८ बैशाख २०८१, शनिबार
Follow Us

भूमि र भूमिका बदल्दै यादव

sarusaru
१९ कार्तिक २०७४, आईतवार ०८:०५

कार्तिक १९, २०७४-संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ । राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ ।

यादवको राजनीति एकप्रकारको यात्रा हो । अध्यापनको ‘पार्टटाइम’ उपयोग गर्दै ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था खोलेका उनले अन्तत: त्यसैलाई निर्वाचन आयोगमा दर्ता गरेर दलको स्वरूप दिए । उनको राजनीतिक रेखा सेयरबजारजत्तिकै वक्र छ– कहिले उकालो, कहिले ओरालो । चुचुरामा टेकेर राजनीतिक पथमा लागेका उनी बीचमा एकपल्ट झन्डै ‘आधार शिविरमै’ आइपुगे । स्थानीय तह चुनावको परिणामले क्रमश: तंग्रिएका छन् । यो निर्वाचनमा राजपासँगको गठबन्धनका कारण पुन: मधेसमा अग्रपंक्तिमा चर्चामा छन् । प्रदेश २ मा तपाईंको दलको अवस्था के हुने आकलन गर्नुभएको छ ? सोध्न नपाउँदै भने, ‘हामी ठूलो दल बन्छौं, हाम्रो गठबन्धनले यस प्रदेशमा बहुमत ल्याउँछ ।’

राजनीतिको प्रस्थानबिन्दु एमालेलाई र ‘ट्रान्जिट’ माओवादीलाई बनाएका यादव बौद्धिक नेतामा गनिन्छन् । उनी विज्ञानमा स्नातकोत्तर, कानुनमा स्नातक हुन् । गैरसरकारी संस्थाकालीन ‘मधेसी जनअधिकार फोरम’ का सहकर्मी रामरिझन यादव भने उनलाई ‘पर्यटक उम्मेदवार’ ठान्छन् । व्यंग्यशैलीमा उनी भन्छन्, ‘उपेन्द्रजी ठाउँ सर्दै मोरङबाट सुनसरी आए, अहिले सप्तरी । अब सिरहा जालान् ।’ उपेन्द्रले पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ दुवैबाट जिते । २०७० को चुनावमा फेरि दुवै जिल्लाबाट उठे, मोरङमा हारे, सुनसरीमा जिते ।