diwakar-150x150

– दिवाकर बागचन्द

किशोर नेपालको केहि दिनअघि प्रकाशित लेखले अमेरिकाको नेपाली डायस्पोराको चित्त दुखाएको थियो जुन स्वाभाविक हो। किशोर सर अमेरिका आउनुहुन्छ नेपालीहरूले निमन्त्रणा गरेको ठाउँमा गएर खानु हुन्छ, पिउनुहुन्छ अनि केहि समयपछि उनीहरुलाई नै गाली गरेर, उनीहरुलाई नै हेपेर लेख लेख्नुहुन्छ।

उहाँको लेखमा कतिपय कुराले त हाँसो पनि उठायो। अमेरिकामा काम गर्ने नेपालीले “समयमा खाना खुवाउन सक्दैनन् रे”, नेपालीहरूको समस्या बुझेर सदभावना देखाउनु त कता हो कता, सित्तैमा खाना पाउनु नि छ, अझै त्यसमा पनि गुनासो। कति जनासँग क्रस पर्‍यो भन्ने किसिमको कुरा निकाल्नुभयो। यो बाट मलाई के लाग्यो भने किशोर सरको त्यो लेखमाथि रिसाउनुभन्दा पनि उहाँको बढ्दो उमेरले उहाँलाई “सद्दे” तरिकाले सोच्न नदेको होला।

हुन त ६० वर्ष कटेपछि हाम्रो तराईको भाषामा “सठियाउनु” भन्छन्, त्यही हुनसक्छ, जसमा मान्छेलाई बिर्सने (डिमेंसिया रोग), धेरै नेगेटिव सोच्ने, राम्रै कुरालाई पनि नराम्रो ठान्ने, धेरै गुनासो गर्ने, कचकच गर्ने, केटाकेटी जस्तो व्यहोरा देखाउने इत्यादि बानीहरू हुन्छन्। त्यसैले होला किशोर सरलाई आफ्नो साठी वर्षको उमेरमा पनि “किशोरावस्था” को जस्तो बनि फर्केको होला। “क्रश” को कुरा गर्नुहुन्छ, खाना समयमा पाएन भनेर कचकच गर्नुहुन्छ, आफू यति लामो समय पत्रकारिता गरेर पनि, नाम कमाएर पनि अमेरिका बस्ने नेपालीले लेख लेखे भनेर इर्ष्या गर्नु हुन्छ , उफ्फ़।

किशोर सर्को नाम चाहिँ उहाँको जीवनसँग सार्थक मेल खान्छ, “किशोर” अरे। अचेल किशोर उमेरकै केटाकेटीले गर्ने जस्तो कुरा गर्न थाल्नुभयो। देशको अवस्था दिन-प्रतिदिन घायल भएको कुरा स्विकार्नु हुन्छ किशोर सर तर यो कन्याई प्रवासी नेपालीले गर्न न हुने रे सरको विचारमा। देशको बारेमा चाँसो लिनका लागि, देशको बारेमा जानकारी र चिन्ता लिनको लागि अमेरिका बस्ने नेपालीले या त स्टोरमा काम गर्नुभएन, र लेख त लेख्नै भएन, त्यो त महापाप रैछ। सरको लेखबाट साभार,” अमेरिकामा बसेर राष्ट्र र राष्ट्रियताको विकासका लागि आफूले गरेको योगदानको अनुसूची बनाउँछन्”, यो सुन्दा कताकता हाँसो उठ्यो। यदि योगदान गरेका छन् भने सर देश निर्माणमा यस्ता प्रवासी हरेक नेपालीले फेसबुकको टायमलायन यस्तो अनुसूची बनोस् भन्न सक्नुपर्ने हो।

पाको मान्छे र सिनियर “इन्टेलेकचुवल ” को हैसियेतले यसलाई झन् प्रोहत्साहन दिनुपर्ने हो तर कहाँ एउटा सेल्फ-अबसेस्ड मान्छेबाट यस्तो आशा राख्नु।

