७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार १२:२०

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ ।
दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उहाँले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताउनुभयो । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुग्नुभएका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गर्नुभएको थियो । घटनापछि दोस्रो पटक उहाँ माडी पुग्नुभएको हो । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उहाँ त्यहाँ पुग्नुभएको थियो । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुष्ट राहत घोषणा गर्नुभएको थियो । दाहालले सो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उहाँले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताउनुभयो ।

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्काे आलोचना भएको थियो ।

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उहाँले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताउनुभयो । आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताउनुभयो । वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उहाँको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आज मात्रै राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गर्नुभएका बद्री तिमिल्सिनालगायतले बोल्नुभएको थियो । सो अवसरमा तिमिल्सिनासँगै राप्रपा (प्रजातान्त्रिक) का ३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।