१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेमा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्न नपाइने

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार १३:२५

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवार हुने, दिन लगाउने वा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्ने काम नगर्न कार्यकर्तालाई निर्देश गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले आज जारी गरेको विज्ञप्तिमा एमाले र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भई साझा उम्मेदवारीका साथ चुनावी अभियानमा होमिएका सन्दर्भमा समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि कठिन र चुनौतीपूर्ण कार्य भएको स्मरण गराइएको छ ।
पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमाभित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गरेको र यसो गर्दा कैयन् महत्वपूर्ण व्यक्तिलाई उम्मेदवारका रुपमा समावेश गर्न सम्भव नभएको बताउँदै विज्ञप्तिमा चित्त नबुझेका कुरा भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने भएकाले यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध नलाग्न आग्रह गरिएको छ ।
निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने गतिविधि नरोकिए अनुशासनको कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।