लोकप्रिय पत्रकार विजयकुमार पाण्डेले साहित्य, रचना र क्रियटिभिटीलाई उचाइमा पुर्‍याउनुभएको छ। रविन्द्र मिश्रबाट केहि सिक्नुस् सर। उहाँले पत्रकारितामा एउटा नयाँ “आविष्कार” नै गर्नु भयो, “परोपकारी पत्रकारिता ” भनेर, खाडीमा रहेर खुन पसिनाको कमाइ गरेका नेपालीहरूमा विकासको आशा जगाएर, मन जितेर ,मातृभूमिलाई सहयोग गर्नलाई अभिप्रेरित गर्नुहुन्छ, विकासका गतिबिधिहरू अघि बढाउनु हुन्छ। रविन्द्र सरले एक किसिमले समानान्तर सरकारनै नेपालमा चलाउनुहुन्छ, आफ्नो लोकप्रियता र “क्रियाटिभीटि” लाई देशको कल्याणमा खर्च गर्नु हुँदैछ। अर्को तिर तपाई हुनुहुन्छ। आफ्नो सिर्जनशिलता र ज्ञानलाई नेपालीहरुलाई गालि गर्न र होच्याउन प्रयोग गर्नु हुन्छ।

कुनै फिल्डमा धेरै समय बिताए पछि, जति गर्न खोजेपनि नया पुस्ताले “रिप्लेस” गर्छन्, पुराना “फेज आउट” हुन्छन्, पत्रकारितामा पनि त्यही हो। त्यसैले करियरको पीकमा पुगेका धेरै मान्छेले आफ्नो “फिल्ड” परिवर्तन गर्छन्, खेलाडीहरूले सन्यास लिन्छन्। किशोर सरले “टिनेज”मा हुने “क्रस”लाई अर्कोले लग्दिन्छ र “हार्ट-ब्रेक” होला भनेर अंग्रेजीमा भनिने जस्तै “इन्सेक्योर” र “जेलस” महसूस गर्नु आवश्यक छैन। सायद एउटा पत्रकारभन्दा माथि तपाईँले सोच्न सक्नुभएन। यस्तो उचाइमा भएको पत्रकारबाट यस्तो संकीर्ण र गैरजिम्मेवार सार्वजनिक अभिव्यक्ति दुःखद् हो।

नेपालीहरूलाई जोड्दै हिड्नुस, फ़ुटाउदै होइन। उनीहरूको विचारलाई अभिनन्दन गर्नुस, निन्दा होइन। आफ्नै दुश्मन नबन्नुस सर, यो उमेर त अरुले अब सल्लाह माग्न आउने उमेर हो, अर्ति-उपदेश दिने उमेर बनाउनुस्। निन्दा र चरित्र-हत्याको पत्रकारिता र राजनीति गर्न छोड्नुस। तपाईँको उमेर र अस्तिको लेख लेख्नु अघिको उचाईलाई सुहाउने कुरा होइन। एउटा सुझाव छ, बरु सके एउटा ” थेरापिस्ट ” हायेर गर्नुस्।

दुई-चार जनाले लेख लेख्दैमा उनीहरू “बौद्धिक” भैहाल्ने र उनीहरु बौद्धिक भैदिए आफूलाई कसैले बौद्धिक न भन्देलान कि भनेर आत्तिहाल्नु पर्दैन सर। यो सबैमा तपाईको दोष पनि छैन, उमेर ढल्केर फेरि तपाई किशोरावस्थामै फर्किनु भएछ भनेर हामी प्रवासी नेपालीहरू तपाईलाई माफ गर्दिने छौं। तपाईँको यो बढ्दो उमेर र “करियर फेज-आउट”सँग आउंदै गरेका समस्या, चिन्ता र मानसिक कमजोरीसँग लड्नलाई हामी प्रवासमा बस्ने नेपालीको समवेदना ,आशिर्वाद र शुभकामना तपाइको साथमा छ।
-setopati