिए पनि हुन्छ, स्विट्जरलैंड भनिदिए पनि हुन्छ, आज्ञा शिरोपर गर्ने हामी छँदै छौं ।
यस्ता अनन्य गुणयुक्त काठमाडौं महानगरवासीलाई हार्दिक अभिवादन !